कक्षकोठा नहुँदा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य

  ।   १० चैत्र २०७८, बिहीबार १०:३०

उमेश बुढा,कनकासुन्दरी.

जुम्लाको कनकासुन्दरी गाउँपालिका ३ गौरी गाउँमा रहेको नवदुर्गा आधारभुत विद्यालयमा कक्षकोठा नहुँदा विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन । उनीहरु बर्षायाममको चर्को घाममा चौरमै पढ्छन । हिउँदको कठयांग्रिदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्छ । विद्यालयमा दुई कोठे तीन वटा भवन छन । तर यी भवन यहाँको लागि प्रयाप्त छैनन । भएका भवन समेत निकै जीर्ण र बस्न लायक छैनन ।
एउटा भवन २०७८ साल माघ महिनाको ९ गते हिमपातले भत्काइदिएको छ । अर्को भवनमा बर्खाको समयमा कक्षाकोठा भित्र पानी पस्छ । ढोका र पर्खालमा राखिएको सबै काठ कुहिन थालेको छ । कोठाको तल सिलिङ गरेको काठ काम नलाग्ने अवस्थामा पुगेकोछ ।
अहिले विद्यालयमा काम लाग्ने भवन एक मात्र छ । त्यो भवनका दुइ कोठा छन । एउटो कोठामा विद्यालयको कार्यालय छ । अर्काेमा बालविकास केन्द्रका विद्यार्थी पढिरहेका छन । विद्यार्थीहरूलाई बस्नको लागि कक्षाकोठा नभएर शैक्षिक सामाग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाई भएको प्राधानाध्यापक हरीबहादुर बुढा बताउँछन ।
उनले भने,‘ विद्यार्थीको गुणस्तर र सिकाई उपलब्धिमा प्रत्यक्ष असर परेको छ । विद्यालयमा ३ वर्ष देखि १०/ १२ वर्ष सम्मका विद्याथी आउने गरेका छन । विद्यालयको संरक्षणमा न स्थानीय सरकारको ध्यान गएको छ । नत त्यहाँका अभिभावकको नै । उनीहरु सबै टुलटुलु हेरेर बसेका छन । ’
हामीलाई चौरमा बसेको बेला घामले निकै पोल्छ । बर्षा भएको बेला भिजाएर नराम्ररी पीडा हुने गरेको छ । खुला आकाशमा हावा चलेर राम्रो सिंत पढ्ने वातावरण नै छैन । कक्ष ५ मा अध्ययनरत निराजन बुढाले भने,‘यो विद्यालय होकी ? विद्यालयका नाममा खोलिएको संरचना मात्रै हो । बुझ्न कठिन छ । ’
विद्यार्थीका लागि विद्यालयमा एउटा मात्र कोठा छ । जहाँ साना बालविकास केन्द्रका बालबालिका बस्छन । ठुलो विद्यार्थीलाई चौरमा लस्कर लगाएर बसालिन्छ । उनले भने,‘विहान १० बजेदेखि अपरान्ह ४ बजे सम्म खुला चौरमा बस्छौँ । धुलो संग खेल्छौँ । कक्षा ४ की छात्रा रमिला बुढाले भनिन्,‘विद्यालय भन्न पनि लाज लाग्छ । विद्यालयका नाममा खोलिएको पिजडा जस्तो विद्यालय छ । ’
यो गौरी गाउँका लागि खोलिएको विद्यालय हो । ४० घरपरिवारका विद्यार्थीले यहाँ अध्ययन गर्छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बुढाले विद्यालयको अवस्था हेरेर कतिपय अभिभावकले विद्यार्थीलाई नीजि विद्यालयमा पढ्न पठाउने गरेको बताए ।
उनले अधिकांस अभिभावकको चासो नीजि विद्यालय तिर गएकोले सरकारी विद्यालयको अवस्था निकै जीर्ण हुदै गएको बताए । तर सरकारी विद्यालयले दिने गुणस्तरीय शिक्षाका बिषयमा केही बोलेनन् ।
विद्यार्थीहरुलाई प्रयाप्त कक्षकोठाको व्यवस्थापन गर्न स्थानीय सरकार,कर्णाली प्रदेश सरकार देखि सामाजिक संघसंस्था र काठमाण्डौमा रहेको सिंहदरवार सम्म पुगेपनि कसैले सुनुवाई नगरेको दुखेसो पोखे । उनले भने,‘हामी विद्यार्थीको दुख प्रति निकै संवेदनशिल छौँ । तर विद्यार्थीको पीडा बझिदिने सरकार भेटाउन सकेका छैनौँ । नजिकैको स्थानीय सरकारले पनि यो विद्यालयलाई उपेक्षा गरिरहेको छ । ’
उक्त विद्यालयमा दरबन्दीमा दुई शिक्षक छन । नीजि एक,इसिडी शिक्षक १ र कार्यालय सहयोगी गरेर पाँच जना कर्मचारी छन । उनीहरु विद्यालयमा आउने चौरमा विद्यार्थी पढाउने र घर फर्किने गर्छन ।
कनकासुन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायण न्यौपाने विद्यालयको भौतिक संरचना निकै जीर्ण अवस्थामा रहेको बताउँछन । उनले भने,‘विद्यालयको पठनपाठन र भौतिक संरचनाको अवस्था हेर्दा निकै दयनिय देखिएको छ । यो अवस्थाले गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिदैन ।’
तत्काल विद्याथीए बस्नको लागि एउटा कक्षकोठा मर्मत गर्न सकिने बजेट प्रदान गरिएको छ । न्यौपानेले भने,‘ एउटा भवनको मर्मत गरेमा विद्यार्थीलाई बस्न मिल्नेछ । यतिले पनि धेरै राहत मिल्ने देखिन्छ । ’
उनले विद्यालयको समस्या समाधानका लागि शिक्षा शाखाबाट गर्नु पर्ने सबै काम गर्न सकिनेमा जोड दिए ।

Next Post

कनकासुन्दरीका खानेपानीको गुणस्तर जाँच

१० चैत्र २०७८, बिहीबार १०:३०
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा रहेका खानेपानी आयोजनाको गुणस्तर जाँच गरिएको छ । यहाँका कुन मुहानको खानेपानी पिउन योग्य छ या छैन भन्ने प्रमाणित गर्न खानेपानी आयोजनाको गुणस्तर जाँच गरिएको हो । गाउँपालिका भित्र रहेका ८ वटा खानेपानी आयोजनाको वाक कीट मेसिनबाट जाँच गरिएको थियो । युनिसेफ नेपालको समन्वय र कनकासुन्दरी गाउँपालिकाको […]