किसानको गुनासो: किसान हुँ भन्दा लाज लाग्ने अवस्था छ

  ।   २७ आश्विन २०८०, शनिबार ०६:४५

कृषिप्रधान देश नेपालको करिब ७० प्रतिशत जनसंख्या कृषिमा निर्भर छ। तर, कृषिमा लागेका किसान भने आफूलाई किसानको पहिचान दिन हिचकिचाउँछन्। उनीहरु आफूलाई किसान भनेर चिनाउन चाहँदैनन् अर्थात् शिर ठाडो पारेर किसान हुँ भन्न सक्दैनन्।

कारण–कृषकप्रति आम मान्छेको धारणा सकारात्मक नहुनु, किसानलाई उचित सम्मान नगर्नु, कृषिबाट भएको आम्दानीले सहजै जीवनयापन नचल्नु लगायत। त्यतिमात्र होइन किसानका नाममा झोले किसानले मच्चाएको आतंक, राज्यले गर्ने विभेद लगायतका कारण पनि आफूहरु किसान भनेर चिनिन नचाहेको उनीहरुको गुनासो छ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले गरेको छलफलमा किसानले भने, ‘किसान हुँ भन्दा पनि लाज लाग्ने अवस्था छ।’ कृषि उपज थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक महेन्द्रसिंह थापा अहिले म कृषक हुँ भनेर भन्न सक्ने अवस्था नरहेको बताउँछन्।

‘कृषक हुँ भन्न पनि लाज लाग्छ,’ उनले भने, ‘न कृषकलाई सम्मान छ, न परिचय छ। नत कृषकको वर्गीकरण नै छ। त्यसैले कृषकको परिचयपत्र बोकेर हिँड्ने अवस्था अहिले छैन।’ उनले अहिलेको निर्वाहमुखी कृषिले परिवार पालिने स्थिति नरहेको समेत दाबी गरे।

कृषक कविराज खनाल कृषिलाई माथि उकास्न बिचौलिया लखेट्नुपर्ने बताउँछन्। ‘कृषक बचाउने हो भने पहिले बिचौलिया लखेट्नुपर्छ,’ उनले भने, ‘बिचौलियाका कारण किसान मरेका छन्। उनीहरुले उत्पादनको मूल्य पाएका छैनन्।’ अहिलेको बजार प्रणाली किसान मर्ने बिचौलिया मोटाउने खालको रहेको उनको टिप्पणी छ।

सुकिलामुकिलालाई मात्र सम्मान दिने समाज रहेसम्म किसानले निर्धक्का साथ किसान हुँ भन्न सक्ने स्थिति नबन्ने किसानको भनाई छ। ‘सम्मान पाउन सुकिलामुकिला भएर हिंड्नुपर्छ,’ एक जना किसानले भने, ‘तर हामीलाई त काम गर्दा फुर्सद नै हुँदैन।’ कर्मको आधारमा सम्मान दिने समाज निर्माणमा लाग्नुपर्ने उनले बताए।

कृषक बुद्धिसागर पौडेलले किसानलाई योगदानको आधारमा पेन्सनको व्यवस्था गर्न सके किसानप्रति सम्मान भाव जाग्ने बताए। ‘किसानलाई पेन्सन दिऔं,’ उनले भने, ‘त्यसपछि छिमेकी देश लगायतबाट आउने सामानमा प्रतिबन्ध लगाऔं। त्यसो भयो भने किसानले उत्पादनको मूल्य पाउँछ। अनि किसानको आम्दानी बढ्छ र सम्मान पनि थपिन्छ।’

नवलपुर बर्दघाटकी कृषक शान्ति महतोले किसानलाई बैंकले समेत ऋण नदिएर हेप्ने गरेको बत्ताइन्। किसानलाई सम्मानका साथ ऋण समेत दिईंदैन,’ उनले भनिन्, ‘अनि कसरी उत्पादन हुन्छ? कृषक कसरी बलियो हुन्छ? किसानले कहिले सम्मान पाउँछ?’

मौरीपालक कृषक चण्डीप्रसाद लामिछानेले आवश्यकता र मागबीच तादत्म्यता नमिल्दा किसान मारमा पर्ने गरेको बताए। अर्का किसान विनोद भुषालले झोले किसानका कारण वास्तविक किसान मारमा परिरहेको बताए। ‘वास्तविक किसानले न लोन, न अनुदान पाउँछ,’ उनले भने, ‘झोले किसानले गर्दा समाजमा किसानप्रति हेर्ने दृष्टिकोण सकारात्मक बनेन।’

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.सहदेवप्रसाद हुमागाईंले कृषिलाई आत्मनिर्भर बनाउँदै कृषकको आर्थिक अवस्था सुधार्नुपर्ने बताए। दलहन, तेलमा आत्मनिर्भर बन्ने क्रममा रहेको तथा फलफूल र तरकारीमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको उनले बताए।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासु रेग्मीले युवालाई कृषिमा आकर्षित गर्ने, तालिम दिने, सीप सिकाउने, बिजुली बत्तीको शुल्कमा अनुदान दिने, कोल्डस्टोर खोल्ने लगायतका कार्य गरिने बताए। ‘स्थानीय उत्पादनलाई पनि बढावा दिऔं। स्थानीय उत्पादन किनेर खाने बानीको पनि विकास गरौं,’ उनले भने।

Next Post

भेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट १७ दिनमा बेनी

२७ आश्विन २०८०, शनिबार ०६:४५
कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन्।जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७ औं दिनमा म्याग्दीको सदरमुकाम बेनी आइपुगेका हुन्। ‘हामी गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौं’, उनले […]

सम्बन्धित