स्वास्थ्यकर्मी लिएर उपाध्यक्ष बुढा जेष्ठ नागरिक भेट्न गाउँमा

  ।   ३ फाल्गुन २०७८, मंगलवार ०८:१९

गोल्डेन बुढा,जुम्ला,जुम्लाको तिला गाउँपालिकाकी उपाध्यक्ष बिष्णु बुढा स्वास्थ्यकर्मी लिएर गाउँगाउँमा जेष्ठ नागरिक भेटघाटमा निस्किएकी छिन । उनी जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै उनीहरुलाई सम्मान गर्न गाउँमा पुगेकी हुन । उनले भनिन्,‘अत्यधिक चिसोको समयमा स्वास्थ्यप्रति संवेदनशिल बन्न जेष्ठनागरिकलाई आग्रह गरिएको छ । रोग अनुसारको औषधि स्वास्थ्यकर्मीले दिने गरेका छन । जेष्ठ नागरिक अस्ताउन लागेका जुनबेल जस्तै भएकोले प्रोत्साहनको कार्यक्रम ल्याइएको हो । ’

तिला गाउँपालिका ८ जुम्लाकोटका ९६ बर्षिय भक्त बुढाले पहिलोपटक स्वास्थ्यकर्मी सहित गाउँपालिका उपाध्यक्ष गाउँमा पुगेपछि खुसी पोखे । उनले भने,‘उपाध्यक्ष ज्यू पहिले पटक पटक अन्य कार्यक्रम ल्याएर आएको देखेका थियौँ । यो पटक हामी जेष्ठ नागरिक लक्षित कार्यक्रम ल्याएर आउनु भएको छ । यो हामी जेष्ठ नागरिकका लागि स्मरणयोग्य काम हो । ’


चाउरी परेको अनुहार, गल्दै गएको शरीरले भक्त बुढालाई झस्काईरहन्छ । सामान्य स्वास्थ्य बिग्रिदा समेत चिन्तालाग्छ । तर स्वास्थ्यकर्मी नहुँदा उनले चेकजाँच गर्न समयमै पाउँदैनन । यो पटक भने गाउँमै स्वास्थ्यकर्मी लिएर पुगेकी उपाध्यक्ष सामु उनले निर्धक्कपुर्वक आफ्ना स्वास्थ्य समस्या राखे । स्वास्थ्यकर्मीले परामर्श र औषधि दिए । ९६ बर्षिय बुढाले भने,‘बल्ल काठमाण्डौँमा रहेको सिंहदरबार गाउँमा आइपुगेको अनुभुति भयो ।यो कामले जेष्ठ नागरिकलाई सम्मानित गरेको महसुस गरेका छौँ । ’
उपाध्यक्ष बुढा संगै स्वास्थ्यकर्मी बिराजु जिसी गाउँगाउँमा पुगेका छन । आवश्यक पर्ने औषधि बोकेर गाउँमा पुगेका स्वास्थ्यकर्मी जिसीले भने,‘आफ्नो स्वास्थ्यप्रति जेष्ठनागरिक चिन्तित छन । उपलब्ध भएको स्वास्थ्य उपकरणले स्वास्थ्य परीक्षण भइरहेको छ । औषधि पनि दिइराखेका छौँ । ’


जेष्ठ नागरिकको प्रेसर र सुगर जाँच्ने काम हुन्छ । उनीहरुको बिरामीको प्रकृति अनुसार चेकजाँच गरेर औषधि दिइने गरिएको छ । गाउँमै पुगेर स्वास्थयकर्मीले स्वास्थ्यचेक गर्न थालेपछि जेष्ठ नागरिक खुसी छन ।
८२ बर्षिय मुने रावत सरकारले जेष्ठ नागरिक प्रति गरेको मानसम्मान निकै सम्झन लायक हुने गरेको बताउँछन । ‘जेहोस अहिलेको सरकारले हामीलाई हेरीरहेको छ । हामी जस्ता घरको दैलो छोड्न नसक्ने नागरिकलाई घरमै पुगेर सम्मान गर्ने र स्वास्थ्य परीक्षण गर्ने कार्यले निकै खुसी प्राप्त भएको छ‘,८२ बर्षि मुनेले भने ।
मुनेलाई जोर्नी दुख्ने समस्याले सताएको छ । बेला बेला औषधि घरपरिवारले मेडिकल पुगेर ल्याउँछन । तर यो बर्ष स्वास्थ्यकर्मी सहित उपाध्यक्ष ज्यूले घरमै आएर चेकजाँच र औषधि दिएपछि खुसी लागेको उनले बताए ।
हामी सेतै फुलेकाहरु प्रति सरकारले राम्रै सोचेको जस्तो आभाष भयो । हामीले पनि युवा उमेरमा समाजका लागि केही राम्रो काम गरेर छोडेका छौँ । उनले भने,‘अहिले शरीरले साथ नदिदा सरकारले स्वास्थ्यकर्मी घरदैलोमै पठाएर सेवा दिदा उत्साहित बनाएको छ । ’


