नेकपा विभाजन: तानातानमा कार्यकर्ता

  ।   ६ माघ २०७७, मंगलवार ०८:२२

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि ओली समूह र नेपाल–दाहाल समूह एकअर्काका नेताकार्यकर्ता तान्ने रणनीतिमा लागेका छन्। पार्टी विभाजनपछि अलमलमा परेका नेताकार्यकर्तालाई केपी शर्मा ओली र माधवकुमार नेपाल–पुष्पकमल दाहाल समूहले आआफ्नो पक्षमा ल्याउन केन्द्रदेखि नै बल प्रयोग गरिरहेका छन्। ओली पक्षले नेताकार्यकर्तालाई आफूतिर तान्न केन्द्रीय सदस्य बनाउनेसम्मको प्रलोभन दिएको छ। नेपाल–दाहाल समूहले पनि उचित जिम्मेवारी दिने र भरसक नेताकार्यकर्तालाई ओलीतिर जान नदिने रणनीति लिएको छ।

तानातानको होड चलिरहेकै बेला ओली समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका पाँच सांसदलाई आफ्नो पक्षमा ल्याएको छ। जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, कला घले र वसन्तीदेवी यादवलाई ओली समूहले आफूतिर ल्याएको छ। ओली समूहमा फर्किएका उनीहरूले आफ्नै पार्टी नेकपाको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको भन्दै हस्ताक्षर फिर्ता लिएको जनाएका छन्। यसैबीच सोमबार सोलुखुम्बू पुगेर गृहमन्त्री रामबहादुुर थापाले पूर्वमाओवादी समूहका नेताहरू महेश किराँती, शिशिर राई र श्याम क्षेत्रीलाई ओली समूहमा प्रवेश गराएका छन्। ओली समूहको ध्यान अहिले युवा कार्यकर्तालाई आफ्नो पकडमा ल्याएर नेतृत्व दिनेतिर छ। रामेछापका पुराना तथा लोकप्रिय नेताहरू नेपाल–दाहाल समूहमा लागेपछि ओली समूहले युवा पुस्ताका दुई नेता आनन्द श्रेष्ठ र पुरुषोत्तम कडरियालाई जिम्मेवारी दिएको छ। कडरिया तत्कालीन एमालेमा नेपाल समूहमा थिए।

दाहाल–नेपाल समूहले विगतमा जिम्मेवारी नपाएका नेताकार्यकर्तालाई जिम्मेवारी दिएर ओली खेमामा जानबाट रोक्ने रणनीति लिएको छ। ओली समूहले लुम्बिनी प्रदेशबाट भगवतीदेवी भण्डारी, वृहस्पति अधिकारी, तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीलगायतलाई केन्द्रीय सदस्य बनाएको थियो तर उनीहरू अहिले नेपाल–दाहाल समूहमा लागेका छन्। त्यस्तै प्रदेश २ का नेताहरू सुन्दर विश्वकर्मा र कमलेश झा पनि ओली समूहबाट नेपाल–दाहाल समूहमा लागेका छन्। हुम्लाका सांसद छक्कबहादुर लामा पनि ओली समूह छाडेर नेपाल–दाहाल समूहमा पुगेका छन्। अछामका भैरे कामी र यज्ञ बोगटी, पाल्पाकी देवी बस्याल पनि ओली समूह त्यागेर नेपाल–दाहाल समूहमा लागेका छन्। खोटाङका राम दंगाल भने नेपाल–दाहाल समूह छाडेर ओली समूहमा गएर जिल्ला कमिटीको अध्यक्ष भएका छन्।

नेपाल–दाहाल समूहमा धेरै नेताकार्यकर्ता गएपछि ओली समूहले गृहमन्त्री थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा लामा र पूर्वमाओवादीबाट केन्द्रीय सदस्य भएका नेताहरूको सहयोगमा पूर्वमाओवादी र पूर्वलडाकुलाई आफ्नो पक्षमा तान्ने कोसिस गरिरहेको छ। ओली समूहले पूर्वमाओवादीका नेताकार्यकर्तालाई पार्टीको जिम्मेवारी दिने रणनीति बनाएको छ। ओली पक्षले पूर्वएमाले नेताकार्यकर्ता समेट्न हरेक कमिटीमा छुट्टाछुट्टै समिति बनाएको छ।

भ्रम चिर्न नेपाल–दाहालको अपिल

नेपाल–दाहाल समूहको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमानसमा भ्रम फैलाएको भन्दै त्यसलाई चिर्न नेताकार्यकर्तालाई निर्देशन दिएको छ।

