मार्सी चामलको मुल्यमा बिक्दै चिनोकाे चामल

  ।   १५ आश्विन २०७८, शुक्रबार १९:४६

जुम्ला तातोपानी गाउँपालिका १ का डेकेन्द्र कठायतले यो वर्ष ३ क्वीन्टल चिनोको चामल बेचे। गाउँमा उत्पादित चिनो संकलन गरेर चामल प्रशोधन गरी खलंगा स्थित कोशेली घरमा चामल बेचे। अहिलेसम्म चिनोको चामल धेरै बेच्नेमा उनी पर्छन्। उनले भने, ‘चिनोको चामलको माग बढ्न थालेपछि किसान पनि चिनोको खेति बढाउन थालेका छन्। पहिले भन्दा अहिले चिनो धेरै उत्पादन हुने गरेको छ। चिनो खेतिमा किसान आकर्षित भएका छन्।’

किसानले कोशेली घरमा प्रतिकेजी चिनो चामल एक सय ३० रुपैयाँमा बेच्छन्। कोशेली घरबाट प्रतिकेजी १ सय ५० रुपैयाँमा बिक्रि हुने गरेको छ। विश्वको उच्च स्थानमा फल्ने कालीमार्सी धानबाट प्रशोधित चामलको मुल्य पनि प्रतिकेजी एक सय ५० रुपैयाँमा बिक्रि भइरहेको छ। जुम्लाको पातारासी,चन्दननाथ र तातोपानी गाउँपालिकाबाट चिनोको चामल ल्याएर किसान आउँछन। यहाँबाट काठमाण्डौँ,पोखरा र चितवनमा निर्यात हुने गरेको छ।

कोशेली घरका सञ्चालक गोविन्द आचार्यले भने, ‘अहिले सम्म पाँच क्वीन्टल चिनोको चामल निर्यात भइसकेको छ। माग तीब्र छ। राराताल हुदै जुम्ला सदरमुकाम खलंगामा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले चिनोको चामल नासोको रुपमा लैजाने गरेका छन्। उनीहरुले चिनो चामलको भात पकाएर खान्छन। खिर बनाएर पनि खाने गरेका छन्। केहीकेहीले रोटी बनाउने गरेको बताउँदै आएका छन्। ’

चिनोको चामलको परिकार स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। दैनिक ५० केजी सम्म फुट्कर विक्रि हुने गरेको उनी बताउँछन।चिनोबाट कार्बोहाइड्रेट, प्रोटिन, खरानी, फाइबर, फस्पोरस, क्याल्सियम, चिल्लो पदार्थ र फलाम पाइन्छ। जुम्लाको एक नगरपालिका सहित ७ गाउँपालिकामा चिनो खेति हुने गरेको छ।

नेपालको उच्च पहाडी भेगमा करिब ३,५०० मिटर उचाइसम्म वर्षायाममा यसको खेती गरिन्छ। कुनै बेला कर्णाली क्षेत्रको खाद्य सुरक्षामा प्रमुख योगदान पुर्याउने यस बालीको हाल आएर सीमित रुपमा मात्र खेती र उपयोग भएको पाइन्छ। चिनो कुट्न गाह्रो हुने र यो चामलको भात जस्तो स्वादिलो नहुने हुनाले यसको खेती र उपयोगिता घट्दै गएको हो भन्ने केही स्थानीयहरूको भनाई छ भने केही उपभोक्ताहरू स्वास्थ्यको दृष्टिकोणबाट यो बाली उपयोगी भएको समेत बताउँछन्।

कर्णाली क्षेत्र लगायत अन्य स्थानहरूमा उत्पादन हुने चिनो बालीलाई सङ्कलन तथा प्रशोधन गरी बजारसम्म जोड्न सके यसको व्यावसायिक खेतीको सम्भावना देखिन्छ। नेपालमा चिनोको सरदर उत्पादन प्रति हेक्टर ८१८ केजी रहेको छ।

अन्नबालीमध्ये सबैभन्दा कम पानी चाहिने भएको हुनाले सुखाग्रस्त क्षेत्रमा एउटा भरपर्दो सहायक बालीका रुपमा वा खडेरीको मार न्यून गर्न सहयोग गर्ने बाली हो। सामान्यतया भात, खीर र रोटीका परिकारका रुपमा प्रयोग गरिने यस जातमा अन्य जातहरूमा भन्दा बढी फल्ने, सुख्खा तथा रोगकीरा सहने जस्ता जातीय गुणहरू पाइन्छन्।

मधुमेह रोगको समस्या भएका मानिसका लागि चिनो अति उत्तम खानेकुरा मानिन्छ। चिनोमा बढी मात्रामा जटिल प्रकारको बनावट भएका एवं रगतमा ग्लुकोजको मात्रा ढिलो बढाउने कार्बोहाइड्रेट र पानीमा घुलनशिल तथा अघुलनशिल रेसा पदार्थहरू पाइन्छन् जसले हाम्रो शरीरमा ग्लुकोज सहन क्षमता र इन्सुलिनको संवेदनशिलता बढाउन सहयोग पुर्याउँछ। चिनोमा ग्लुटिन नामको प्रोटिन नपाइने हुँदा ग्लुटेनको एलर्जि हुने व्यक्तिहरूलाई चिनो अति लाभदायक हुन्छ।

जुम्लामा चिनो कुट्ने मिल नभएका कारण समस्या भएको सञ्चालक आचार्य बताउँछन्। उनले भने,‘चिनो कुट्ने मेसिन ल्याउनको लागि पहल भइरहेको छ। मेसिन आइपुग्ने वित्तिकै किसानले चिनो कुटेर चामल बेच्न पाउँनेछन्। चिनोको चामल पनि आर्थिक समृद्धिको आधार बन्नेछ।

जुम्लामा चिनो दुइ सय १३ हेक्टरमा खेति हुने गरेको छ। चिनो कुट्ने मेसिन नहुँदा समस्या भइरहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जानकारी दिए। उनले भने, ‘चिनोको चामलमा औषधीय गुण धेरै छ। यो चामलको माग पनि बढ्दो छ। तर कुट्ने साधन नहुँदा समस्या छ। पछिल्लो समयमा सरकारी तथा गैरसरकारी निकायमा चिनो कुट्ने मेसिन उपलब्ध गराउनको लागि पहल भइरहेको छ।’ सिचाइँ सुविधा हुने स्थानमा कालीमार्सी लगाउँदै आएका यहाँका किसान सिचाइ सुविधा नहुने ठाउँमा चिनो खेतिगर्ने गरेका छन्।

Next Post

जनप्रिय बाहिनीपति सापकोटा

१५ आश्विन २०७८, शुक्रबार १९:४६
नेपाली सेनाका सहायक रथी यमबहादुर सापकोटा १३ महिना अघि जुम्ला स्थित नम्बर २४ बाहिनीअड्डा जुम्लाको बाहिनीपति भएर आइपुगे। जुम्ला उनको लागि पहिलो आगमन थियो। जुम्ला सरुवा भएको खबर पाउने बित्तिकै बाहिनीपति सापकोटाको मनमा एउटै परिकल्पना थियो ‘जुम्ला अलि विकट हिमाली जिल्ला भएकोले अभावैअभावले गुज्रिरहेको होला। भौगोलिक रुपमा कठिन होला।’ तर […]