जुम्लाका दल र मन्जुले जिते गुरिल्ला म्याराथन

  ।   ४ असार २०७९, शनिबार १६:३०

असार ४, भूमे गाउँपालिकामा आयोजित चौथो गुरिल्ला म्याराथनमा दलबहादुर कुँवर र मन्जु रावत विजेता बनेका छन् । ६२ किलोमिटर दुरीमा अरू ६८ प्रतियोगीलाई पछि पार्दै पुरुषतर्फ कर्णाली स्पोर्ट्स क्लब जुम्लाका दलबहादुरले ५ घण्टा ५३ मिनेट २ सेकेन्डबाट सफलता पाए । मन्जु पनि कर्णाली स्पोर्ट्सकै हुन् । उनले निर्धारित दुरी ६ घण्टा ५६ मिनेट ४० सेकेन्डमा पूरा गरिन् ।

पुरुषतर्फ ६ घण्टा २१ मिनेट ६ सेकेन्डमा दुरी पार गरेका भूमे गाउँपालिकाका हिमाल बुढा मगर दोस्रो भए । ६ घण्टा ३५ मिनेट ५० सेकेन्डबाट रुकुम पश्चिमका दुर्गाराज बुढा तेस्रो भए । सोलुखुम्बुका सुमन कुलुङ चौथो हुँदा रुकुम पूर्वका क्रमाण बुढा पाँचौं भए । महिलातर्फ सोलुखुम्बुकी अनिता राई दोस्रो भइन् । उनले निर्धारित दुरी ८ घण्टा २५ मिनेट १ सेकेन्डमा पार गरिन् । ८ घण्टा ३१ मिनेट ४० सेकेन्डमा दुरी पार गरेकी रोल्पाकी अस्मिता बिक तेस्रो भइन् । भोजपुरकी अनिता राई चौथो र रुकुम पूर्वकी अनिता बुढा पाँचौं भए ।

दुवैतर्फका विजेताले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले ८ हजार रुपैयाँ पुरस्कार पाए । पाँचौंदेखि दसौं स्थानसम्मका खेलाडीले ५–५ हजार पुरस्कार पाए । म्याराथन महतबाट सुरु भई लाबाङ–छोर्वाङ–गल्च्योल–तिल्घा–ढङ्नै–जलजला–थबाङ–पोर्पोछेडा–मारिङ–ठुलो लेक हुँदै महतमै पुगेर टुंगिएको थियो ।

१० किलोमिटर दौडमा पुरुषतर्फ रोल्पाका जीवन थापा मगर पहिलो, रुकुम पूर्वका केशव बुढा दोस्रो र सन्दीप बुढा तेस्रो भए । निर्धारित दुरी जीवनले १ घण्टा २ मिनेट, केशवले १ घण्टा ४ मिनेट र सन्दीपले १ घण्टा ६ मिनेटमा पार गरे । महिलातर्फ रुकुम पूर्वकी सुनकुमारी सुनार पहिलो, प्रिया पुन मगर दोस्रो र विनिता शेर्पाली तेस्रो भए । सुनकुमारीले १ घण्टा ४० मिनेट, प्रियाले १ घण्टा ५० मिनेट र विनिताले २ घण्टा ९ मिनेटमा दुरी पार गरेका थिए । दुवैतर्फका विजेताले, दोस्रोले ६ र तेस्रो हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाए ।

भूमे गाउँपालिकाको आर्थिक सहयोगमा युवा विकास केन्द्र भूमेले प्रतियोगिता आयोजना गरेको हो । तत्कालीन माओवादी द्वन्द्वका क्रममा गुरिल्ला हिँडेको बाटोमा दौड गराइएको आयोजक केन्द्रका अध्यक्ष सुनील रोका मगरले बताए । युद्ध पर्यटन, पर्यटनमार्फत स्थानीयको विकासका लागि हरेक वर्ष गुरिल्ला म्याराथन गर्दै आएको उनले बताए । तत्कालीन द्वन्द्वका क्रममा धेरै मानवीय क्षेत्र बेहोरेको ठाउँ हो महत ।

Next Post

चन्दननाथ मन्दिरमा विवाह गर्न जन्म दर्ता प्रमाणपत्र अनिवार्य

४ असार २०७९, शनिबार १६:३०
कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्न जाँदा जन्म दर्ता प्रमाणपत्र अनिवार्य हेर्ने गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्न जाने जोडीले स्पष्ट रुपमा परिचय खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको हो । पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि जुम्लाको चन्दननाथ मन्दिरमा अनिवार्य जन्म दर्ता […]