पानी भर्न मध्यरातमा धारामा

  ।   ५ जेष्ठ २०८०, शुक्रबार २२:१५

सिंजा –५ फुङ्ग्र गाउँकी पुनि रोकाया मध्यरातमा पधेँरो पुग्छिन्। त्यसरी पुग्दा पनि पानी भर्न लाइन लाग्नुपर्छ। ‘भाँडाकुँडा बोकेर मध्यरातमा पधेँरो पुग्दा नि सुख छैन,’ उनले भनिन्, ‘भोट लगाउन जाँदा जसरी लाइन बस्नुपर्छ। त्यस्तै मध्यरातमा पधेँरो पुगेर लाइन बसेर तिरतिरे पानी भर्नुपर्छ।’

उनले पानीको अभावले निकै सकस भएको बताइन्। उनले भनिन्, ‘नुहाइधुवाइ त कल्पनामा मात्रै हो,खान त कठिन हुन्छ। एक गाग्री पानी लिन गाउँभन्दा तल तलीधारा पुग्नपर्छ, त्यहाँ पुग्न झन्डै आधा घण्टा हिंड्नुपर्छ। उकालो र ओरालो अप्ठ्यारो बाटामा आउजाउ गर्न धेरै गाह्रो छ।’ उनको अनुसार पहिल्यैदेखिको समस्या हो यो। नुहाइधुवाइ गर्न झन्डै २ घण्टा हिंडेर खोलामा पुग्नुपर्ने बाध्यता छ। यता अर्का ८३ वर्षका कल्चु रोकाया भन्छन्,‘डोकामा रित्तो गाग्री बोकेर कहिले यता र कहिले उता पुग्नुपर्छ। पानीको एकिन मुहान पनि छैन, धारामा पानी भर्न लाइन नबसी धरै पाइँदैन। एक गाग्री पानीका लागि बिहानभर समय बिताउँछौ।’

उनका अनुसार चुनावमा नेताहरूले भोट माग्दा पानीको समस्या समाधान गर्छौ भन्ने घोषणापत्रको विषय बनाएको बताए। ‘पानीको समस्या समाधान गर्छौ भन्ने आश्वासन दिए। नेताहरूले आफ्नो घोषणापत्रको मात्रै बनाए। तर केही पनि गरेनन्। फुङ्ग्र गाउँबासीलाई प्रयोग मात्रै गरे।’ उनले भने,‘हाम्रा मत पाएर सांसद्,मन्त्री र प्रधानमन्त्रीसम्म भए। ठावैमा पुगे तर हाम्रो समस्यालाई कहिल्यै प्राथमिकतामा पारेनन्।जिउँका तिउँ छ।’

‘हाम्रो फुङ्ग्र गाउँमा ठुला दलका नेताहरू छन्। तर, समस्या टरेन’,स्थानीय गोपाल रोकायाले भने। उनका अनुसार पानीको दुख पञ्चायतकालदेखि हो, अहिले देश संघीयतामा गयो,सिंहदरबारको अधिकार गाउँगाउँमा दिइएको छ। तर, अहिले पनि दुख उही छ। आजभोलि पनि तिनै चुनावी एजेन्डा बन्छ तर हिंड्दै छ, पाइला मेट्दै छ भन्ने नेपाली उखान सावित छ।

उनले भने, ‘गाउँ पारिपट्टि २० मिनेट लाग्ने सिमकाटन भन्ने ठाउँमा तिरतिरे धारो छ, त्यो पनि भरिलो छैन, फुङ्गग्र गाउँमा १ सय ५ घरधुरी छ,उनले गुनासो गरे। पुङ्ग्र गाउँमा भएको पुराना कुवाको संरक्षण पनि भएको छैन। संरक्षण मात्रै भए पनि केही मात्रामा सहयोग मिल्थ्यो, गाउँमा खानेपानीको हाहाकार छ।’

जीवनभर पानीकै संघर्ष गर्नुपरेको स्थानीय हिराबहादुर रोकाया बताउँछन। उनले भने,‘पूरै बस्तीमा खानेपानीको हाहाकार छ। हिउँदमा त झन् पानीको मूल र कुवा खोज्दै पानी बोक्नुपर्छ। सिंचाई गर्न आकाशे पानीको भर पर्नुपर्छ,स्थानीय परम्परागत कृषिमै निर्भर छन्,गाउँमा खानेपानी व्यवस्था गर्न र घरघरमा धारा ल्याउनुपर्छ भन्ने भावना कसैमा छैन। यसकारण पनि अहिलेसम्म यहाँका स्थानीयलाई जीवनभर पानीमै संघर्ष गर्नुपरेको हो।

गाउँ नजिकै पानीको मूल नरहेको र ठूलो योजना पनि नहुँदा समस्या भएको स्थानीय बताउँछन्। हिउँदमा त झन् बोकेरै भए पनि ल्याउने ठाउँ छैन, गाउँमा पानीको समस्याले खेतीयोग्य अधिकांश जमिन बाँझो रहेको छ। यता सोही गाउँ अगुवा तथा नेकपा एमालेका कर्णाली प्रदेश सदस्य नन्दराम रोकायाले गाउँमा खानेपानीको समस्या रहेको बताए। उनले गाउँको अगुवा र ठूलो दलको जिम्मेवारी पदमा पुगेको हैसियतले आफूलाई अप्ठ्यारो लागेको बताए। ‘तर, पहलकदमी नभएका होइनन्। थुप्रै भए,गरे दिगो हुन सकेनन्।’ उनले भने।

२०४६ सालमा छिमेकी गाउँ काडागाँ स्थानीयसँग मुहान मागेर समस्या टार्ने काम भयो। विडम्बना, ०६९ सालमा सामान्य विवाद भएपछि दिएनन्, पछि अर्को जोडु गाउँका स्थानीयलाई गुहारेपछि नुनखारको मुहानबाट पानी दिने कुरा भयो। त्यो  पनि  सम्भव भएन। संघीय सरकारको ६५ लाख रुपैयाँको योजना फिर्ता भयो। अहिले क्यापटा नामक गैरसरकारी संस्थाले लिफ्ट सिंचाईका माध्यमबाट पानी ल्याउने तयारी गरेको छ।

त्यो ९० लाखको लागतमा बन्दै छ,३० प्रतिशत काम भएको छ। गएको वैशाख १५ गतेदेखि काम भइरहेको छ, असार १५ गतेसम्म सक्नुपर्ने छ। पाइप लाइन बिछ्याइसकेको छ। अन्य काम तीव्र गतिमा हुँदै छ।

Next Post

बजेट अभावले प्याराफिट निर्माण अलपत्र

५ जेष्ठ २०८०, शुक्रबार २२:१५
जुम्लामा बन्न लागेको प्याराफिट अलपत्र बनेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालय जुम्लाको मैदानमा बनिरहेको प्याराफिट बजेट अभावका कारण अलपत्र अवस्थामा छ । आर्थिक बर्ष २०७६/०७७ देखि निर्माण सुरु भएको प्याराफिट निर्माणको काम सामान्य पिलर ठड्याउन बाहेक अरु हुन सकेको छैन् । प्याराफिट अलपत्र बन्दा खेलकुदका कुनै पनि क्रियाकलाप […]