ठडिदैँ भवन, सुध्रिर्दै स्वास्थ्य क्षेत्र

  ।   १ माघ २०७७, बिहीबार १९:०२


जुम्लाको कनकासुन्दरी गाउँपालिकामा वुधबार देखि १५ शैयाको अस्पताल निर्माणको काम अघि बढ्यो । गाउँपालिका अध्यक्ष नरविर रावतले अस्पतालको शिलान्यास गरेपछि १५ शैयाको अस्पताल निर्माणको काम शुरु भएको हो । कर्णाली प्रदेशमा ४२ वटा अस्पताल बनाउनु पर्नेमा जिल्लाको कनकासुन्दरी गाउँपालिकामा पनि अस्पताल निर्माणको काम अघि बढेको हो ।
अस्पताल निर्माण गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १८ करोड ५० लाख रुपियाँ विनियोजन भएको छ । यहाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल भएपनि सशुल्क सहित नागरिक उपचार गर्ने गरेका छन् । तर स्थानीय बासीले निःशुल्क उपचार गर्न पाउने सरकारी अस्पताल भने छैन । अस्पताल बनाउन २२ जना स्थानीय बासी ३ हजार ५ सय वर्गमिटर जग्गा निशुल्क उपलव्ध गराएका छन् । निशुल्क जग्गा उपलव्ध गराउने स्थानीय नागरिकलाई गाउँपालिकाले सम्मान गर्नुका साथै कदरपत्र पनि उपलब्ध गराएको छ ।
नागरिकले निशुल्क उपचार गर्न पाउने जुम्लाकै ठुलो १५ शैयाको सरकारी अस्पताल कनकासुन्दरी गाउँपालिकाको हाँडसिजामा बन्ने भएको गाउँपालिका अध्यक्ष नरविर रावतले बताए । उनले भने यहाँ अब अस्पताल निर्माण भएर सञ्चालनमा आएपछि नागरिकले सहज रुपमा निशुल्क स्वास्थ्य उपचार पाउने छन् ।
यसअघि तिला गाउँपालिका–३ कुडारीमा १० शैयाको अस्पताल निर्माणको काम शुरु भइसकेको छ । अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत जुम्ला पुगेर शिलान्यास गरेका थिए । कनकासुन्दरीमा पनि स्वास्थ्य राज्यमन्त्री पुग्ने भनिएपनि कार्य व्यस्तताका कारण आउन सकेनन् ।
कनकासुन्दरी गाउँपालिकामा पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा निकै प्रभावकारी कार्य भइरहेका छन् । स्वास्थ्य क्षेत्रका भवन ठडिदैछन् । स्वास्थ्य सेवा पनि विस्तार हुदैछन् । कनकासुन्दरी गाउँपालिकाको हाँडसिंजा स्वास्थ्य चौकीमा ल्याव सञ्चालन गरिएको छ । यहाँका दुर्गम ठाउँमा स्वास्थ्य परीक्षण ल्याव सञ्चालन नहुदा दुईदिन पैदल यात्रा गरी सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आएर परीक्षण गर्नुपर्ने बाध्यता थियो ।
तर ग्रामीण भेगका स्वास्थ्य चौकीका ल्याव सञ्चालनमा आएपछि दिसा, पिसाव, खकार लगायत अन्य परीक्षण गर्न सहज भएको इन्चार्ज विरेन्द्रप्रसाद उपाध्यायले बताए । यहाँका नागरिक विरामी हुदा स्थानीय स्तरमै ल्याव परीक्षण गरी आवश्यकता अनुसार औषधि उपचार गर्न सकिने अवस्था भएको उनको भनाई छ । यो संगै कनकासुन्दरी गाउँपालिकाको हाँडसिजामा कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको छ । बुधबार औपचारिक रूपमा उद्घाटन गर्दै कनकासुन्दरी गाउँपालिकाले ५ शैयाको भिन्नै कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको हो ।
कोरोना संक्रमणका बिरामीको पालिकामै प्राथमिक उपचारका लागि कोभिड अस्पताल संचालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक दामोदर आचार्यले बताए ।
उनका अनुसार कोरोना भाइरसका बिरामी भइहालेमा भिन्नै उपचार गर्ने उद्देश्यका साथ अस्पताल सुरु गरिएको हो । जोखिम आइहालेमा स्वास्थ्यकर्मीहरूले निरन्तर काम गर्ने र गाउँपालिकाले कोरोनाबाट जोगाउन आर्थिक, भौतिक सहयोगमा कुनै कुरामा कमी नगर्ने उनले प्रतिबद्धता जनाए ।
कोभिड अस्पताल व्यवस्थापनका लागि संघीय सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले भने, ‘कोभिड अस्पतालमा एक जना मेडिकल अफिसर, २ जना स्टाफ नर्स र कार्यालय सहयोगीको दरबन्दी छ । तर, अहिलेसम्म मेडिकल अफिसरको दरखास्त परेको छैन । अरू स्टाफ भर्ना गरी काम सुचारु गरिएको छ ।’
प्रशासनको तथ्यांकअनुसार जुम्लामा ११ हजार ६३९ जनालाई कोरोना परीक्षण गरिएकोमा ४६३ जना संक्रमित भएका छन् । तीमध्ये ४५१ जना निको भएर घर फर्किएका छन् भने १२ जना अझै सक्रिय संक्रमित छन् ।

Next Post

पश्चिमी पहाडी तथा हिमाली जिल्लामा चिसोले जनजीवन प्रभावित

१ माघ २०७७, बिहीबार १९:०२
हुस्सुसँगै कुहिरो लाग्दा पश्चिमी पहाडी तथा हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ । लुम्बिनीका रुकुम पूर्व, रोल्पा, कर्णालीका जुम्ला, हुम्ला, डोल्पा, मगु र सुदूरपश्चिम प्रदेशका अछाम, डडेल्धुरा, दार्चुलालगायतका जिल्लामा अत्यधिक चिसो बढेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । बजारमा चलहपहल कम भएको छ […]