जुम्ला ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक डाइलासिस सेवा सुरु भएको छ । मृगौला रोगीहरुलाई केन्द्रीत गर्दै डाइलासिस सेवा सुरु गरिएको हो । अस्पताल निर्देशक डा. पुजन रोकायाका अनुसार मेसिन जडान भइसकेर सेवा सुरु भइसकेको छ ।
जब मृगौला रोगीहरुको मृगौलाले काम गर्दैन् । शरीरका फोहोर चिजहरु फालिरहेको हुदैन् । उति नै बेला मृगौलाले गर्ने काम मेसिनले गरिरहेको हुन्छ । निर्देशक रोकायाले भने,’त्यही सेवा दिने हेतुले सुरु भएको डाइलासिस सेवाले कर्णालीका मृगौला रोगीहरुको लागि निकै राहत प्रदान गर्ने अपेक्षा गरिएको छ ।
उनले डाइलासिस सेवा लिनको लागि मृगौला रोगीहरुलाई आव्हान समेत गरे । मृगौला बिरामीहरु आउनुहोस । हामी सेवा दिन तयार भइसकेका छौं । उनले भने,‘यो सेवाले कर्णालीबासीको लाखौं रुपैयॉ जोगाउने छ । ’
डाइलासिस सेवा प्रदान गर्न विशिष्टकृत सेवा पढेको जनशक्ति छैन् । तर कर्णाली प्रतिष्ठानको जनशक्तिको भरपुर प्रयोग गरेर सेवा दिइनेछ । जसका लागि एक नर्सिङ अफिसर र दूई जना स्टाफ नर्सलाई तालिम दिइएर खटाइएको छ । उनीहरुले चिकित्सकहरुको निगरानीमा सेवा दिनेछन् ।
निर्देशक रोकायाले भने,‘जुम्लामा मृगौला पिडितहरुको तथ्यांक राखिएको छैन । तर बिरामीहरु आइरहेका हुन्छन् । यो सेवाले मृगौला पिडितहरुको तथ्यांक राख्न सहज हुनेछ । ’ यो सेवा अस्पतालले निशुल्क रुपमा प्रदान गर्ने भएपनि आउजाउ गर्न र डेरा लिएर बस्नुपर्दा मृगौला रोगीहरु निकै महंगोमा सेवा लिइरहेका देखिन्छन् । यसअघि सुर्खेत,नेपालगञ्ज र काठमाण्डौंका सुविधा सम्पन्न अस्पताल सम्म पुगेर मृगौला रोगीहरुले डाइलासिस सेवा लिइरहेका थिए । उनीहरुले अब घरपायक सेवा पाउने भए । यो खुसीको कुरा हो,निर्देशक रोकायाले भने ।
सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा मेसिन दिइएको छ । जसमा २ मेसिन मात्र प्रयोगमा ल्याइएको छ । बिरामीको चाप अनुसार मेसिनहरु जडान गरेर सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ ।
हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सिटी स्क्यान,एक्सरे,डाइलासेस,हाडजोर्नी,नसारोग,बालरोग,स्त्रीरोग,नाक,कान,घॉटी र छाला रोग सम्बन्धिको सेवा दिइरहेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले डाइलासिस सेवा मृगौलाका बिरामीहरुका लागि सुखद सन्देश भएको प्रतिक्रिया दिएका छन । उनले मृगौलाका रोगी डाइलाइसिस गर्न काठमाडौ, सुर्खेत नेपालगंज जान पर्ने बाध्यता अन्त्य हुने बताए । उनले सामाजिक सञ्जाल फेसवुकमा डाइलासिस सेवाको भरपुर प्रयोग गर्न मृगौला रोगीहरुलाई अपिल गर्दै अब मृगौला रोगीहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउन निम्तो दिएका छन ।
उनले भने,‘कुनै बेला सिटामोलको टाटो नपाएर छटपटिरहेको कर्णालीमा अहिले मृगौला रोगीहरुको उपचार गर्ने सम्म पुग्नु चानचुने कुरो होइन् । जति सक्दो छिटो सेवा लिन आग्रह गरिएको छ । ’