जुम्लाको स्याउ बगैंचामा कृषि प्राविधिक

  ।   १२ माघ २०८०, शुक्रबार ११:४१

बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न सिकाउने उद्देश्यले कृषि प्राविधिक किसानका स्याउ बगैंचामा पुग्न थालेका छन्।

बगैंचामै पुगेर उनीहरूले स्याउ उत्पादन वृद्धि गर्नका लागि बगैंचा व्यवस्थापन र काँटछाँटमा ध्यान पुर्‍याउन आग्रह गरेका हुन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाले कार्य क्षेत्रभित्रका अधिकांश किसानका बगैंचामै पुगेर स्याउ बगैंचाको व्यवस्थापन गर्न सिकाउन थालेको हो।

कृषि विकास कार्यालय जुम्लाको आर्थिक वर्ष २०८०-८१ को स्वीकृत कार्यक्रमअनुसार स्याउ बगैंचा व्यवस्थापनअन्तर्गत किसानलाई चुना र निलाथुतो पनि वितरण गरिएको थियो। कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुष्मा बुढा किसानलाई स्याउ बगैंचामै पुगेर काँटछाँट र व्यवस्थापनको व्यावहारिक अभ्यास गर्न थालिएको बताउँछिन्। उनले भनिन्, ‘बगैंचामै पुगेर अभ्यास गराउँदा किसान छिटो सिक्छन्। आपसमा बगैंचा व्यवस्थापनबारे अनुभव आदानप्रदान गर्छन्। गुणस्तरीय स्याउ उत्पादनका लागि जोड दिन्छन्। बगैंचामै पुगेर व्यवस्थापन गर्दा किसानको हौसलासमेत बढ्छ।’

तिला गाउँपालिका १ रारा सेरी गाउँका किसानको बगैंचामा स्याउ बगैंचा व्यवस्थापनको व्यावहारिक अभ्यास गरिएको हो। जुम्लाका अन्य गाउँपालिकामा पनि किसानको बगैंचामै कृषि प्राविधिक पुगेर सीप सिकाउन थालेको उनी बताउँछिन्।

बुधबार र बिहीबार मात्रै कृषि प्राविधिकले ६० जना किसानलाई व्यवस्थापन र काँटछाँटको व्यावहारीक ज्ञान दिएका हुन्। बगैंचामै बोलाएर व्यवस्थापन गर्न सिकाउँदा किसानहरू निकै लाभान्वित भएका छन्। बिरुवा लगाउनेदेखि काँटछाँट, मलखाद प्रयोग, निलोथुतो र बोडो पेस्ट लगाउने लगायतका विषयमा किसानलाई सहजीकरण गर्ने गरिएको कृषि प्राविधिक सुष्माले बताइन्।

किसानले स्याउ लगाएपछि बिरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिँदा हुने हानिका विषयमा छलफल हुने गरेको बताउँछन्। ‘अहिले बगैंचामै पुगेर व्यवस्थापन तथा काँटछाँटको सीप सिकाउँदै आएका छौं। किसान पनि निकै जागरुक भइसकेका छन्’, उनले भने, ‘बगैंचाभित्र देखिएका समस्याका बारेमा किसानले राय लिन्छन्।’

कृषि प्राविधिकले समस्या समाधानका लागि गर्नुपर्ने कार्यका बारेमा किसानलाई सुझाव दिने गरेको उनले बताइन्। उनले भनिन्, ‘यो कार्यले किसान र कृषि प्राविधिकबीचको सम्बन्ध प्रगाढ हुने गरेको छ। एउटा बिरुवाले कसरी गुणस्तरीय फल दिन्छ भन्नेबारेमा सीप सिकाइन्छ। बिरुवा व्यस्थापनका चरणसमेत बताउने गरिएको छ।’

जति राम्रो बगैंचा व्यवस्थापन हुन सक्यो, उत्तिनै राम्रो स्याउले उत्पादन दिने उनले बताइन्। गुणस्तरीय स्याउ फलाउने गरी व्यवस्थापन गर्न सकेको खण्डमा बजार अभाव हुँदैन। ‘व्यापारी बगैंचामै पुगेर स्याउ उठाएर लैजान्छन्। किसानले राम्रो आम्दानी गर्न सक्छन्। बगैंचा व्यवस्थापन र काँटछाँटको मर्म पनि यही हो।’

कृषि प्राविधिक बगैंचामै पुगेर सीप दिन थालेपछि किसान उत्साहित बनेको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकाया बुढा बताउँछन्। उनले भने, ‘किसानको जीवनस्तरमा परिवर्तन ल्याउन यो सीप प्रभावकारी छ। स्याउ खेतीमा किसानको आकर्षणसमेत बढाउने गरेको छ।’

उनले स्याउ व्यवस्थापन र काँटछाँट गर्न किसान आफैं परिपक्क हुनुपर्नेमा जोड दिए। अध्यक्ष रोकायाले भने, ‘जुम्ला स्याउ खेतीको निकै सम्भावना बोकेको क्षेत्र हो। सही रूपमा स्याउ बगैंचाको व्यवस्थापन र काँटछाँटमा प्राथमिकता दिनुपर्छ। स्याउ नै यहाँको आर्थिक समृद्धिको आधार बन्ने निश्चित छ।’

यता स्याउ सुपरजोन परियोजनले पनि किसान बगैंचामा पुगेर सहजीकरण गर्दै आइरहेको सुपरजोनका प्रमुख खेमराज शाहीले बताए। सुपरजोन जुम्लामा लागु भएपछि स्याउ खेतीमा हुने हरेक समस्याका बारेमा किसानले सहजै रूपमा परामर्श लिन सक्ने भएका छन्।

तिला गाउँपालिका १ छक्क बुढाले स्याउ खेतीले परिवारमा खुसी ल्याएको सुनाए। कृषि प्राविधिकले ज्ञान सीप दिएपछि एक सय स्याउ बिरुवा काँटछाँट र व्यवस्थापन गरेको उनले बताए।

‘सधैं कृषि प्राविधिक बगैंचामा पुग्न सक्ने अवस्था रहँदैन’, उनी भन्छन्, ‘सम्बन्धित किसानले सीप सिकेमा उपलब्धिपूर्ण हुन्छ। बगैंचालाई कस्तो स्वरूप दिने स्वयं किसानले नै जानेको हुनुपर्छ। यो एक व्यावसायिक किसानको जिम्मेवारी पनि हो।’

Next Post

टोलटोलमा अभिभावक शिक्षा,घरघरमा पढाइ कुना

१२ माघ २०८०, शुक्रबार ११:४१
जुम्लाको हिमा गाउँँपालिका १ र २ का टोलटोलमा अभिभावक शिक्षा र घरघरमा पढाइ कुना सुरु भएको छ । कालिका माध्यमिक विद्यालयको सेवा क्षेत्रका टोल र घरहरुमा अभिभावक शिक्षा र पढाइकुना सुरु भएको हो । विद्यालयहरुमा हिउँदे विदा भएकोले शिक्षकहरुले अभिभावक शिक्षा दिन थालेका हुन । प्रधानाध्यापक खाम्बा शाहीले समुदायमा अभिभावक […]