स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढ्दै

  ।   २७ मंसिर २०७८, सोमबार १८:३८

गोल्डेन बुढा
जुम्ला,मसिंर २७।
पछिल्लो समय जुम्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकोले घरमै सुत्केरी गराउने दरमा कमि आएको हो । घरमा सुत्केरी गराउँदा रक्तश्राव धेरै हुने,साल फुक्न नसक्ने लगायतका समस्या आउथे । तर अहिले स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीले सुत्केरी गराउन थालेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्यामा तीब्र बृद्धि भइरहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा बताउँछन । गर्भावस्था र सुत्केरी अवस्थाका बारेमा नागरिक जागरुक बन्दै जानु र सरकारले पनि प्रोत्साहनको व्यवस्थापन गरेकोले यहाँका महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेका छन ।
नियमित गर्भजाँच गर्ने देखि स्वास्थ्यकर्मीको परामर्शका आधारमा स्वास्थ्य संस्थामा सुत्केरी गराउन लिने गरेको स्थानीय बताउँछन ।
स्थानीयतहले पनि संस्थागत सुत्केरी सेवालाई प्रोत्साहन गर्न संस्थागत सुत्केरीयुक्त वडा घोषणा र पोषण सुधारका कार्यक्रम चलाइरहेका छन् । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा २ हजार १ सय २३ जना गर्भवतीले स्वास्थ्यसंस्थाबाट सुरक्षित प्रसुति सेवा लिएका छन् । जसमा १ हजार ५ सय १२ जनाले तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा लिएका हुन । ६ सय ११ जना आमाहरुले सामान्य रुपमा सेवा लिएको जनस्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।
पातारासी गाउँपालिकामा १ सय १३ जना,कनकासुन्दरी २ सय ३९ जना,सिंजामा २ सय ३८,चन्दननाथ नगरपालिकामा ८ सय ८८ जना,गुठिचौमा १ सय २३ जना,तातोपानीमा १ सय ५९ जना,तिलामा १ सय ५६ जना र हिमा गाउँपालिकामा १ सय ७४ जना सुरक्षित प्रसुति सेवा लिएका छन ।
चालु आर्थिक बर्षको हाल सम्ममा ५ सय ३३ जना आमाहरुले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । ३ सय ९६ जनाले तालिम प्राप्त स्वास्थ्यकर्मी बाट सुरक्षित प्रसुती सेवा लिएका हुन । १ सय ३७ जनाले सामान्य रुपमा सुरक्षित प्रसुति सेवा पाएको जनस्वास्थ्य कार्यालय जुम्लाका सिनियर अनमी मोर्चा शाही बताउँछिन ।
उनका अनुसार यो आर्थिक बर्षमा पातारासी गाउँपालिकामा ३४ जना, कनकासुन्दरीमा ५६,सिंजा ५३ जना,गुठिचौर ५७ जना,तिला ४८ जना,हिमा ५८ जना,चन्दननाथ नगरपालिकामा १ सय ९३ जना, र तातोपानीमा ३० जना गर्भवती स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए ।
जिल्लाभरका विभिन्न प्रसुती सेवा सञ्चालित स्वास्थ्य संस्थाबाट उनीहरुले सेवा लिएका हुन् । नियमित जाँच र सुरक्षित सुत्केरी सेवा लिनेको संख्या बढेसँगै महिलाहरु पनि सुरक्षित हुने गरेका उनी बताउँछिन ।
घरमै सुत्केरी गराउँदा आमा र बच्चाको ज्यानै जाने खतरा हुन्थ्यो,अर्की सिनियर अनमी मालिका थापाले भनिन,‘महिलाहरुमा स्वास्थ्य चेतना बढ्दै गएको छ । ग्रामीण भेकका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी लगायत स्वास्थ्य संस्थामा जाने गरेका छन । यो राम्रो उपलब्धि हो । ’
जिल्लामा २६ वटा बर्थिङ सेन्टर छन । ३० वटा स्वास्थ्य संस्था रहेका छन । घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि महिला स्वास्थ्यसंस्थामा जाने गरेको गुठिचौर गाउँपालिका वडा नम्वर ३ का उजेल्या बुढा बताए । स्वास्थ्यकर्मीहरुले जोखिमका बारेमा बेलाबेला जानकारी दिने गरेका छन । महिलाहरु सचेत हुँदै गएका छन । उनले भने,‘ चेतनाको विकासले अहिले महिलाहरु सुरक्षित प्रसुति सेवा केन्द्र, अस्पताल तथा स्वास्थ्य संस्थाहरुमै गएर तालिमप्राप्त दक्ष प्रसुतिकर्मीबाट प्रसुति सेवा लिन थालेका छन । अहिले मातृमृत्यु दर र बालमृत्युदरमा समेत कमि आएको छ । ’
गुठिचौर गाउँपालिका वडा नम्वर ४ उखाडीका महिला स्वास्थ्य स्वंयसेविका रमिला बोहोरा परियारले सुत्केरी अवस्था जोखिम अवस्था भएकोले सबैले चनाखो बन्नु पर्ने बेला आएकोमा जोड दिइन । जिल्लाको दुर्गम गाउँका नागरिकहरुमा समेत सुत्केरी गराउन स्वास्थ्य संस्थामै जानुपर्छ भन्ने सोचको विकास हुँदै गएको छ । पहिले ग्रामीण भेकहरुमा सुत्केरी व्यथा लागेपछि धामीझाँक्रीकोमा जाने, गाउकै सोडेनी मार्फत सेवा लिने र सुत्केरीलाई समेत गोठमै बसाल्ने अवस्था थियो । तर अहिले अस्पताल र स्वास्थ्य संस्थामा गर्भवतीको पहिलो रोजाइ बन्छन । सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थामै लैजानको लागि गर्भवती,अभिभावक र नागरिकलाई सचेतना प्रदान गरिदै आएको छ ।

Next Post

बालविवाह रोक्ने अभियान चलाउने प्रतिबद्धता

२७ मंसिर २०७८, सोमबार १८:३८
समाजमा व्याप्त बालविवाह रोक्न जुम्लाका स्थानीयतहले अभियान चलाउने भएका छन्। उनीहरुले बालविवाहको तथ्यांक संकलन गर्ने,बालविवाहको कारण पत्ता लगाउने र बालविवाह रोक्नको लागि कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन्। बालविवाह सम्बन्धि सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले बालविवाह न्यनिकरण अभियानमा तदारुकताका साथ लाग्ने जनाएका हुन्। जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले […]