दर्ता भएको ३२ महिनापछि संसदमा एमसीसी टेबल

  ।   ८ फाल्गुन २०७८, आईतवार १४:२५

मेरिकी सहयोग निकाय मिलिनियम च्लालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । २०७६ असार ३० गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता गराएका थिए । त्यसपछि भने तत्कालीन सत्तारुढ दल नेकपाभित्रकै किचलोका कारण एमसीसी अुनमोदन प्रक्रिया अघि बढ्न सकेन ।

बरु नेकपाका नेताहरुबीच दूरी बढ्दै गयो, नेकपा विभाजित भयो र संसदमा एमसीसी अनुमोदनका लागि दर्ता गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि सत्ताबाट बाहिरिए ।

आइतबार प्रतिनिधिसभामा एमसीसी परियोजना टेबल हुँदै गर्दा आन्दोलनमा रहेको एमाले भने प्रक्रियामा सहभागी भएन । एमालेका सांसद भीम रावल चाहिं छलफलमा सहभागी भएर अनुमोदनका लागि संसदमा लैजाने सरकारको निर्णयको विरुद्धमा बोलेका थिए ।

आइतबार बिहान सत्तारुढ चार दलका शीर्ष चार नेताहरुबीच भएको छलफलमा एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्न दिने सहमति भएको थियो ।

उक्त बैठकमा एमसीसीका कट्टर विरोधी एकीकृत नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई भने बोलाइएको थिएन । सत्ताधारी दलका शीर्ष  नेताहरुबीच सहमति जुटेपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रका सांसदहरु देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले असहमति जनाएका थिए ।

यद्यपि सभामुख अग्नि सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने कार्यसूचि तयार पारे । योसँगै एमसीसीलाई लिएर दलहरुबीच भइरहेको मतभिन्नता औपचारिक रुपमै संसदमा प्रवेश गरेको छ ।

Next Post

एमसीसीमा थप ध्रुवीकरण हुन नदिन संसद्‌मा टेबल गरियो : सभामुख

८ फाल्गुन २०७८, आईतवार १४:२५
काठमाडौँ — सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रिय महत्त्वका विषयहरूमा दलका नेताहरू र नागरिकसमेत ध्रुवीकरण हुन लागेको भन्दै थप ध्रुवीकरण हुन नदिन त्यस्ता विषयहरूलाई संसद्‌मा टेबल गरिएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले निरन्तरको अवरोधका बीच संसद्‌मा राष्ट्रिय महत्त्वका विषयहरूमाथि नै छलफल हुन नपाएको भन्दै संसद् सञ्चालनमा सहयोग गर्न आग्रह गरे । […]