अहिले स्वास्थ्यकर्मी सहित उपाध्यक्ष बुढा तिला गाउँपालिकाको ९ वटा वडाका ३१ बस्तीमै पुगेकी छिन । उनले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण संगसंगै उनीहरुलाई हर्लिक्स,टोपी र टर्च दिएर सम्मानित गर्दै आइराखेकी छिन । उनले भनिन्,‘जेष्ठ नागरिक हाम्रा अमुल्य सम्पति हुन । सम्पतिको सम्मान र रेखदेख गर्नु सरकारको जिम्मेवारी हो । यही जिम्मेवारी पुरा गर्न गाउँमा पुगेका छौँ । ’
तिला गाउँपालिका १ रारा गाउँकी धनकलीलाई दम छ । उनलाई दमको औषधि नहुँदा धेरै समस्या हुने गरेको थियोे । अहिले स्वास्थ्यकर्मी सहित उपाध्यक्ष बुढा प्रत्येक जेष्ठ नागरिकको घरमा नै गएर जाँच गरेर औषधि हर्लिक्स,टर्च, टोपी उपलब्ध गराइएका छन् । बुढेसकालमा रोगले च्याप्यो । स्वास्थ्यकर्मी घरमै आएर औषधि दिएको यो पहिलो पटक हो,धनकलीले थपिन,‘यो कार्यले म जस्ता बुढाबुढीहरुलाई सजिलो भएको छ ।’उपाध्यक्ष बुढा स्वास्थ्यकर्मी जिसी,सम्बन्धित वडाका अध्यक्ष,पोषण सहजकर्ता जसुकला रावत,महिला तथा बालबालिका शाखा प्रमुख गौरी थापा सहितको टोली लिएर गाउँगाउँमा पुगेकी छिन ।


७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाइ स्वास्थ्य चेकजाँच,टोपी,टर्च, हर्लिक्स उपहार दिएको महिला तथा बालबालिका शाखाका प्रमुख थापाले बताइन । १ देखि ९ वडा भित्र रहेका ४ सय ४६ जना जेष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण र सम्मान गरिएको हो । जेष्ठ नागरिकहरुलाइ स्याहारसंभार गर्न, उचित पालनपोषण गर्न र सम्मान सत्कार गर्नको लागि जेष्ठ नागरिकका परिवारलाई आग्रह गरिदए आएको उपाध्यक्ष बुढा बताउँछिन ।
जेष्ठ नागरिकलाई समाजमा हेर्ने नजर फरक छ । उनले भनिन्,‘अब जेष्ठ नागरिकलाई हेला र अपमान होइन । सम्मानका साथ राख्न र उचित सम्मान पुर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्दै जेष्ठ नागरिकले गरेका राम्रा कामको अंगिकार गर्न आवश्यक छ । ’
उनले जेष्ठ नागरिक प्रति स्थानीय सरकार निकै चिन्तत भएको बताइन । स्थानीय निर्वाचन भइसकेपछि जेष्ठ नागरिकलाई विभिन्न प्याकेज ल्याएर हरेक बर्ष सम्मान गर्ने कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । । गत बर्ष ठुला पछ्यौरा र ज्याकेट दिइएको थियो । प्रत्येक घरघरमा पुगेर जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्य भइरहेको स्वास्थ्य चौकी इन्चार्ज विराजु जिसीले बताए ।


उनले भने,‘हामीले हरेक गाउँमै गएर स्वास्थ्य चेकजाँच गरेका छौं । गाउँमै पुगेर स्वास्थ्य सेवा दिँदा जेष्ठ नागरिक आमाबुवाहरू निकै खुसी हुन्छन् । औषधि दिँदा झन् खुसी हुन्छन् । उतिबेला जेष्ठ नागरिक प्रति गरेको सेवाभाव प्रति निकै उत्साहित हुने मन लाग्छ । ’
जेष्ठ नागरिकप्रति परिवार, समाज सबैको सम्मान बढाउनका लागि हरेक बर्ष जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सञ्चालनमा ल्याइएको पोषण सहजकर्ता जसुकला रावत बताउँछन् । जेष्ठ नागरिक समाजका गहना हुन । सबैले सम्मान गर्नुपर्ने महिला तथा बालबालिका संयोजक गौरी थापाले जनाइन् । तिला गाउँपालिका वडा नम्वर १ मा ४२ जना, दुईमा ६१ जना,३ मा ७६ जना,४ मा ६४,५ मा २८, ६ मा २५,७ मा ५२,८ मा ४३ र वडा नम्बर ९ मा ५५ जना जेष्ठ नागरिकहरु छन् ।


हिउँपात,बर्षा,चिसो नभनेर जेष्ठ नागरिक प्रतिको सम्मान गर्न पाउँदा भाग्यमानी ठानेको उपाध्यक्ष बुढा बताउँछिन । उपाध्यक्ष बुढालाई जेष्ठ नागरिकले सामाजिक सुरक्षाभत्ता ढिलो आउने गरेको र बैंकमै रुपैयाँ ल्याउन जानु पर्ने भएकोले हिड्न नसक्ने अवस्था रहेको दुखेसो गरेका छन । उपाध्यक्ष बुढाले गाउँमा स्थापित स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई जेष्ठ नागरिकको स्वास्थ्यलाई उच्च विन्दुमा राखेर काम गर्न निर्देशन समेत दिइन् ।

 

Next Post

बजेट कार्यान्वनयमा केन्द्रित हुन कार्यालय प्रमुखहरुलाई निर्देशन

३ फाल्गुन २०७८, मंगलवार ०८:१९
२ फागुन २०७८, सोमबार कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वनयमा केन्द्रित हुन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । उर्जा विकास मन्त्रालय मातहतका खानेपानी सिंचाई तथा उर्जा विकास निर्देशनालय सुर्खेत र कर्णाली प्रदेशका १० जिल्ला कार्यालयका प्रमुखहरुको सहभागितामा आज राजधानी सुर्खेतमा बजेट कार्यान्वनयनको […]