सिंजाका स्थानीय सरकार बालविवाहविरुद्ध मैदानमा

  ।   १४ पुष २०८०, शनिबार १३:५३

जुम्ला — बढ्दो बालविवाहले समाजमा नकरात्मक असर पार्न थालेपछि जुम्लाको सिंजा क्षेत्रका तीन स्थानीयतहले बालविवाह विरुद्धको अभियान थालेका छन् । उनीहरुले बालविवाहले पारेको प्रभाव अध्ययन गरेर न्यूनीकरणका उपाय अबलम्वन गर्दै अघि बढेका हुन । सिंजा क्षेत्रमा रहेका हिमा, सिंजा र कनकासुन्दरीमा बालविवाहविरुद्धका क्रियाकलापहरु घनिभूत रुपमा भइरहेका हुन् ।

बालविवाह अन्त्य गर्न किशोरकिशोरी समूह, महिला सञ्जाल, दलित सञ्जालहरु, अपांगता भएका व्यक्तिहरुदेखि सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु र स्थानीय सरकार लागि परेका छन् । बालविवाहले बहुविवाह निम्त्याएको, किशोरीहरुको स्वास्थ्यमा असर देखिएको, घरेलु हिंसा बढेको, बच्चाहरु रोगी जन्मनुका साथै शिशु मृत्यु दर बढ्न थालेकाले सुक्ष्म अध्ययन गर्ने कार्य भइरहेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

पहिलो चरणमा तीनवटै स्थानीयतहमा बालविवाहको अवस्था अध्ययन गरिएको छ । अध्ययन प्रतिवेदनले बालविवाहको अवस्था भयाभह देखाएको छ । प्रतिवेदनका अनुसार तीन वर्ष यता हिमा गाउँपालिकामा मात्रै एक हजार १ सय ७ जनाको विवाह भएकोमा ७ सय ५५ जनाको बालविवाह भएको तथ्यांकमा छ ।

प्रतिवेदन अनुसार सिंजामा ३ सय १ जनाले विवाह गरेकोमा १ सय ८४ जनाले बालविवाह गरेका छन् । सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल बालविवाह रोक्ने प्रयास निरन्तर भइरहेको बताए । उनका अनुसार प्लान नेपाल र क्याड नेपालको सहयोगमा सन २०२० देखि बालविवाहको अध्ययन प्रतिवेदना बनाउन थालिएको थियो ।

कनकासुन्दरीमा तीन बर्षमा एक हजार ५३ जोडीले विवाह गरेकोमा ५ सय ७१ जनाले बालविवाह गरेका छन् । प्रतिवेदनमा उल्लेख भएको तथ्यांक हेर्दा बालविवाह घट्दो क्रममा देखिएपनि अझै बालविवाहको अवशेष बाँकी रहेको देख्न सकिन्छ ।

पहिले अभिभावकको करकापमा हुने बालविवाह अहिले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण भइरहेको छ । किशोरकिशोरीहरु उमेर नपुग्दै फोन, फेसबुकमा भेट भएकै आधारमा भाग्ने गरेको तथ्यांकले बताइरहेको छ ।

अहिलेको तथ्यांकले सिंजाको तीन स्थानीयतहमा बालविवाह धेरै हुने कनकासुन्दरीमा देखिएको छ । हिमा गाउँपालिका–३ मा भने बालविवाह शुन्य देखिन्छ । वडाध्यक्ष रतनबहादुर शाही बालविवाह रोक्न किशोरकिशोरी नै लागि परेको, अभिभावकले पनि बालविवाहलाई प्रश्रय नदिइएको बताउँछन् ।

उमेर नपुग्दै गरिएको विवाहमा जनप्रतिनिधि उपस्थित नहुनेदेखि बस्तीस्तरसम्म पुगेर सचेतना फैलाउन काम भइरहेको उनले बताए । हिमाले शुन्य बालविवाह भएको वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी थालेको छ । २० वर्ष माथि उमेर पुगेर विवाह गर्ने चेलीलाई कोसेलीसहित सम्मान गर्ने अवधारणा समेत ल्याएको वडाध्यक्ष शाहीको भनाई छ ।

सिंजा–२ ले पनि बालविवाह मुक्त वडा घोषणाको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ । वडाध्यक्ष तीर्थ वडले वडापालिकाको सिफारीस लिएर मात्रै विवाह गर्न पाइने नीति ल्याइएको बताए । उनका अनुसार टोलटोलमा बालविवाह विरुद्धका कार्यक्रमहरु भइरहेका छन् ।

क्याड नेपालका कार्यक्रम व्यवस्थापक अजय महराका अनुसार विद्यालय बाहिर रहेका वालवालिका विद्यालयमा पुर्‍याउने, बालविवाहमुक्त पालिका घोषणा गर्नेदेखि किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जनचेतना दिने काम चलिरहेको छ ।

समाजमा रहेका धर्मगुरुहरु संग अर्न्तरक्रिया,पुरानो पुस्ता र नयाॅ पुस्ताबीच संवाद गर्ने र विद्यालयमा बालविवाह न्यूनीकरणका विषयमा पटक पटक क्षमता अभिवृद्धिका काम भइरहेको उनको भनाइ छ । बालविवाहविरुद्ध देउडा खेल्ने, छलफल चलाउनेदेखि बालविवाह गर्दा हुने कानुनी व्यवस्थाको बारेमा समेत सिंजाका तीन स्थानीयतहमा बारम्वार छलफल चलिरहेको छ ।

Next Post

ब्रिगेडियर कमान्डरको सपना देखेका चन्द्रबहादुर अटोरिक्सा चालक

१४ पुष २०८०, शनिबार १३:५३
जुम्ला — तातोपानी–४ हाँकु गाउँका चन्द्रबहादुर डाँगी एसएलसी उत्तीर्णपछि २०५८ जेठ १९ गते भूमिगत भए, माओवादीका निम्ति । त्यतिबेला उनलाई कम्युनिस्ट आन्दोलन र माओवादीको पार्टी नीतिबारे केही थाहा थिएन । ‘भूमिगत भएपछि मात्रै बुझ्ने अवसर पाएँ,’ उनले भने । १५/१६ वर्षको उमेरमा माओवादीले रातो र कालो व्यवस्थामध्ये एक रोज्न दबाब दिएपछि आफू माओवादी […]

सम्बन्धित