कच्चा पदार्थ अभावले राडीपाखी उद्योग बन्द

  ।   २० माघ २०७८, बिहीबार ११:४१

गोल्डेन बुढा,

जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द भएको छ। कच्चापदार्थको अभावका कारण उद्योग बन्द भएको हो। महिनौदेखि उत्तरी नाका बन्द भएकोले उन आयत हुन सकेको थिएन। उन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको कुन्जाङ फुटिक तामाङले बताइन्।

चिनियाँ भेडाको उनबाट बन्ने कोट, टोपी, झोला, गलवन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हुदै आएको थियो। अहिले बजारमा माग धेरै भएपनि कोभिडपछि कच्चा पदार्थ संकलन गर्न नसक्दा उद्योग बन्द गर्नु परेको उनी बताउँछिन्।

बिगत २ वर्षदेखि उद्योगको काम ठप्प छ। जुम्ली भेडाको कालो र सेतो उनबाट बन्ने सामग्रीको माग पनि बढ्दो छ। तर जुम्ली भेडाको उन छोटो हुने भएकाले अलि झन्झटिलो छ। चीनबाट आउने उन लामो र मुलायम हुने भएकाले सामग्री सजिलै उत्पादन हुने उनले बताईन्।

उनले भनिन्,‘माग अत्यधिक छ। कच्चापदार्थ संकलन हुन सकेको छैन। उद्योग नचल्दा घाटा बेहोर्नुपरिरहेको छ। ’ चीनको उत्तरी हिल्सा नाका खुलाउन सरकारले पहल नगर्दा कर्णालीको जनजीवनसँगै साना तथा मझौला उद्योग संकटमा परेको उनले बताइन्।

चीनको नाका खुलाउन सरकारले कुनै चासो देखाएको छैन। पछिल्लो समय जुम्लामा पनि भेडाको उन लोपोन्मुख भइरहेको छ। उनले थपिन,‘गाउँमा परम्परागत तरिकाले राडीपाखी बुन्ने धेरै भएकाले पनि उद्योगका लागि उन पाउन मुस्किल छ। चीनको नाका खुलाएर चाँडो कच्चा पदार्थ ल्याउने वातावरण बनाइदिनुपर्छ। ’

चन्दननाथ नगरपालिका २ निवासी तामाङले लोपोन्मुख राडीपाखी बेचेरै बार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आइराखेकी थिइन्। वर्षमा कच्चा पदार्थ खरिद, कामदारलाई ज्याला, सामान निर्यात गरी १५/२० लाखको कारोबार हुने गरेको थियो।  ५ लाख उनलाई फाइदा हुन्थ्यो।

सरकारी अनुदानको नाममा आर्थिक वर्ष २०७५/०७६ मा पशु सेवा कार्यालयबाट साढे ३ लाख मात्रै पाएकी कुन्जाङले अहिलेसम्म कतैबाट कुनै पनि सहयोग नपाएको गुनासो गरिन्। महिनामा ४० देखि ४५ हजार रुपैयाँसम्म नाफा हुन्छ। यसैबाट घर खर्च चलेको छ, माग दैनिक बढ्दै गएपनि कच्चा पदार्थ नहुँदा समस्या भएको छ। नियमित ५ जना र ज्यालादारीमा १०–१२ जनालाई रोजगारी दिएकी छिन्। ज्यालादारीमा काम गर्ने महिलालाई एक कोट सिलाए बापत २ हजार र राडीपाखी बुने बापत २ हजार ५ सय दिइरहेको उनले बताइन्।

आवश्यक कच्चा पदार्थ जुटाउन सके उद्योग निकै राम्रो चल्ने उनले बताइन्। उनले उत्पादन गरेका सामाग्रीले जिल्ला तथा क्षेत्रीय स्तरका प्रदर्शनीमा समेत राम्रो स्थान पाउँछन्। यो उद्योगमा सरकारी अधिकारी देखि जुम्ला भित्रिने अधिकांस आन्तरिक पर्यटकले समेत अवलोकन गर्छन्।

जुम्लामा राडीपाखीको उद्योगको निकै संभावना छ। उनले भनिन्,‘दृढ इच्छाशक्ति र साधनस्रोतको अभावले समस्या आइराखेको छ। ’ सरकारले आवश्यकता अनुसारको अनुदान दिएर महंगोमा समेत कच्चा पदार्थ आयत गर्न सक्ने वातावरण सिर्जना गर्न सक्यो भने आर्थिक समृद्धिको आधार नै राडीपाखी उद्योग बन्न सक्ने देखिएको छ।

Next Post

होमआइसोलनमा कोरोना जित्दै जुम्लाबासी

२० माघ २०७८, बिहीबार ११:४१
जुम्ला,माघ २०। कर्णालीमा कोरोनाको पहिलो लहरमा निकै त्रास थियो । कोरोना संक्रमण हुने बित्तिकै ज्यान लिन्छ भन्ने छाप बस्यो । गाउँगाउँमा त्रास फैलियो । घरदैलोमा जान प्रतिबन्ध गरियो । गाउँगाउँ जोड्ने पुलपुलेसामा पर्खाल तथा बार लगाइयो । तर पहिलो लहरको कोरोनाले जुम्लालाई खासै असर पारेन । कारण थियो,‘पहिलो लहरको कोरोनामा […]