आइसोलेसन सेन्टर र कोभिड अस्पतालको अनुगमन

  ।   १० जेष्ठ २०७८, सोमबार ०५:३६

जुम्लाको गुठिचौर गाउँपालिका र पातारासी गाउँपालिकामा बनेका आइसोलेसन सेन्टर र कोभिड अस्पतालको अनुगमन गरिएको छ । कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको नेतृत्वको टोलीले यी दुई स्थानीयतहमा बनेको आइसोलेसन र कोभिड अस्पतालको अनुगमन गरेको हो । अनुगमनमा आइसोलेसनको प्रयोगको अवस्था, व्यवस्थापन र कोभिड अस्पताल सञ्चालनको अवस्थाको बारेमा अनुगमन गरिएको थियो ।

गुठिचौर गाउँपालिकामा ४० बेडको आइसोलेसन बनाइएको छ । १० बेड थपेर ५० बेडको आइसोलेसन बनाउन लागिएको अध्यक्ष हरीबहादुर भण्डारीले बताए । उनले आइसोलेसन बेड निर्माण, आइसोलेसनमा बस्ने संक्रमितको व्यवस्थापन,उपचार र रेखदेख सबैको व्यवस्था भइसकेको बताए । तर अहिले सम्म संक्रमित आइसोलेसनमा नबसेको जानकारी दिए ।
उनका अनुसार गुठिचौरमा हाल सम्म संक्रमितको संख्या १७ पुगेको छ । तर एक जना संक्रमित पनि आइसोलेसनमा बसेको छैन । उनले भने,‘संक्रमित आइसोलेसनमा बस्न मान्दैनन् । सबै होमआइसोलेसनमै बसेका छन । होम आइसोलेसनबाट संक्रमण फैलने खतरा बढेकोले अब देखिने संक्रमित सबै आइसोलेसनमा ल्याउने तयारी भइराखेको छ । ’


अध्यक्ष भण्डारीले एउटा आइसोलेसनमा चाहिने आवश्यक सबै सामाग्री संकलन तथा व्यवस्थापन गरिएको जानकारी दिएका थिए । गुठिचौरमा आइसोलेसन बनेको भएपनि प्रयोग नगरेको भेटिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । गुठिचौर गाउँपालिकामा रहेको कोभिड अस्पतालमा अक्सिजन सहितको व्यवस्था गरिएको थियो । अहिले सम्म संक्रमित भर्ना नभएको र अक्सिजन लगाउनु नपरेको प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले जानकारी दिए ।
उनले भने,‘आइसोलेसन बनेको छ । प्रयोगमा आउन सकेको छैन । अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा छ । बिरामी भर्ना गरेर उपचार गर्नु परेको छैन । ’ उनले गाउँगाउँमा कोभिड विरुद्धको सचेतना फैलाएर संक्रमितलाई आइसोलेसनमा बस्ने वातावरण सिर्जना गर्ने कार्य भइरहेको बताए । गुठिचौर गाउँपालिकाले १० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएकोछ । ५ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ ।२५ वटा सिलिण्डर खरिद गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।


जिल्लाको पातारासी गाउँपालिकाले समाजशास्त्री डोरबहादुर बिष्टले बनाएको कर्णाली इन्ष्टिच्युडमा कोभिड अस्पताल र आइसोलेसन बनाएकोछ । एकान्त भएकोले संक्रमित र संक्रमितको उपचार सहज हुने गरि एउटै भवनमा कोभिड अस्पताल र आइसोलेसन बनाएको हो ।
गाउँपालिकामा ५० बेडको आइसोलेसन र ५ बेडको कोभिड अस्पताल बनिसकेकोछ । स्वास्थ्य तथा सुरक्षा मापदण्ड अनुसार बनेको आइसोलेसन र कोभिड अस्पतालमा संक्रमित छैनन । हाल सम्म गाउँपालिकाभरी ३६ जना संक्रमित छन । कोही पनि आइसोलेसनमा बसेका छैनन । सबै होमआइसोलेसनका नाममा घरमै बस्ने गरेको अध्यक्ष लछिमान बोहोराले जानकारी दिए ।


उनले भने,‘संक्रमित सामान्य रुघाखोकी भएको भन्दै आइसोलेसनमा आउन मान्दैनन् । अब अस्पतालको रिर्पोट अनुसार संक्रमित देखिएका सबैलाई आइसोलेसनमा राख्छौँ । लक्षण देखिएका बिरामीको कोभिड अस्पतालमा उपचार गराउँछौँ । ’ कोरोना विरुद्धको सचेतना अभियानलाई पहिलो चरणमा गाउँबस्तीमा लगिएको बताउँदै अब गाउँपालिका भरी मेडिकल मार्च सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
अनुगमन टोलीले संक्रमित घरमा बस्ने र आइसोलेसन खाली हुने अवस्था आउन नदिनको लागि स्थानीय सरकार जिम्मेवार हुनु हुनु पर्नेमा जोड दिए । कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले दोस्रो चरणको कोरोना घातक भएको भन्दै उच्च सतर्कता अपनाउनको लागि आग्रह गरे ।


उनले भने,‘कोरोना संक्रमण दर बढिरहेको छ । दैनिक दिन मृतकको संख्या बढिरहेको छ । स्थानीय सरकार चनाखो बन्दै साधनस्रोतको व्यापक परिचालन र प्रयोग गरेर संक्रमण फैलन नदिनका लागि सावधानी अपनाऔँ । ’ स्थानीयतहमा भइरहेको तयारी सन्तोषजनक रहेको बताउँदै मन्त्री भण्डारीले संक्रमित होमआइसोलेसनका नाममा घरमा बस्ने कार्यलाई निरुत्साहित बनाउनु पर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले तयारी अवस्थामा रहेको आइसोलेसन खाली गरेर संक्रमित घरमा बस्नु राम्रो नभएको बताए । उनले भने,‘स्थानीय स्तरमा जनचेतनाका हरेक उपाय अबलम्वन गरेर भएपनि संक्रमितलाई आइसोलेसनमा राख्नु र कोभिड अस्पतालबाट चिकित्सकीय सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता छ । ’


अनुगमनमा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी,कर्णाली प्रदेश जुम्ला(ख) का सांसद पदमबहादुर महत, नेपाली सेना श्री नम्बर २४ बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटा,प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा,सशस्त्र प्रहरीका एसपी गगन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापा,नन्दबक्स गणका गणपति दिवाकर रायमाझी, राष्ट्यि अनुसन्धान प्रहरीका प्रमुख लगायत स्वास्थ्यकर्मी,चिकित्सक र पत्रकारहरुकोे सहभागिता थियो ।

Next Post

कोरोनालाई सामान्य नठान्न स्वास्थ्यकर्मीको सुझाव

१० जेष्ठ २०७८, सोमबार ०५:३६
कोरोनालाई सामान्य नठान्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन । उनीहरुले रुघाखोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्यालाई सामान्य नठान्न सुझाव दिएका हुन । रुघा र ज्वरो मात्रै भएकालाई पनि कोभिड–१९ संक्रमण पुष्टि भएको देखिन्छ । यस्ता समस्या देखिएमा कोभिड परीक्षण गर्न बेलैमा नजिकैको अस्पताल लैजान जुम्लाबासीलाई सुझाव दिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले […]