चन्दननाथमा लाइनमा बसेर खोप लगाउदै सर्वसाधारण

  ।   ३ माघ २०७८, सोमबार १९:२०

जुम्ला,माघ ३।
सरकारले सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेपछि जुम्लामा खोप लगाउनेको लर्को लाग्न थालेको छ । जुम्लाको चन्दननाथ नगरपालिकामा कोभिड–१९ विरुद्धको खोप लगाउने नागरिकको भिड लाग्ने गरेको हो । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखामा खोप लगाउनेको भिड लाग्ने गरेको हो । अहिले विहान देखि बेलुकी अबेर सम्म खोप लगाउनको लागि नागरिक लाइनमै देखिने गरेका छन ।
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महत दुई तीन देखि खोप लगाउनको लर्को लाग्न थालेको बताउँछन । उनले भने,‘ २÷३ दिनदेखि स्वास्थ्य शाखामा कोभिड–१९ विरुद्धको खोप लगाउनेको भिड लाग्ने गरेको छ । चन्दननाथ नगरपालिकाभन्दा पनि बाहिर गाउँपालिकाका धेरै नागरिक खोप लगाउन आउने गरेको छन् ।’
चन्दननाथ नगरपालिकाको जनसंख्या झण्डै २४ हजार छ । नगरपालिकाको स्वास्थ्य शाखाले २२ हजार नागरिकलाई खोप लगाइसकेको दाबी गरेको छ । आइतबार मात्रै ४२४ जनालाई भेरोसिल खोपको पहिलो डोज लगाइएको थियो । ६४ जनालाई दोस्रो डोज खोप लगाएको हो ।
सोमबार ३३४ जनालाई भेरोसिल पहिलो डोज र २१ जनालाई दोस्रो डोज कोभिसिल खोप लगाएको स्वास्थ्य शाखा प्रमुख महत बताउँछन । अझै २÷३ दिन सम्म खोप लगाउने कार्य जारी रहने स्वास्थ्य शाखाले जनाएको छ ।
नागरिकलाई खोप लगाउने क्रम संगै विश्वव्यापी रुपमा फैलिएको तेस्रो लहरको कारण संक्रमणबाट बच्न जिल्ला कोभिड – १९ संकट व्यवस्थापन समितिले अपिल गरेको छ । समितिले सार्वजनिक सेवा प्राप्त गर्नका लागि अनिवार्य कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हुने पर्ने व्यवस्था गरिएको छ ।
सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थिति हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजय कुमारी प्रसाइले बताइन् । उनले भनिन्,‘अहिले खोप लगाउनेको लर्को छ । सामाजिक तथा भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनको लागि आग्रह गरिएको छ । ’

अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको छ । ७ माघदेखि लागु हुने गरी सार्वजनिक स्थल कार्यालय, होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायत र बैंक तथा वित्तिय संस्थामा प्रवेश गर्दा अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ । कोभिड विरुद्धको स्वास्थ्य सुरक्षा र मापदण्ड पालन नगर्नेलाई कोभिड व्यवस्थापन आध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ०७७ वैशाख २० गतेदेखि कोभिड परीक्षण ल्याव सञ्चालनमा आएको छ । संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियो । यसमध्ये ४ सय ६३ जना नागरिकमा कोरोना संक्रमण देखिएको थियो ।
दोस्रो लहर जुम्लामा ०७८ वैशाखदेखि देखिएको हो । ३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ संक्रमण देखिएको थियो । ३ हजार ८ सय २ जनाको एन्टीजोन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।
जम्मा १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ । जिल्लामा ५० हजार ९ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन्। पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना रहेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।
कोरोनाको तेस्रो लहर निकै जोखिम भएकोले सावधानी अपनाउनको लागि आग्रह गरिएको छ । स्वास्थ्य प्रमुख सापकोटाले जिल्लामा उपलब्ध भएको खोप अनुसार खोप लगाउने कार्य धमाधम चलिरहेको बताए । उनले भने,‘पछिल्लो समयमा नागरिक खोप लगाउन इच्छुक छन । खोपको मात्र पनि आएकोले ठाउँठाउँमा खोप लगाउन थालिएको छ । खोप लगाउने स्थानमा नागरिकको लाइन छ । ’ जुम्लामा एक नगरपालिका सहित ७ गाउँपालिका छन ।

Next Post

ठाउँठाउँमा होडिङबोर्ड,घुम्ती मोडमा ट्राफिक चिन्ह

३ माघ २०७८, सोमबार १९:२०
जुम्ला,माघ ३। ट्राफिक प्रहरी कार्यालय जुम्लाले सवारी दुर्घटना न्युनिकरण गर्न सचेतना प्रदान गर्न थालेको छ । सदरमुकाम खलंगा देखि कर्णाली राजमार्गका दुर्घटना संभावित क्षेत्रमा होडिङबोर्ड राख्ने,घुम्तीमोडमा ट्राफिक चिन्ह राख्ने र ट्राफिक नियमको पालना गर्ने बारेमा सवारीचालक र व्यवसायीलाई जनचेतना प्रदान गर्न थालेको हो । अहिले कर्णाली राजमार्गको जुम्ला खण्डमा प्रत्येक […]