जुम्ला बजारमा आतंक मच्याउने भालुलाई गोली हानी मारियो

  ।   २८ श्रावण २०७८, बिहीबार १७:४४

जुम्ला सदरमुकाम खलंगामा प्रवेश गरेर आतंक मच्याउने हिमाली कालो भालुलाई गोली हानी मारीएको छ । भालुलाई अधिकतम बचाउने र जंगल तिर फर्काउने प्रयत्न भएपनि भालुले आतंक मच्याउन थालेपछि गोली हानी मारिएको हो । खलंगामा हिमाली कालो भालुका आक्रमणबाट तीनजना घाइते भएका छन । जुम्लाको सदरमुकाम खलंगा बजारमा बिहिबार बिहान साढे ४ बजेतिर भालुले आक्रमण गर्दा तीनजना घाइते भएका हुन ।
मोवाइल पसल खोल्न निस्किएका दैलेख चामुण्डा बिन्द्रासैनी ९ घर भइ जुम्ला सदरमुकाम खलंगा कार्कीबाडा बस्दै आएका २९ बर्षिय हिमबहादुर रोकाया र २६ बर्षिय उनकी पत्नी निर्मला थापा रोकायालाई आक्रमण गरेको थियो । भालुको आक्रमणबाट पतीपत्नी दुबै घाइते छन । हिमबहादुर रोकाया सामान्य घाइते भएकोले अस्पतालबाट डिस्चार्ज भइसकेको र पत्नी निर्मलाको अनुहारको अप्रेशन भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
सदरमुकाम क्षेत्रमा भालुको खोजी कार्य भइरहेको बेला नजिकैको चन्ददनाथ नगरपालिका ४ सिंगाचौरका २५ बर्षिय आशिष सार्कीलाई समेत आक्रमण गरी घाइते बनाएको थियो । घाइते सार्कीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइराखेको छ ।
चन्दननाथ नगरपालिका ५ कार्किवाडमा हिमाली कालो भालु एक्कासी बजार देखिएको थियो । भालु बजार क्षेत्रमा प्रवेश गर्दा जुम्लाबासी निकै त्रासित बनेका थिए ।


भालुले आक्रमण गरेपछि एकाविहानै देखि हल्लीखल्ली भइसकेको थियो । बजारमा भालु पसेको जानकारी पाउने वित्तिकै जिल्ला प्रशासान कार्यालय,नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको टोली भालुलाई नियन्त्रणमा लिएर जंगलतिर पठाउने प्रयन्त गरिरहेको थियो । टोलीले भाुललाई सुरक्षित पुर्वक जंगलतिर लखेट्न खोज्दा सुरक्षाकर्मी माथि नै आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिन सकिएको थिएन । भालु सिंगाचौर गाउँको एक घरको तल्लो तलामा बसेको थियो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाले सकभर भालुलाई सुरक्षित जंगल तिर पठाउने प्रयत्न भइरहेको थियो । घरबाट बाहिर निकाल्न अनेक प्रयत्न भए । घरबाहिर कराउने देखि टियर ग्याँस हान्ने सम्मका कार्य भए । तर भालु टस न मस भयो । न भालु बाहिर निस्कियो । नत कुनै प्रतिक्रिया नै दियो । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले भने,‘घरमुली संगको सल्लाहमा छत देखि भत्काएर भालु भगाउने प्रयत्न भइरहेको थियो । भालुले उल्टै सुरक्षाकर्मीलाई चिथोर्न खोज्थ्यो । ’ जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारीले भालु मार्ने आदेश दिएपछि गोली हानेर मारीएको थियो ।
बौलाह र नरभंक्षी स्वभावको भालु देखेपछि गोली हानी मारीएको सुरक्षाकर्मीले जनाएका छन । जुम्ला सदरमुकाम खलंगामा भालु पसेको इतिहासमै पहिलो पटक भएको बुढापाकाहरु बताउँछन । विहान भालु भगाउनको लागि दुई हवाइफायर गरिएको थियो । मान्छेको चहलपहल भएको क्षेत्रमा भालु आउदैन भन्थे तर सहरमै भालु पसेको देख्दा स्थानीय चकित छन ।
डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजङ्ग खत्री सुरक्षितस्थल तिर लखेट्न खोज्दा समेत भालु गाउँ पसेर आतंक मचाउन थालेपछि गोली हानि मारीएको बताउँछन । गाउँ पसेको भालु सहजै रुपमा नियन्त्रणमा नआउने देखियो । गाउँमा कोलाहल मच्चियो । भालुदेखि सुरक्षित हुन निकै कठिन बन्यो । गाउँले एकै ठाउँमा जम्मा भएर भालु भगाउने उपाय अपनाउन थाले । तर तर भालु गाउँदेखि भगाउने कुनै पनि उपाय सफल हुन सकेनन् । झन भालुले गाउँमै बसेर मानवीय क्षेति गर्ने संकेत देखियो । भालु बहुँला प्रकृतिको, नरभंक्षी प्रकारको थियो ।
भालु आतंकले सदरमुकाम खलंगा नै त्रसित बन्यो । सात घण्टाको तनावपछि भालुलाई गोली हान्न बाध्य भएको डिभिजन बन कार्यालय जुम्लाले जनाएको छ । भालुले नछोड्ने संकेत देखिएपछि गाउँलेले भालु मारिदिन स्थानीय प्रहरी प्रशासनलाई आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाइले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम गोली हान्ने आदेश दिएको बताइन ।
ऐनमा कुनै पनि जंगली जनावरले वनक्षेत्र बाहिर गएर मानिस वा घरपालुवा पशुपंक्षीलाई धेरै नोक्सान गर्ने बन्यजन्तुलाई मार्नु पर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन र लखेट्न सकिने व्यवस्था छ ।


शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना डिभिजन वन कार्यालयको सक्रियतामा मारीएको भालुलाई डिभिजन वन कार्यालयमा लिएर पशु प्राविधिकले मृत घोषित गरेका थिए । हिमाली भालुको लम्बाइ ५ फिट,उचाई ३ फिट,गोलाई चार फिट थियो । अगाडीको पञ्जाको लम्बाई ७ इन्च, चौडाई ५ इन्च थियो । पञ्जाका नंग्रा २० वटा थिए । भालुको तौल दुइ क्वीन्टल थियो । रातो कालो र छातिको भाग सेतो थियो । भालुलाई बन कार्यालय परिसरमा १० फिट गहिरो खाडल खनेर गाडीएको थियो । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा,सशस्त्र प्रहरीका एसएसपी गगन श्रेष्ठ, डीएसपी दान बहादुर थापा र पत्रकारहरुको रोहवरमा खाल्डोमा गाडिएकोे हो । भालुको शरीरमा दश पोका नुन छर्किएको छ ।
दिनदाहडै भालु मानिसको चहलपहल भइरहने क्षेत्रमा प्रवेश गर्न थालेपछि जुम्लाबासी त्रासिद छन । भालुले किसानले लगाएको अन्नवाली सखाप पार्ने,पशुबस्तु मार्ने र मान्छेलाई समेत आक्रमण गर्ने गरिरहेको छ । जिल्ला वन डिभिजन कार्यालयका प्रमुख दिनेश खत्री भालुको खोजीमा दिनभर तनाव भएको बताउँछन । उनले भने,‘ सुरक्षाकर्मीको टोलीले बजार क्षेत्र र प्रशासनको दक्षिण भाग सर्च गरेको थयो। सावधानी अपनाउन माइकिंग गरिरहेको थियो । तर भेटाउन सकेन । भालु त नजिकैको गाउँमा प्रवेश गरिसकेको रहेछ । ’ जुन,जुलाई र अगस्ट महिनामा प्रजनन क्रिया चल्ने भएको पोथी भालु खोज्दै सदरमुकाम पसेको हुन सक्ने अनुमान गरिएको छ । उनले भने,‘यो बेला फलफुल र मकैको सिजन पनि भएकोले आहरा खोज्दै झरेको हुन सक्छ । भालु मानिस संग जम्काभेट भएपछि मात्र आफु सुरक्षित हुन आकर्मण गर्छ । यो घटना पनि त्यही हुन सक्छ ।’
यो हिमाली कालोभालुको बसोबास क्षेत्र जुम्ला नै हो । तर कति छ भालुको संख्या अनुसन्धान हुन सकेको छैन । यो लजालु र डरालु स्वभावको हुन्छ । श्रवणशक्ति कम हुन्छ । सुग्ने शक्ति बढि हुन्छ । यो भालु राति सक्रिय हुने र दिउँसो आइसोलेट भएर बस्छ ।’ भालु मारेपछि यहाँका स्थानीयले शान्तिको सास फेर्न थालेका छन ।

Next Post

जुम्लामा मास्क बैंक स्थापना,नागरिक खुसी

२८ श्रावण २०७८, बिहीबार १७:४४
कोरोना संक्रमणको दर बढ्न थालेपछि जुम्लामा मास्क बैंक स्थापना भएको छ । मास्क बैंकबाट मास्क नहुनेले मास्क लिनेछन् । मास्क हुनेले मास्क राखेर जानेछन । कोही पनि नागरिक मास्क विहिन नहोस भन्नका लागि सदरमुकाम खलंगाको बालमन्दिर नजिकै मास्क बैंक स्थापना भएको हो । ‘मास्क हुनेले मास्क दिनुस,नहुनेले मास्क लिनुस’ भन्ने […]