जुम्लाका एक सय ४३ भेडा किसानले पाए गोठालो भत्ता

  ।   २ श्रावण २०७९, सोमबार ११:४३

जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । जुम्लाको पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएका थिए ।

स्थलगत रिपोर्ट र मूल्याङ्कनपछि मात्र एक सय ४३ जनाले गोठालो भत्ता पाएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए । उनले भने, ‘सरकारले जुम्लामा भेडाको उत्पादन बढाउन यस्तो ब्यवस्था गरेको हो। एक वर्षभरि भेडा हेर्न जाँदा आवश्यक सामान किन्न केही सहज होस् भन्न उनीहरूलाई प्रोत्साहनस्वरुप गोठालो भत्ता दिने गरिएको छ ।’

भेडा पालक किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख महतले बताए । उनका अनुसार ५० देखि माथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको हो। यो कर्णाली प्रदेश सरकारले भेडाको उत्पादन बढाउन लागू गरेको नियमित कार्यक्रम हो ।

रकम सम्बन्धित किसानको बैंक खातामै जम्मा गरिएको छ । यो कार्यक्रमले किसानको रुचि भेडा पालनतर्फ बढ्ने अपेक्षा गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयमा दुई सय ८४ किसानले आफ्नो फार्म सूचीकृत गराएका छन् । कर्णाली सरकारले गोठालो भत्ता तथा यस अन्तर्गतका अन्य कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

Next Post

चट्याङमा भेडा गुमाएका कृषकलाई राहत वितरण

२ श्रावण २०७९, सोमबार ११:४३
पातारासी गाउँपालिका वडा नम्बर ४ लुमका चट्याङमा परि भेडा गुमाएका पाँच जना कृषकलाई राहत वितरण गरिएको छ। कर्णाली प्रदेश भूमि तथा कृषि सहकारी मन्त्रालय सुर्खेतका सचिव डा। लेखराज दाहाल, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्य, प्रमुख राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले संयुक्त रुपमा कृषकहरुलाई राहत वितरण […]