गुमनाम रुपिछडा झरना,पर्यटकको प्रतिक्षामा

  ।   ३० श्रावण २०८१, बुधबार ०६:४३

माथितिर बडेमानका पाटनहरु । वरिपरि घनाजंगल । बिचैमा बगिरहेको रुपिछडा झरना । त्यही झरना उचित प्रचारप्रसारको अभावमा गुमनाम छ । समुद्री सतह देखि १९८० मिटर उचाइमा रहेको यो झरना हिमा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तब्य बनिरहेको छ ।
हिमा गाउँपालिका ५ बाजागाडा गाउँको क्षेत्राधिकार भित्र पर्ने रुपिछडा झरना पुग्न पदमार्ग निर्माण भइसकेको छ । कुनै पनि पर्यटकहरु झरनामा पुगेर आनन्द अनुभति गर्न सक्ने अवस्था बनिरहेको छ,। हिमाका स्थानीय नेत्रबहादुर शाहीले भने,‘हामी कृत्रिम बनाइएका संरचना हेर्न तछाडमछाड गछौं । तर प्रकृतिले दिएका सुन्दर संरचनाहरु थाहा पाइराखेका छैनौं । ’
निगालो,देवदयार र सल्लाको बाक्लो जंगल भित्र दर्जनौं बन्यजन्तुहरुको वासस्थान रहेको स्थानीय बताउँछन् । सयौं प्रजातिको जडिबुटी झरना आसपासको पाटमा पाइने गरेको छ । चराचुरुङगीको चिरबिर र बन्यजन्तुहरुको खासखुसले झनै मनमा शान्ति महसुस हुन्छ । ्
पाटनमा चरिरहेका भेडाबाख्राहरु देखि गाइभैंसी पालनका लागि बनेका अस्थायी गोठहरु,खर्कहरुले त झनै मान्छेहरुको मन तानिरहेको हुन्छ । बाजागाडा गाउँदेखि झण्डै तीन घण्टाको पैदलमार्गको यात्रा पछि पुगिन्छ, रुपिछडा झरना ।
गत साता हिमा आधारभुत विद्यालय कोइरेलीले रुपिछडा झरनामा विद्यार्थी,अभिभावक र शिक्षकहरुको शैक्षिक भ्रमण गराएको थियो । जसले गुमनाम रहेको झरनाको प्रचारप्रसारमा सघाउ पुर्यायो ।
लगत्तै हिमा गाउँपालिकाले प्राविधिक शाखा प्रमुख तोरण खड्काको नेतृत्वमा ११ सदस्यीय सरकारी टोली खटायो । टोलीले झरनाको अवलोकन गर्यो । पर्यटक भित्र्याउन के गर्न सकिन्छ भन्ने बिषयमा मन्थन गरेर फर्किएको छ । नेत्रबहादुरले भने,‘ कैयन प्रकृतिले देखिका अमुल्य उपहार घर छेउमै छन् । तर हामीले देख्न सकिरहेका छैनौं । यो दुःखद पक्ष हो । ’
पर्यटकहरु बस्ने प्रतिक्षालय देखि स्पष्ट रुपमा झरनाको आकार देखिने गरेर बाह्य व्यवस्थापन गर्नुपर्ने निष्कर्ष टोलीको छ । रुपिछडा झरना केबल झरना मात्र होइन् । वरिपरिको स्थान सुटिङ र पिकनिक स्र्पोटका रुपमा समेत प्रयोगमा ल्याउन सकिने देखिन्छ ।
हिमा आधारभुत विद्यालयका प्रधानाध्यापक महेश रावलले प्रकृतिले कुँदेको अनुपम सौन्दर्यका रुपमा झरनालाई लिइरहेका छन् ।
उनले झरनाको सुसावटले हेर्ने आउने यात्रीको भोग प्यास मेट्ने सामाथ्र्य राख्नुका साथै मन, मुटु र मस्तिष्क एकाकार बनाउने अद्भुत शक्ति प्रदान गरिरहेको बताए ।
