आयोगलाई सक्षम जनशक्ति उत्पादनको केन्द्र बनाइनुपर्छः प्रदेश प्रमुख परियार

  ।   ६ फाल्गुन २०७८, शुक्रबार १९:४९

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रदेश लोक सेवा आयोगलाई सक्षम जनशक्ति उत्पादनको केन्द्र बनाइनुपर्ने बताएका छन्। शुक्रबार प्रदेश लोक सेवा आयागको प्रथम स्थापना दिवसमा बोल्दै प्रदेश प्रमुख परियारले निष्पक्षता, इमान्दारिता कायम राख्दै राष्ट्रप्रति समर्पित जनशक्तिको छनोटमा आयोग लाग्नुपर्ने बताए।

‘लोक सेवा आयोगको अहिलेसम्मको काम निस्पक्ष छ,’ प्रदेश प्रमुख परियारले भने, ‘यसलाई कायमै राख्दै राष्ट्रप्रति समर्पित जनशक्ति छनोटमा ध्यान दिन आवश्यक छ।’ कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश निजामती कर्मचारी ऐन संसदको चालू अधिवेशनबाट पारित गर्ने तयारी भईरहेको बताए।

निजामति ऐन नहुँदा कर्णालीमा कर्मचारी अभाव पूर्ति गर्न नसकिएको बताउँदै मुख्यमन्त्री शाहीले संसदको चालू अधिवेशनबाट ऐन पारित गराउने गरेर सरकारले तयारी गरिरहेको बताए। मुख्यमन्त्री शाहीले कर्णालीका लागि आवश्यक जनशक्तिको पदपूर्तिमा लाग्न आयोगलाई आग्रह गरे।

‘कर्णालीमा कर्मचारी नहुँदा सरकारले लक्ष्य अनुसारको गति लिन सकेको छैन्,’ मुख्यमन्त्री शाहीले भने, ‘आवश्यक कर्मचारीको पदपूर्तिका लागि तदारुकताका साथ काममा लाग्नुहोस्।’ मुख्यमन्त्री शाहीले आयोगलाई काम गर्ने वातावरण सरकारले दिएको बताउँदै आवश्यक स्रोत–साधनको बहाना बनाएर ढिलासुस्ती नगर्न आग्रह पनि गरे।

उनले लोक सेवाको स्वच्छता, निस्पक्षता र तटस्ठतालाई कायम राख्दै कर्मचारी भर्नालाई चाँडै टुंगोमा पुर्‍याउनु आवश्यक रहेको बताए। प्रदेश लोक सेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाही, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री गणेशप्रसाद सिंह, आयोगका सदस्य वशन्ती शाही, भक्तबहादुर खड्का, प्रमुख सचिव राजकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

Next Post

जेष्ठ नागरिकलाई वडा सरकारको सम्मान

६ फाल्गुन २०७८, शुक्रबार १९:४९
गोल्डेन बुढा, जुम्लाको गुठिचौर गाउँपालिका ५ ले जेष्ठ नागरिकलाई सम्मान अभियान थालेको छ । वडामा रहेका जेष्ठ नागरिकलाई सम्मान स्वरुप हर्लिक्स र घ्यु दिइएको हो । गुठिचौर गाउँपालिका ५ का ७३ जना जेष्ठनागरिकलाई सम्मान गरिएको थियो । ७० बर्ष माथिका जेष्ठ नागरिकलाई गाउँपालिकाले सम्मान गरेको वडाध्यक्ष चन्द्रबहादुर नेपालीले जानकारी दिए […]