दैलेखको राकममा सय बेडको अस्पताल बन्ने

  ।   ८ फाल्गुन २०७९, सोमबार १६:२४

दैलेख जिल्लाको आठबीस नगरपालिकाको केन्द्र राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने भएको छ । चार बर्ष अघि नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो । सम्झौतामा राकमकर्णालीमा एक सय शैयाको शिक्षण अस्पताल निर्माण गरि नागरिकलाई गुणस्तरिय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख छ । कर्णाली प्रदेश सरकार र संघीय सरकारको समन्वयमा शिक्षण अस्पताल निर्माणको अघि बढ्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिए । अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मा प्रतिष्ठानले लिनेछ ।
शिक्षण अस्पताल निर्माणका लागि आठबीस नगरपालिका–३ मा ४० रोपनी (दुई हजार एक सय ३० वर्गमिटर) क्षेत्रफल जग्गा व्यवस्थापन भईसकेको नगरका प्रमुख तर्कबहादुर बडुवालले बताए । अस्पताल निर्माणको लागि डिपिआर बनिसकेको छ । अस्पताल निर्माण तथा सञ्चालनका लागि नगरप्रमुखको संयोजकत्वमा समिति समेत गठन भईसकेको छ ।
नगरपालिकाले राकमकर्णालीस्थित अस्पतालबाट नागरिकलाई स्वास्थ्य सेवा दिइरहेको छ । विशेषज्ञ सेवा प्रदान गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सक खटाएको छ । अस्पतालमा एक्सरे, भिडियो एक्सरे, इसिजी ल्यावसहित अस्पताल फार्मेसी चलाइरहेको छ । विशेषज्ञ सेवा सञ्चालनका लागि अप्रेसन कक्ष र आवश्यक भौतिक सामग्री व्यवस्थापन भएको नगरप्रमुख बडुवालले बताए ।
प्रतिष्ठानले राकमकर्णालीको आधारभुत अस्पतालका लागि अक्सिजन प्लान्ट प्रदान गरिसकेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट प्राप्त अक्सिजन प्लान्ट प्रतिष्ठानले आठबीस नगरपालिकाको आधारभुत अस्पताललाई उपलब्ध गराएको हो । अक्सिजन प्लान्ट जडानका लागि नगरपालिकाले ट्रस्ट निर्माण, विद्युतिय प्रशारण ट्रास्फर्म खरिदमा ३२ लाख पाँच हजार रुपैयाँ खर्च गरेको नगरका जनस्वास्थ्य निरीक्षक देवराज तिमिल्सेनाले जानकारी दिए ।
हालै जडान भएको अक्सिजन प्लान्ट सोमवार उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिनोदकुमार शाह, प्रतिनिधिसभा सदस्य सोविता गौतम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललगायतको उपस्थितीमा अक्सिजन प्लान्ट उद्घाटन गरिएको हो । अक्सिजन प्लान्ट उद्घाटन गर्दै मन्त्री शाहले कर्णालीमा स्वास्थ्य सुधारका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताए । राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्न तयार रहेको मन्त्री शाहले बताए ।
पहिलो पटक राकम पुगेकी प्रतिनिधिसभा सदस्य सोविता गौतमले अब दोस्रो पटक राकमकर्णालीमा आउँदा अस्पताल निर्माण भईसक्ने बताइन् । उनले कर्णालीको सबैखाले समस्या संघीय संसदमा दृश्य वा अदृश्य रुपमा निरन्तर उठाउने बताइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल जति सक्दो छिटो निर्माण गर्ने बताए । डा. रावलले आगामी दुईवर्षभित्रै ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याईने दाबी गरेका छन् ।

Next Post

जुम्लामा सशस्त्र प्रहरीको ब्यारेक निर्माणको काम सुरु

८ फाल्गुन २०७९, सोमबार १६:२४
जुम्ला । लामो समय देखि आफ्नो ब्यारेक नहुंदा छरिएर बसेको सशस्त्र प्रहरी बल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाको ब्यारक बनाउने कार्य सुरु भएको छ । तातोपानी गाउँपालिकाले उपलब्ध गराएको ९ रोपनी ३ धुर जग्गामा ब्यारेक निर्माणको काम सुरु भएको हो । तातोपानी ५ स्थित डुठाचौरमा जिल्ला समन्वय समितिका प्रमुख […]

सम्बन्धित