जुम्ला,फागुन १४।
जुम्लामा स्याउ बगैँचाको व्यवस्थापन तथा विरुवा काँटछाँट गर्न सिकाउने हेतुले कृषि प्राविधिक किसानको स्याउ बगैँचामा पुगेका छन । बगैँचामै पुगेर उनीहरुले स्याउको उत्पादन बृद्धि गर्नको लागि बगैँचा व्यवस्थापन र काँटछाँटमा ध्यान पुर्याउनको लागि आग्रह गरेका हुन ।
स्याउ सुपरजोन कार्यालय जुम्लाले कार्य क्षेत्रभित्रका अधिकांस किसानको बगैँचामै पुगेर स्याउ बगैँचाको व्यवस्थापन गर्न सिकाउन थालेको हो । स्याउ सुपरजोन कार्यालय जुम्लाका बरिष्ठ कृषि विकास अधिकृत गंगा पोखरेल किसानलाई स्याउ बगैँचामै पुगेर काँटछाँट र व्यवस्थापनको व्यवहारीक अभ्यास गर्न थालिएको बताउँछिन ।
उनले भनिन्,‘बगैँचामै गएर अभ्यास गराउँदा किसान छिटो सिक्छन । एक आपसमा बगैँचाको व्यवस्थापन बारेको अनुभव आदानप्रदान गर्छन । गुणस्तरीय स्याउ उत्पादनको लागि जोड दिन्छन । बगैँचामै पुगेर व्यवस्थापन गर्दा किसानको समेत हौसला बढ्ने गरेको छ । ’ चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासीका १० किसानको बगैँचामा स्याउ बगैँचा व्यवस्थापनको व्यवहारीक अभ्यास गरिएको हो । जुम्ला संगै कालिकोटको रासकोट र तिलागुफा नगरपालिकाका किसानको बगैँचामै कृषि प्राविधिक पुगेर सीप सिकाउन थालेका हुन ।
यो पटक कृषि प्राविधिकले ३७५ जना किसानलाई व्यवस्थापन र काँटछाँटको व्यवहारीक ज्ञान दिएका हुन । किसानलाई बगैँचामै बोलाएर व्यवस्थापन गर्न सिकाउदा निकै लाभान्वित भएका हुन । विरुवा लगाउने देखि काँटछाँट,मलखाद्यको प्रयोग लगायतका विषयका किसानलाई सहजीकरण गर्ने गरिएको निमित्त प्रमुख पोखरेलले जानकारी दिइन ।
प्रशिक्षक रामबहादुर खत्री किसानले स्याउ लगाएपछि विरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिदा हुने हानीका बिषयमा छलफल हुने गरेको बताउँछन । अहिले बगैँचामै पुगेर व्यवस्थापन तथा काँटछाँटको सीप सिकाउदै आएका छौँ । किसान पनि निकै जागरुक भइसकेका छन । उनले भने,‘बगैँचा भित्र देखिएको समस्याका बारेमा किसानले राय लिन्छन । कृषि प्राविधिकले समस्या समाधानको लागि गर्नु पर्ने कार्यका बारेमा सुझाव दिने गरेका छन । यो कार्यले किसान र कृषि प्राविधिक बीचको सम्बन्ध निकै प्रगाढ हुने गरेको छ । ’
एउटा विरुवाले कसरी गुणस्तरीय फल दिन्छ भन्ने बारेमा सीप सिकाइन्छ । विरुवा व्यस्थापनका चरणहरु समेत बताउने गरिएको छ । जति राम्रो बगैँचा व्यवस्थापन हुन सक्यो । उत्तिनै राम्रो स्याउले उत्पादन दिने हो,प्रशिक्षक खत्रीले भने,गुणस्तरीय स्याउ फलाउने गरी व्यवस्थापन गर्न सकेको खण्डमा बजारको अभाव हुदैन । उनले भने,‘व्यापारी बगैँचामै पुगेर स्याउ उठाएर लैजान्छन । किसानले राम्रो आम्दानी गर्न सक्छन । बगैँचा व्यवस्थापन र काँटछाँटको मर्म पनि यही हो । ’
कृषि प्राविधिक बगैँचामै पुगेर सीप दिन थालेपछि किसान उत्साहित बनेको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा बताउँछन । उनले भने,‘किसानको जीवन स्तरमा परिवर्तन ल्याउन यो सीप निकै प्रभावकारी छ । स्याउ खेतिमा किसानको आकर्षण समेत बढाउने गरेको छ । ’
उनले स्याउ व्यवस्थापन र काँटछाँट गर्न किसान आफै परिपक्क हुनु पर्नेमा जोड दिए । उपप्रमुख बुढाले भने,‘जुम्ला स्याउ खेतिको निकै संभावना बोकेको क्षेत्र हो । सही रुपमा स्याउ बगैँचाको व्यवस्थापन र काँटछाँटमा प्राथमिकता दिनुपर्छ । स्याउ नै यहाँको आर्थिक समृद्धिको आधार बन्ने निश्चित छ ।
स्याउ सुपरजोन परियोजना जुम्लामा लागु भएपछि स्याउ खेतिमा हुने हरेक समस्याका बारेमा किसानले सहजै रुपमा परामर्श लिन सक्ने भएका छन । चन्दननाथ नगरपालिका ३ की बाटुली सार्की स्याउ खेतिले परिवारमा खुसी ल्याएको बताइन् । कृषि प्राविधिकले ज्ञान सीप दिएपछि एकसय स्याउ विरुवा काँटछाँट र व्यवस्थापन गरेको बताइन । सधंै कृषि प्राविधिक बगैँचामा पुग्न सक्ने अवस्था रहदैन्, उनले भनिन्,‘सम्बन्धित किसानले सीप सिकेमा निकै उपलब्धिपुर्ण हुन्छ । बगैँचालाई कस्तो स्वरुप दिने स्वयम किसानले नै जानेको हुनुपर्छ । यो एक व्यवसायिक किसानको जिम्मेवारी पनि हो । ’