संगठनलाई समय सापेक्ष चलायमान राख्न महानिरीक्षक अर्यालको निर्देशन

  ।   २१ पुष २०८०, शनिबार १६:५९

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल जुम्ला आइपुगेका छन । उनी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाको नवनिर्मित भवनको उद्घाटन गर्न जुम्ला आइपुगेका हुन ।
उनले तातोपानी ५ हियाखोलास्थित नवनिर्मित गणपति निवास,कार्यालय भवन,क्वाटरगार्ड,विल्लादार जवान ब्यारेकको एकसाथ उद्घाटन गरेका हुन । भवन उद्घाटन गर्दै महानिरीक्षक अर्यालले हरेक काम संवेदनशील भएर गर्नुपर्ने बताए । उनले भने,‘२०७२ सालदेखि जुम्लामा सशस्त्र प्रहरी बस्दै आएपनि आफ्नै भवनहरु थिएन । जग्गादाताहरु,स्थानीय सरकारहरु,सरोकारवालाहरु र सशस्त्र प्रहरी बलका सक्कल दर्जाका कर्मचारीहरुको साथ सहयोग र मेहनतको प्रतिफलले यी भवनहरु संभव भएका हुन । सवैप्रति म आभारी छु । ’
महानिरीक्षक अर्यालले संगठनलाई समय सापेक्षा अनुसार चलायमान राख्न समेत निर्देशन दिए । अनुशासित मर्यादित भएर नै यी कामहरु भएका हुन । उनले भने,‘कामलाई फौजीपारामा ढालेर राष्ट्र र राष्ट्रबासीको सेवामा लगाउनुहोला । यही नै असल काम हुनेछ । ’
सशस्त्र प्रहरीको जिम्मेवारी अहिले निकै फराकिलो भएको छ । स्थान विशेषमा सुरक्षा चुनौति पनि धेरै छन । हरेक कमाण्डरले बौद्धिक रुपमा इमान्दार, नैतिकवान र कर्तव्यनिष्ट बन्दै अगाडी बढ्नुपर्ने उनको भनाइ थियो ।
सशस्त्र प्रहरी सरुवा,बढुवा लगायतमा देखिएका समस्या सुधारका कार्यहरु पाइपलाइनमा भएको बताउदै महानिरीक्षक अर्यालले सकरात्मक सोचका साथ अघि बढ्न आग्रह गरे । उनले सशस्त्र प्रहरी जनताको असल रक्षक र सेवक हो भन्ने देखाउन समेत निर्देशन दिए ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले निकै कठिन र चुनौति मोलेर सशस्त्र प्रहरीको क्याम्प स्थापना भएको बताए । उनले भने,‘यो कार्यमा साथ दिने सबै धन्यवादका पात्र हुन । ’हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले विपद तथा प्रकोपको बेला सशस्त्र प्रहरी सारथी भएको स्मरण गराउँदै आगामी दिनमा नागरिक र सशस्त्र प्रहरी बिचको सम्बन्ध सुमधुर हुदै जाने बताए । उनले नाग्म गमगडी सडकको बिचमा सशस्त्र प्रहरी बेस क्याम्प राख्नको लागि आग्रह समेत गरेका थिए ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले तातोपानीमा सशस्त्र प्रहरी गण स्थापना गर्न निकै कठिन भएको बताए । उनले भने,‘तातोपानीमा सशस्त्र क्याम्प हुन नदिन अनेकन षडयन्त्रहरु भए तर हामीले साथ सहयोग गरेर क्याम्प राख्न सफल भयौं । ’
भवन उद्घाटनका क्रममा जग्गादाता,भवन निर्माणमा संलग्न निर्माण व्यवसायीहरु,आर्थिक तथा नैतिक सहयोग गर्ने निकाय तथा कार्यालयहरु,व्यक्तिलाई समेत प्रसंसा पत्र प्रदान गरिएको थियो ।
गणपति चेतराज जोशीले लामो समयपछि सशस्त्र प्रहरी आफ्नै भवनमा सर्न सफल भएको भन्दै खुसी व्यक्त गरे । उनले महानिरीक्षक अर्याल सामु भवन निर्माणको प्रतिवेदन समेत पेस गरेका थिए । महानिरीक्षक अर्याललाई सांस्कृतिक प्रस्तुतीका साथ स्वागत गरिएको थियो ।

Next Post

जुम्लामा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट पाठ्यघरको अप्रेसन

२१ पुष २०८०, शनिबार १६:५९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक ल्याप्रोस्कोपी प्रविधिबाट पाठ्यघरको सफल अप्रेसन गरिएको छ । तातोपानी गाउँपालिका–४ गिडीखोलाकी ३५ वर्षीया सम्झना पाण्डेको पाठेघरको अप्रेसन ल्याप्रोस्कोपी प्रविधिबाट गरिएको हो । १७ वर्षको कलिलै उमेरमा विवाह गरेकी पाण्डेलाई पाठेघरको संक्रमण भएको थियो । उनका दुई वटा बच्चा जीवित छन् भने […]