जुम्ली किसानहरुको वर्षभरिको मिहिनेत खेर

  ।   १० जेष्ठ २०८०, बुधबार १०:०९

जुम्लामा सोमबार बेलुका परेको असिनापानीले स्याउ खेतीमा क्षति पुर्‍याएको छ। सिंजा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्र,गोरा र शनिगाउँमा असिनापानीले स्याउ खेतीमा क्षति पुर्‍याएको हो। सिंजा -६ का वडा अध्यक्ष लालबहादुर बुढाका अनुसार सोमबार साँझ ६ बजेतिर असिना परेको थियो। अध्यक्ष बुढाका अनुसार करिब आधा घण्टा सम्म लगातार परेको असिनाले सिंजा गाउँपालिका ५ र ६ वडामा बढी क्षति पुर्याएको छ।

‘केही स्याउमा स–साना दाना लागिसकेको थियो। केही बिरुवामा चिचिला पलाउँदै थियो,’ सिंजा -६ जोडुका स्याउ किसान जगत बहादुर बुढा भन्छन्, ‘यो वर्ष असिनाले स्याउ सखाप बनायो।’ असिनापानीले स्याउ खेतीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन्। बुढाको बगैँचामा ५ हजार बोट स्याउले फल दिँदै आएको थियो, यस पटक राम्रो फल लाग्ने उनको आस थियो। ‘मौसम पनि अनुकूल देखिएको थियो, बुढाले भने,एकै पटक आएको असिना पानीले किसानको आशा निराशामा बदलिदियो’।

हावाहुरीसँगै आएको असिनापानीले वर्षभरिको दुख खेर गएको अर्का किसान सिंजा- ६ भाडगाँउका सुदिप रावतले दुखेसो पोखे।’बगैँचाभरि स्याउका दाना र चिचिला मात्रै झरेका छन्। स्याउका बोट रित्तिएका छन्।’ रावत भन्छन्। उनका अनुसार असिनापानीले जिल्लाका अधिकांश किसानको स्याउ बगैँचामा धेरै मात्रामा क्षति पुगेको छ।

अर्का स्थानीय नरबहादुर बुढाले एउटै स्याउ बगैँचाबाट न्यूनतम ५ लाख रुपैयाँ कमाउँदै आएका थिए। यस वर्ष स्याउ लाग्ने समयमा असिना पानीले किसानलाई मर्कामा पारिदिएको छ।’असिनाले फल र पात झारेको छ। बिरुवा नाङ्गै भएका छन्। फल लाग्ने बेला स्याउ बगैँचा रित्तिएको देख्दा मन भक्कानिएर आएको छ।’ उनी भन्छन् ‘पछिल्लो समयमा स्याउ नै हाम्रा लागिसमृद्धिको आधार बनेको थियो। तर, स्याउ नै असिनाले झारेपछि यहाँका किसानहरू निकै मर्कामा छन्। स्याउ खेतीप्रति अहिले किसानहरू निरुत्साहित हुन थालेका छन्।’ उनका अनुसार स्याउको बिमा गरेका किसानलाई केही सहज भएता पनि अन्य किसानलाई जीविकोपार्जनमा समस्या हुनेसमेत देखिएको छ।

स्याउ मात्र होइन असिनाले यहाँका तरकारी बालीसमेत नष्ट गरेको छ। सबैभन्दा बढी स्याउ खेतीमा नोक्सान भएको छ। स्याउ खेतीमै आश्रित समुदायलाई यस वर्ष पेट पाल्नै धौधौ हुने अवस्था आएको कृषि विज्ञहरू बत्ताउँछन्। असिनापानीले स्याउसँगै आरु, ओखर, खुर्पानी लगायतका सबै फलफूलका बिरुवाको फूल र दाना झारिदएको छ। भित्र्याउनै आँटेको जौं, गहुँ बाली र टुसाएका मकै र आलु बाली पनि नष्ट गरेको छ। किसानले लगाएको आलु, काँक्रो, फर्सी, प्याज, गोलभेडा, काउली, गाँजर र खुर्सानीलगायतमा असिनाले क्षति पुर्‍याएको छ।जुम्लामा असिना पानीले करिब करोड रुपैयाँ बराबरको तरकारी तथा स्याउमा क्षति पुर्‍याएको छ।

Next Post

रोपाइँ गर्न जौं बाली भित्र्याउँदै जुम्ली किसान

१० जेष्ठ २०८०, बुधबार १०:०९
जुम्लाका किसान हिउँदे बाली जौ भित्र्याउनमा व्यस्त छन्। जौ काटेर कालीमार्सी धान राेप्न सुरु गर्नुपर्ने हुनाले किसानहरु यतिबेला व्यस्त छन्। बिहानदेखि बेलुका अबेरसम्म किसान खेतमा देखिन्छन्। ससानातिना बालबालिका देखि वृद्धहरु जौ काट्दै गरेको दृश्य देख्न पाइन्छ। बालबालिका दिउँसोको समय विद्यालय जाने गरेपनि विहान बेलुका जौ भित्र्याउन सहयोग गर्ने गरेको चन्दननाथ […]