लाईसेन्स खुलाउन जुम्लाका सवारीचालकहरुको माग

  ।   ३ फाल्गुन २०७८, मंगलवार ११:२२

जुम्ला,फागुन ३।
यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले ४ बर्ष देखि लाईसेन्स वितरण गर्न नसक्दा यहाँका अधिकांस सवारीचालकहरु सवारीसाधन अनुमति पत्र(लाईसेन्स) विहिन छन । जसले निरन्तर ट्राफिक प्रहरीबाट जरिवाना काट्नु पर्ने बाध्यता छ । मोटरसाईकल चालक धनबिर बुढा जुम्लामा लाईसेन्स नखुल्दा मर्कामा परेको बताउँछन । उनले भने,‘यातायात कार्यालयले लाईसेन्स खुलाउँदैन । यहाँ निरन्तर जरिवाना तिर्नु परिराखेको छ । छिटो लाईसेन्स खुलेको भए जरिवाना तिर्न छुट्थ्यो की ?
पछिल्लो समयमा सवारीसाधन नियमनमा ट्राफिक प्रहरी कार्यालय जुम्लाले कडाई गरेको छ । उनले भने,’सवारीसाधन चेकजाँचमा कडाई गर्नु निकै राम्रो पक्ष हो । तर यातायात कार्यालय जुम्लाले लाईसेन्स खुलाउन नसक्दा निकै मर्कामा परियो । यो ठिक भएन । ’ उनी लाईसेन्स नहुँदा दर्जन बढि पटक ट्राफिक कार्बाहीमा परिसकेका छन ।
संघीय व्यवस्था कार्यन्वयन भएसंगै जुम्लामा लाईसेन्स खुल्न छाडेको हो । स्थानीय जीवनबहादुर कार्कीले भने,‘संघीयताले गाउँगाउँमा सिंहदरबार आइपुगे । तर गाउँमा आइपुगेको लाईसेन्स बितरण प्रक्रिया रोकियो । जसले यहाँका सयौँ सवारीचालक मर्कामा छन । ’उनले तत्काल लाईसेन्स खुलाएर सवारीचालकलाई निर्धक्कपुर्वक सवारीसाधन चलाउन पाउने वातावरण बनाउनको लागि माग गरे ।
यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले पनि यही फागुन महिना भित्र लाईसेन्स वितरण खोल्ने तयारी भइरहेको जनाएको छ । कार्यालय प्रमुख निरक्रिम शाहीले सबैको दबाव र सवारीचालकको गुनासोको संवोधन गर्न लाईसेन्स वितरण खोल्ने बताए । उनले भने,‘सबैको साथ र सहयोगले ४ बर्षपछि लाईसेन्स वितरण गर्ने तयारी भइरहेको छ । केही प्राविधिक पक्ष बाँकी रहेका छन । चाँडै लाईसेन्स वितरण हुनेमा ढुक्क हुँदा हुन्छ । ’
यही फागुन महिनाभित्र लाइसेन्स वितरण खोल्ने भएपनि मिति तय हुन सकेको छैन । प्रमुख शाहीले थपे,‘संघ तथा प्रदेश सरकारले चासो राखेको छ । यातायात व्यवस्था कार्यालयका कर्मचारीले पनि निकै सक्रियता देखाएका छन । यो पटक खुल्ने फिक्स नै भइसक्यो । ’
जुम्लामा सवारीसाधनको व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन पनि लाईसेन्स वितरण अनिवार्य गर्नु पर्ने देखिएको छ । जुम्लामा अटोरिक्सा,मोटरसाईकल खरिदले सवारीको चाप बढ्दो छ । संघीयता कार्यान्वयन संगै लाईन्सेस वितरण बन्द भएपछि समस्या थपिएको छ । यी सबै समस्याको संवोधन गर्न यातायात व्यवस्था कार्यालय जुम्ला लागि परेको सुचना अधिकारी लोकबहादुर महत बताउँछन ।
प्रक्रियागत कुराले लाइसेन्स वितरण रोकिएपनि कार्यालयका नियमित कामलाई सिमित जनशक्तिका बीच पनि निरन्तरता दिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका प्रमुख निर विक्रम शाहीले बताए ।
पाँच महिनामा ५६ लाख रुपैयाँ राजश्व संकलन
यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आर्थिक बर्षको पाँच महिनामा झण्डै ५६ लाख रुपैयाँ बढी राजश्व असुली गरेको जनाएको छ । कार्यालयको नियमित कार्यक्रम अनुसार सवारी दर्ता,सवारी चालक अनुमती पत्र (लाइसेन्स) नविकरण,सवारी साधन कर जस्ता शिर्षकबाट ५६ लाख ६४ हजार ५ सय ७० रुपैयाँ राजश्व संकलन भएको कार्यालयका सूचना अधिकारी लोक बहादुर महतले बताए ।
चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांक अनुसार जुम्लामा २ सय ९० वटा सवारी दर्ता भएका छन् । जसअन्र्तगत साउन महिनामा ६२,भदौमा ४८,असोजमा ५९,कार्तिकमा ६८ र मंसिरमा ५३ जना सवारी दर्ता भएका हुन । सबैभन्दा बढि नीजि मोटरसाइकल झण्डै ३ सय दर्ता भएको सुचना अधिकारी महतले जानकारी दिए । उनका अनुसार ३ सय ३६ लाइसेन्स नविकरण र १४ वटा प्रतिलिपि दिइएको छ ।
कार्यालय प्रमुख शाहीले यातायात क्षेत्रको आम्दानी तर्फ २ लाख २५ हजार ५ सय रुपैयाँ,चालक अनुमती पत्र,सवारी दर्ता सम्बन्धि दस्तुर बापत १३ लाख २७ हजार ५ सय ३० रुपैयाँ र सवारी साधन कर बापत ४१ लाख ११ हजार ५ सय ४० रुपैयाँ संकलन भएको हो ।

Next Post

तातोपानीका अतिविपन्नलाई गाउँपालिकाको निशुल्क स्वास्थ्य बीमा

३ फाल्गुन २०७८, मंगलवार ११:२२
जुम्ला,फागुन ३। तातोपानी गाउँपालिकाकी लाउरी रोकाया मानसिक समस्या भएकी महिला हुन । रकम अभावका कारण उनको उपचार हुन सकेको छैन । उपचार अभावका कारण उनी बेवारिसे अवस्थामा छिन । अति विपन्न सुचीमा रहेकी लाउरीको तातोपानी गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिएको छ । उनका लागि गाउँपालिकाले ३ हजार पाँच सय रुपैयाँको स्वास्थ्य […]