सेनाको ब्यारेकमा नमुना स्याउ बगान

  ।   १७ फाल्गुन २०७८, मंगलवार १६:१५

जुम्लामा रहेका नेपाली सेनाको ब्यारेक स्याउमय बनेका छन । ब्यारेकभित्र स्याउका विरुवा रोपेर सेनाले निकै सुन्दर बगैँचा निर्माण गरेको छ । केही स्याउका बोटले फल दिन सुरु गरिसकेका छन । केही स्याउका विरुवा हुर्कदैँ छन ।
स्याउका विरुवामा पालुवा पलाइसकेको छ । केही स्याउका बोट फुलेर सेताम्य भएका छन । स्याउको विरुवाले सेनाको ब्यारेक निकै सुन्दर बनेको छ । नेपाली सेना २४ नम्बर बाहिनी अड्डामा झण्डै १४ सय स्याउका विरुवा छन । जसमध्ये २५० स्याउका विरुवाले फल दिन्छन । नन्दाबक्स गणमा ६ सय स्याउका विरुवा रोपिएको छ । गणमा तीन बर्ष देखिका स्याउका विरुवा फल्ने तयारीमा छन ।
जुम्लामा नेपाली सेनाका २४ नम्बर बाहिनी अड्डा र नन्दाबक्स गण दुई ब्यारेक छन । दुबै ब्यारेकमा स्याउ तथा ओखर रोपिएको छ । सेना दिवसका अवसरमा मात्रै बाहिनीमा २ सय स्याउका विरुवा र एक सय ओखरका विरुवा रोपिएको हो ।
बाहिनीपति राजेन्द्र केसीले व्यारेक भित्र स्याउखेति निकै राम्रो संग फस्टाएको बताए । उनले भने,‘फल्ने स्याउ फुलेर सेताम्य छन । नफल्ने स्याउ पालुवा पलाउन थालेपछि हरियाली छाउँदैछ । यहाँको पहिचान बचाउने र सेनाबाट अबकाश भइसकेपछि कृषि क्षेत्रमा आकर्षण गर्ने हेतुले बगैँचामा स्याउखेति प्रारम्भ गरिएको थियो । ’
स्याउको सिजनमा ब्यारेक नै राताम्य हुने उनले बताए । स्याउ विरुवाको संरक्षण गर्न ब्यारेक भित्रको व्यवस्थापनलाइ चुस्त बनाइएकोछ । ब्यारेक भित्रको सेनाले स्याउ रोपेको खण्डमा सम्बन्धित व्यक्तिले नै रेखदेख गर्ने गरेका छन । बाहिरबाट गएका अतिथिले रोपेको विरुवामा सेनाले संरक्षण गर्ने जिम्मेवारी तोकेको छ ।
पटक पटक स्याउको विरुवा गोडमेल तथा रेखदेख गर्न पालैपाले डयुटी गर्ने गरिएको छ । बाहिनीपति केसीले सेनाको व्यारेक भित्रको स्याउ बगैँचा सबै किसानको लागि प्रेरणादायी हुने बताए । पहिले स्याउ मात्रै रोपण गरिएको थियो । यो बर्ष देखि एक सय बोट ओखर पनि रोपिएको छ ।
सेनाले फौजी काम मात्र गर्छ भन्ने भ्रम छ,उनले भने,‘कृषि क्षेत्र संग जोडिएर पनि नमुनाको काम गरेको छ भन्ने सन्देश फैलाउन चाहन्छौँ । ’बगैँचा व्यवस्थापन,काँटछाँट तथा मलखाद्य व्यवस्थापनको लागि कृषि प्राविधिक संग पटक पटक परामर्श लिने गरिएको छ । अहिले स्याउको सिजन भएकोले कृषि कार्यालय,स्याउ सुपरजोन कार्यालय र बागवानी अनुसन्धान केन्द्र राजिकोट संग समन्वय भइरहेको बाहिनीपति केसी बताउँछन ।
