कोेसेलीघरमा आगलागी हुंदा लाखौंका अर्गानिक बस्तु नष्ट

  ।   ७ माघ २०८०, आईतवार ०९:०५


जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित खलंगा बजारमा खोलिएको अर्गानिक कोसेली घरमा आगलागी हुंदा लाखौं मुल्य बराबरको अर्गानिक सामानहरु जलेर नष्ट भएको छ । अर्गानिक पसलमा राति १ बजे विद्युत सट भएर आगलागी भएको थियो । आगलागीबाट अर्गानिक कोसेलीघर पुर्ण रुपमा जल्नुको साथै संगै जोडिएको चियापसल र उद्योग बाणिज्यसंघ जुम्लाको भवनमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।


कोसेलीघरका सञ्चालक गोविन्द आचार्यले आगलागी भएको खबर राति साढे १ बजेतिर मात्रै आफुलाई थाहा भएको बताए । उद्योग बाणिज्य संघको हल संगै टॉसिएको चन्दननाथ भैरबनाथ मन्दिरको जग्गामा एक कोठाको कच्ची भवनमा अर्गानिक कोसेलीघर स्थापना गरिएको थियो । आगलागी हुंदा ३५ लाख बराबरको सामान नष्ट भएको आचार्यले बताए ।


नेपाली सेनाका अनुसार घरमा विद्युत तार सटभइ आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट उद्योग बाणिज्य संघको झ्याल समेत जलेको छ । नेपाली सेनाको नन्दाबक्स गण,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा झण्डै डेढ घण्टामा आगो नियन्त्रणमा लिइएको थियो । नेपाली सेना नन्दाबक्स गणका उप सेनानी सन्तोष के.सीको कमाण्ड नेपाली सेना,सशस्त्र प्रहरी नायब उपरिक्षक दिपक चन्द र जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरको नेतृत्वमा टोली आगो नियन्त्रणमा खटिएको थियो ।

आगो नियन्त्रणमा चन्दननाथ नगरपालिकाको दमकल समेत प्रयोग गरिएको थियो । आगलागीबाट ४ क्वीन्टल जुम्मो,एक लाख ५० हजार दाना दाते ओखर,३० केजी स्याउको चाना,राडीपाखी,खरायोको टोपी,भोटे कपडा,गलैचा गरि ७ लाख ५० हजार मुल्य बराबरको सामान नष्ट भएको प्रहरीले नजनाएको छ ।


मार्सीचामल,सिमी,कादो,जौं,मकै,भट्मास,फापरको पिठो गरेर ४ लाख ५० हजार र जडिबुटी चिया मात्रै ३० हजार रुपैयॉ बराबरको सामान नष्ट भएको हो । दयारको तेल,ओखरको तेल गरेर ३० हजारको तेल जलेको हो । कोसेली घरभित्रको सबै सामान पुर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।


कोसेली घर सञ्चालक आचार्यले आगलागीका कारण ठुला क्षेति पुगेको बताए । उनले भने,‘परिवार पाल्ने नै कोसेली घर थियो । आगोले सबै जलाइदियो । अब कसरी गुजारा चलाउने होला । ’ आगो नियन्त्रणका क्रममा अर्गानिक सामानहरु यत्रतत्र छरिएर राखिएको थियो । कोसेलीघरभित्रको कुनै पनि सामान काम नलाग्ने अवस्थामा रहेको उनको भनाई छ ।

Next Post

बालविवाह : पहिले रहर,अहिले पछुतो

७ माघ २०८०, आईतवार ०९:०५
एउटा नै भनाइ छ, ‘हतारमा बिहे फुर्सदमा पछुतो।’ यहाँका जोडीलाई अहिले यस्तै भएको छ। त्यस्तै सरकारले गर्ने गरेको ‘बिहेवारी २० वर्षपारि’ भन्ने प्रचार पनि उनीहरूमध्ये कतिले सुनेनन् भने केहीले सुनेर पनि वास्ता गरेनन्। उनीहरूले सानै उमेरमा बिहे गरे। समय बित्दै गएपछि सानो उमेरमा गरिएको बिहेका समस्या अहिले देखा परिरहेका छन्, […]