अध्यक्ष नेपाल र दाहालले सोमबार कार्यकर्तालाई अपिल गर्दै ओलीका भ्रम चिर्न निर्देशन गरेका हुन्। संविधानमाथि ‘कू’ गरी प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले उल्टै भ्रम छर्न खोजेकाले त्यसको भण्डाफोर गरी अघि बढ्न दाहाल–नेपालले निर्देश गरेका छन्। नेपाल–दाहालले ओलीले संविधानको गलत व्याख्या गरेको बताएका छन्। ‘ओलीले दाबी गरेजस्तो प्रतिनिधिसभा जुनसुकै बेला विघटन गर्न पाउने विशेषाधिकार प्रधानमन्त्रीलाई यो संविधानले दिएको छैन तर प्रधानमन्त्रीले सोह्रै आना झुट बोलेर संविधानको गलत व्याख्या र परिभाषा गर्दै हिँडिरहेका छन्। आफूमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चालेका छन्,’ अपिलमा छ।

अपिलमा २०७७ साल पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक घोषणापछि देशको राजनीति र नेकपाको संगठनात्मक जीवनमा गम्भीर समस्या उत्पन्न भएको उल्लेख छ। ‘केपी ओलीद्वारा चालिएको असंवैधानिक कदमले संविधानको मूल मर्म र भावनामा प्रहार गरेको छ। अहिले यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्च अदालतले संविधानको अक्षर, मूल मर्म र भावनालाई गहिरोसँग आत्मसात् गरी संविधानसम्मत् फैसला नगरेसम्म नेपालको संविधान कार्यान्वयनमा अवरोध उत्पन्न भएको अवस्था छ।

असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने कामको पक्षमा प्रधानमन्त्री केपी ओली र उनलाई साथ दिने मानिसले जेजस्ता तर्क गरिरहेका भए पनि यो सरासर प्रतिगमन हो, संविधान, लोकतन्त्र र संघीय गणतन्त्रमाथि गरिएको निर्मम प्रहार हो, देश र जनताको भाग्य एवं भविष्यमाथि गरिएको कुठाराघात हो, कम्युनिस्ट पार्टी र यसको आदर्श तथा लोकतान्त्रिक मूल्यमान्यताप्रति गरिएको गम्भीर षड्यन्त्र हो भन्ने कुरा स्पष्ट छ’, अपिलमा लेखिएको छ। राष्ट्रपतिले पनि देश, जनता र संविधानमाथि के कस्तो आघात पर्छ भन्ने सोच्दै नसोची प्रधानमन्त्रीको सिफारिसलाई सदर गरेको भन्दै नेपाल–दाहालले आपत्ति जनाएका छन्।

स्पष्टीकरण पत्र प्रधानमन्त्री निवास बालुवाटार गेटमा

नेकपा नेपाल–दाहाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाट हटाउन सोधेको स्पष्टीकरण पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको गेटमा बुझाएको छ। नेकपा दाहाल–नेपाल समूहको शुक्रबार बसेको स्थायी कमिटी बैठकले ओलीले पार्टीको विधान, उद्देश्य र लक्ष्यविपरीत काम गरेको भन्दै उनलाई ‘पार्टी सदस्यबाट किन नहटाउने’ भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सोही बेहोरासहितको पत्र सो समूहले सोमबार बालुवाटार गेटमा लगेर छाडेको हो। सो पत्र बोकेर सोमबार स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुगेका थिए।

पार्टी अनुशासन उल्लंघन गरेको आरोपसहित ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निस्काशन गर्ने प्रक्रियाअन्र्तगत स्पष्टीकरण सोधिएको हो। पार्टी विधानमा कुनै पनि सदस्यलाई अन्तिम कारबाही गर्नुभन्दा अगाडि एकपटक स्पष्टीकरणको मौका दिइनेछ भन्ने व्यवस्था भएबमोजिम ओलीलाई पत्र काटिएको हो। सो पत्र पाएको तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ। ओलीले स्पष्टीकरण नबुझाए उनलाई पार्टी सदस्यबाटै हटाउने नेपाल–दाहाल समूहको तयारी छ। नागरिक

Next Post

प्रतिनिधिसभा विघटन बहस : ‘प्रधानमन्त्रीलाई विघटनको विशेषाधिकार थिएन’

६ माघ २०७७, मंगलवार ०८:२२
काठमाडौँ — प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा संविधान निर्माणका क्रममा संविधानसभामा भएको छलफल र त्यसपछि तयार भएको अवधारणापत्रले प्रवेश पाएको छ । अधिवक्ता दीनमणि पोखरेलले सोमबार करिब तीन घण्टा लामो बहसका क्रममा त्यतिबेलाको अवधारणापत्रको सारांश इजलासमा प्रस्तुत गरेका हुन् ।  सुनुवाइको प्रारम्भिक दिनदेखि नै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘बहुमत […]