खरायोको टोपी जुम्ली किसानको पहिचान

  ।   २५ असार २०७९, शनिबार १३:०३

जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ८ को रोकायाबाडा गाउँ खरायो पालनका लागि प्रख्यात मानिन्छ । यहाँका किसानले खरायोको ऊनबाट टोपी बुन्छन् । उक्त टोपी रोकायाबाडाको पहिचान बनेको छ ।

धेरैले त यसलाई खरायोको गाउँका रुपमा चिन्छन् । हरेक घरमा खरायो पालिएको छ । खरायोको उनबाट टोपी बुन्ने काम पनि भइरहन्छ । ३७ वर्षीय विष्णु रोकायाले खरायो पाल्न थालेको २७ वर्ष बित्यो । उनले अहिले ६० वटा खरायो पालेका छन् । बजार लगेर ३ हजार रुपैयाँमा बेच्छन् ।

विष्णु गाउँमै एक नमुना खरायो पालक किसान हुन् । विष्णुका बुबा तुलराज रोकाया भेडापालक किसान थिए । उनले नै सबैभन्दा पहिले खरायो भित्र्याएका हुन् । भेडाको ऊनबाट राडी पाखीलगायत कपडा बुन्दै आएका तुलराजले पहिलो पटक खरायोको ऊनबाट टोपी बुने । त्यो टोपी दुई सय रुपैयाँमा विक्री भएको थियो । पहिलो पटक खरायोको टोपी बजारमा लैजान पाउँदा खुसी भएका उनले दोस्रो पटक मफ्लर बुने । त्यो मफ्लर ५ हजार रुपैयाँमा बिक्न थाल्यो । अनि व्यावसायिक रूपमा खरायो पालनमा लागेको विष्णुको भनाइ छ ।

विष्णुको आम्दानीको स्रोत नै खरायोको टोपी हो । एक महिनामा ८ वटा टोपी तयार पार्छन् । यसबाट महिनामा न्यूनतम २५ हजार रुपैयाँ कमाउँछन् ।

रोकायाबाडामा ४ सयभन्दा बढी घर छन् । तीमध्ये आधा घरधुरीमा खरायो पालिएको छ । सबैको घरमा १० देखि ८० वटासम्म खरायो पालिएको छ । गाउँमा हुने शुभ कार्यदेखि सदरमुकाम खलंगामा हुने बिदाइ तथा सम्मानमा पनि खरायोको टोपीको प्रयोग भइरहेको छ । अतिथिका रुपमा जुम्ला पुग्ने सेनाका उच्च अधिकारीदेखि सरकारी स्तरका माथिल्लो तहका सबैलाई खरायोको टोपीले स्वागत गरिन्छ ।

जुम्लामा बुनेको टोली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासम्म पुगिसकेको छ । प्रत्येक तीन महिनामा खरायोको ऊन निकालिन्छ । टोपीका लागि कालो र सेतो ऊन भएको खरायो पालिन्छ । खरायो पालनमा लागेपछि किसानको प्रगति भइरहेको छ ।

विष्णुले मात्र खरायोको टोपी बेचेर पाँच लाख रुपैयाँ बचत गरेका छन् । नुन, तेल र बच्चा बच्चीको स्कुल खर्च पनि त्यही रकमले चल्छ । खरायोको टोपी बेचेर १५ लाख रुपैयाँ कमाएको चन्दननाथ बहुउद्देश्यीय सहकारीले यस वर्ष ३० लाख रुपैयाँको टोपी बेचिएको बताएको छ । सबै टोपी रोकायाबाडाबाटै आएका हुन् ।

किसानबाट ३ हजारमा टोपी किनेर ३ हजार ५ सयमा बेच्ने गरिएको सहकारीका कार्यकारी प्रबन्धक ऋषिराम पाण्डेले जनाए । ुटोपीको माग सबैतिर छ, तर मागअनुसार पठाउन सकिएको छैन । खरायोको टोपी जुम्ली किसानको पहिचान बनिसकेको छु, उनले भने ।

सबैभन्दा बढी काठमाडौं, भैरहवा र नेपालगन्जमा खरायोको टोपीको माग छ । विदेशी पर्यटकले पनि यो टोपी लैजाने गरेका छन् ।

Next Post

धानमा ‘ब्युटाक्लोर’ विषादी नहाल्न कृषि विज्ञको सुझाव

२५ असार २०७९, शनिबार १३:०३
मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव दिएका छन् । कृषि विकास कार्यालय जुम्लाले सो विषादी प्रयोग नगर्न किसानलाई आग्रह गर्दै प्राङ्गारिक जिल्लाकै रुपमा पहिचान कायम गर्ने कार्यमा सघाउन किसानलाई आग्रह गरेको हो । अहिले पनि लुकीछिपी धानबालीमा झारनाशक विषादी ब्युटाक्लोर प्रयोग भइरहेको गुनासो आएकाले कार्यालयले जनचेतनामूलक […]