स्याउ खेतिको लागि म आफै कृषि क्षेत्रमा काम गर्ने कार्यालयमा पुग्ने गरेको छु । प्राविधिक सरसल्लाह लिने गरेको छु, उनले भने,‘जुम्लाको स्याउ खेतिको प्रवद्र्धन कार्यमा नेपाली सेनाले निकै राम्रो काम गरेको छ । यो बगैँचा सबैको प्रेरणाको स्रोतका रुपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । ’
आगामी चैत महिनामा उच्च घनत्वको फुजी स्याउको विरुवा रोप्ने तयारी समेत भइरहेको नेपाली सेनाले जनाएको छ । नन्दाबक्स गणका गणपति रविन थापाले सेना कृषि क्षेत्रको उत्पादनमा जोडिएको बताउँछन । सेना दिवसको अवसरमा गणमा तीन सय स्याउका विरुवा रोपिएका छन । ३० विरुवा ओखर र २० विरुवा द्यावदारका रोपिएको छ । स्थानीय जातको स्याउ रोपिएकोले यहाँका किसानले समय समयमा बगेँचा अवलोकन गर्न सक्नेछन । स्याउले सेनाको ब्यारेक रमणीय बनेको छ । यहाँ रोपिएको मध्ये ५ प्रतिशत स्याउ नष्ट हुने गरेको छ । सबै विरुवा हुर्कन्छन । एक दशक पछि ब्यारेक स्याउमय हुनेछ ।
स्याउको विरुवाको रेखदेख र संरक्षणका लागि तालिमप्राप्त जनशक्ति खटाईएको छ । हरेक दिनमा दुई जना खटाउँछौँ । कृषि प्राविधिक ल्याएर विरुवा देखाउँछौँ । विरुवा लगाउने,खाडल खन्ने,काँटछाँट गर्ने र बगैँचा व्यवस्थापन गर्ने बिषयमा पटक पटक तालिम दिन सम्बन्धित सरोकारवाला कार्यालयमा जवानलाई पठाउने गरेको गणपति थापा बताउँछन । कुनै पनि सेनाका जवान देखि अधिकृत सम्म अवकाश प्राप्त भएको खण्डमा कृषि क्षेत्रमा काम गरेर जीविकोपार्जन गर्न सक्ने गरि काम गर्न थालिएको सेनाले जनाएको छ ।
बाहिनीपति दिपक बानियाँको पाला देखि ब्यारेकमा स्याउ रोप्ने काम शुरु भएकोमा अर्का बाहिनीपति यम सापकोटाको पालामा सबैभन्दा बढि स्याउ रोपिएका हुन । वाहिनीपति केसी, गणपति रविन थापा, जिल्ला वन कार्यालयका प्रमुख दिनेशजंग खत्रि, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई स्याउ सुपरजोन कार्यालय प्रमुख गंगा पोख्रेल सहितका सरोकारवाला निकायहरुले विरुवा रोपेका थिए ।

Next Post

कनकासुन्दरीको पाण्डवगुफा संरक्षणको पर्खाइमा

१७ फाल्गुन २०७८, मंगलवार १६:१५
उमेश बुढा,कनकासुन्दरी, कर्णाली प्रदेशको नाग्म सिँजा हुदै राराताल जाने नाग्म गमगडी सडकको छेउमै पर्छ फाण्डवगुफा । जुम्ला कनकासुन्दरी गाउँपालिका ८ पाण्डुसेरा गाउँमा रहेको पाण्डवगुफा पर्यटक तान्ने महत्वपुर्ण पर्यटकीय गन्तब्य बनेको छ । त्यहाँ पाँच भाई पाण्डवको मुर्ति छन । पाँच भाइ पाण्डवकी एक मात्र पत्नी द्रौपतीको मुर्ति पनि एक छेउमा […]

सम्बन्धित