रुपिछडा झरनालाई शिर बनाई बसेका स्थानीयले कहिल्यै नमेटिने श्रीपेच मानेर ग्रहण गरेका छन ्। त्यहि झरनाको पानीले सिंचित जमिनबाट गाँउको सम्पूर्ण कृषि प्रणाली चल्ने गरेको छ ।
नयाँ तथा पुराना शैलीका घरहरु अवलोकन गर्दे कालीमार्सी धान खेतहरु नियाल्दै जंगलमा हुर्किरहेका सयौं रुखविरुवाहरुको थरिथरिका सुगन्ध लिइदै झरनामा पुगिन्छ । स साना खोल्साहरुमा कलकल बगिरहने खहरेहरु,पाटनमा फुलिरहेका फुलहरु लगायतका प्रकृतिका अनेक सिंगारपटारले कुनै पनि पदयात्रीलाई स्वागत गरिरहेको आभाष दिलाइरहेका हुन्छन् ।
बसन्त ऋतुमा गुँरासका फूल फुल्दा झरना बेहुली बनेर घुम्टो उठाउन पुग्छिन् भने हिउँद ताका वरफको लहडा देख्न पाइन्छ। सिसा जस्तै देखिने यो दृश्य धेरैका लागि दुर्लभ खजाना बन्न सक्छ।
झरनाले त्यहाँ पुग्ने हर कसैका थकान मेटाई दिन्छ । दुःख बिर्साई दिन्छ । यति सुन्दर प्रकृतिको वरदान हुँदाहुँदै पनि यो झरना हालसम्म गुमनाम नै रहेको छ, प्रधानाध्यापक रावलले भने,‘शहर बजारमा कृत्रिम रुपमा बनाइएका केहि स्थलहरु रातारात सामाजिक संजालमा भाइरल भएको र घुम्नको लागि भिड भइरहेको अवस्थामा यो झरना गुमनाम हुनु दुःखद् हो ।’
बाटोको समस्या, यातायातको असुविधा, दुर दराजमा रहेको सरकारको नजर नपरेको र यसको प्रचार प्रसारमा कमी जस्ता कारणले यो झरना गुमनाम रहेको उनको निष्कर्ष छ । स्थानीय सरकारको प्राथमिकतामा यो झरना नपरेको होइन् । तर ठोस रुपमा यसको नापजाँच नक्साकंन र पैदलयात्रीलाई पूर्ण व्यवस्था गर्न चुकेको अवस्था छ ।
पर्यटकको आगमनले यो झरना सँगै रहेका गाँउबस्तीहरुले रोजगारी पाउनुका साथै हिमा गाउँपालिकाको आर्थिक क्रियाकलापमा पनि सुधार हुने अपेक्षा राखिएको छ । प्रकृतिले दिएको अनुपम नासोलाई संरक्षण, सर्वधन र प्रचार प्रसार सँगै व्यवस्थित बनाउन आवश्यक देखिएको छ ।
अहिले नाग्म गमगडी सडकमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागम बढेको छ । यिनीहरुलाई सहजै रुपमा झरना स्थलमा पुर्याउन सकेको खण्डमा गाउँपालिकाको आन्तरिक आय समेत बढ्नेछ । झरनाको प्रचारप्रसारका लागि हिमा सरकारले ठोस नीति बनाएर अघि बढ्नुपर्ने स्थानीयको माग छ ।

Next Post

सिलाइकटाइबाट स्वरोजगार बन्दै पातारासीका महिला

३० श्रावण २०८१, बुधबार ०६:४३
पछिल्लाे समय दुर्गम जिल्ला जुम्लाका महिला सिलाइकटाइ व्यवसायबाट स्वरोजगार बनेका छन्। वैकल्पिक उर्जा प्रर्वधन केन्द्रको सहयोगमा पुर्नताजगि तालिम लिएर अहिले महिला आत्मनिर्भर बन्दै गएका हुन्। जसमा पातारासी गाउँपालिका-५ की सरिता बुढा सिलाइकटाइ गरिरहेकी छिन्। उनले सिलाइकटाइलाई व्यावसायिक रुपले अगाडि बढाइ रहेको बताउँछिन्। विभिन्न प्रकारका कपडाका सामानहरुको पसल व्यवसाय सुरु गरिरहेकी […]