दसैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

  ।   २९ आश्विन २०८०, सोमबार ०७:२२

काठमाडौँ — यस वर्षको दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिन लागेको हो ।

गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेको हो । गत वर्ष राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थालाई र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको थियो ।

‘विगतका वर्षहरूमा झैं यस वर्ष पनि नयाँ नोट सटहीका लागि काठमाडौं उपत्यकाभित्रको हकमा असोज २९ देखि राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग र वाणिज्य बैंकहरूका तोकिएका शाखा कार्यालयमार्फत समेत नयाँ नोट सटही सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको हुँदा बैंकहरूले तोकेको नजिकको शाखामार्फत नोट सटही गर्नुहुन सबैलाई सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘काठमाडौं उपत्यकाबाहिरका हकमा राष्ट्र बैंकका प्रादेशिक कार्यालय वा वाणिज्य बैंकले तोकेका कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सटही सुविधा लिन सकिन्छ ।’

१८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एक/एक बन्डल हो । यस वर्ष नयाँ नोट लिन आउने सर्वसाधारणलाई राष्ट्र बैंकले क्यूआर कोडमार्फत भुक्तानी गर्न आग्रह गर्ने जनाएको छ । बाँकी पृष्ठ १०ड

डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्भव भएसम्म धेरैभन्दा धेरै भुक्तानी क्यूआरमार्फत गर्न आग्रह गर्ने तयारी रहेको स्रोतले बताएको छ । क्यूआर कोडमार्फत भुक्तानी गर्नेबाहेकले नयाँ नोट सटही सुविधा पाउँदैनन् भन्ने होइन, सबैले पाउने राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ ।

दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै बिक्री हुँदै आएको छ ।

Next Post

दसैंको मुखमा डोल्पामा चामल अभाव, प्रतिव्यक्ति ६० केजी चामल

२९ आश्विन २०८०, सोमबार ०७:२२
डोल्पा र जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा एक गेडा चामल नभएको पाइएको छ। डोल्पाको सदरमुकाम दुनैमा रहेको केही सीमित चामलबाट प्रतिव्यक्ति ६० केजीका दरले चामल दिने गरिएको छ। जाजरकोट सदरमुकाममा चार सय ५० क्विन्टलमात्र अघिल्लो वर्षको बाँकी रहेको चामल वितरण भइरहेको छ। डोल्पामा नयाँ ठेक्काको सबै […]