ओखर बेचेर गुजारा

  ।   २४ पुष २०८०, मंगलवार १०:४७

पातारासी गाउँपालिका ६ उर्थुकी लक्ष्मी विष्ट सदरमुकाम खलंगाको बाल मन्दिरनजिकै बसेर दाँते ओखर बिक्री गरिरहेको भेटिइन्। चन्दननाथ नगरपालिका १० सिलामकी कालिका शाही पनि जुगाड पुलमा बसेर ओखर बिक्री गरिरहेकी थिइन्।

यतिखेर लक्ष्मी र कालिकाहरु मात्र होइनन्, दर्जनौं किसान र व्यापारी बिहानैदेखि सदरमुकाम खलंगाका बसपार्क, जुगाड पुल, बजार र बालमन्दिर चोकवरपर बसेर ओखर बेचिरहेका हुन्छन्। सिजनमा एकजना किसानले दाँते ओखर बेचेर लाखौंसम्म आम्दानी गर्छन्। प्रतिगोटा १० रुपैयाँमा दाँते ओखर बेच्दै आएकी लक्ष्मी एक महिनामै एक लाख रुपैयाँ कमाउँछिन्।

लक्ष्मीले आफ्नो बारीमा ५० देखि ६० वटा ओखरका बोट रहेको बताइन्। उनले भनिन्, ‘अझै ७०-८० हजारजतिका ओखर बिक्री गर्न बाँकी छ।’ आगामी वर्ष तीन लाख रुपैयाँसम्म कमाउने गरीे गोडमेलमा ध्यान दिने उनी बताउँछिन्। उनी छोराछोरीको शिक्षादीक्षादेखि दैनिक घर खर्च पनि ओखर बिक्री गरेर कमाउँछिन्। उनी भन्छिन्, मैले प्रतिकिलो नौ सय रुपैयाँसम्म बिक्री गरेकी छु।’

यस्तै कालिका पनि दाँते ओखर बेच्न हरेक दिन सदरमुकाम खलंगामा आउँछिन्। आधा घन्टा पैदल हिँडेर सदरमुकाम आउने गरेको उनी बताउँछिन्। प्रतिगोटा १० रुपैयाँमा ओखर बेच्दै आएको उनले बताइन्। एक महिनाअघि घरमै ५० हजार रुपैयाँ आम्दानी गरिसकेको उनले अनुभव सुनाइन्। उनले मंगलबार ओखर बिक्री गरेर पाँच हजार रुपैयाँ कमाइन्।

शाहीले आफ्नो बारीमा आठवटा दाँते ओखरका बोट रहेको बताइन्। उनी भन्छिन्, अझै १०-१५ हजारबराबरको ओखर बिक्री गर्न बाँकी छ। बेच्न ल्याएको ओखर नबिकेर फिर्ता लैजानुपरेको छैन, आन्तरिक र बाह्य पर्यटकको रोजाइ नै ओखर रहेको छ।’

चन्दननाथ नगरपालिका ४ भारतीवाडास्थित रारा अर्गानिक पसलका सञ्चालक अर्जुन बुढा दसैंयता तीन लाखको मात्रै दाँते ओखर बिक्री भएको बताउँछन्। उनी भन्छन्, ‘जिल्ला बाहिर जानेले नासोका रूपमा ओखर लैजाने चलन छ। सुर्खेत, नेपालगन्ज, बुटवल, पोखरा, चितवन र काठमाडौंका बजारमा ओखर पठाइरहेका छन्।’

ओखरका बिरुवा सुरुको चरणमा हुुर्काउन दुःख हुन्छ तर हुर्केपछि खासै दुःख नहुने जुम्लाका किसान बताउँछन्। कम मेहनतमै बढी आयआर्जन हुने खेती ओखर भएको उनीहरूको अनुभव छ। जुम्लाका आठवटै स्थानीय तहमा यसको खेती हुँदै आएको छ। एउटै बोटमा पाँच हजार रुपैयाँसम्मको ओखर फल्ने गरेको उनीहरूको भनाइ छ।

पछिल्लो समय जुम्लाका किसान बाँझो जमिन उपयोग गर्दै ओखर खेतीमा आकर्षित भएका छन्। कसैले ओखरको बिरुवा बेच्छन् त केहीले ओखरका दाना बेचेर राम्रो आम्दानी गर्न थालेका छन्। ओखरका लागि जुम्लाको हावापानी अनुकूल छ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले ओखर खेती जुम्लाको आर्थिक उपार्जनको माध्यम बन्दै गएको बताए। उनी भन्छन्, ‘कृषिले ओखर खेती विस्तारमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। किसान पनि खेती विस्तारमा लागेका छन्। स्याउपछि ओखर खेतीको राम्रो सम्भावना छ।’

देवकोटाले जुम्लामा पाँच सय ९० हेक्टरमा ओखर खेती भएको बताए। ओखर असोजमा टिप्न उपयुक्त हुन्छ। हिउँदमा मलखाद व्यवस्थापन राम्रो गर्न नसके रोगकीरा संक्रमण नहुने उनले बताए। स्थानीय सरकारले अनुदान व्यवस्था गरी किसानलाई ओखर खेती  गर्न प्रेरित गर्नुपर्ने उनको भनाइ छ।

Next Post

कर्णालीको हिमाली बस्तीमै हिउँको प्रतीक्षा

२४ पुष २०८०, मंगलवार १०:४७
सोरु गाउँपालिका–२ सिउत्तीकुच्चाका मिमबहादुर मल्ललाई आउँदो वर्ष अनिकाल हुने पीर लाग्न थालेको छ । हिउँदे वर्षा र हिमपातको पर्खाइमा रहेका उनी अझै दुई साता मौसम यस्तै रहे उच्च पहाडी क्षेत्रमा बालीनाली उत्पादन नहुने चिन्तामा छन् । गाउँमा व्यावसायिक स्याउ खेती गरेका उनले आउँदो वर्ष उत्पादन घट्ने अनुमान थालिसकेका छन् । आधा पुससम्म पनि […]

सम्बन्धित