बगैँचा व्यवस्थापनमा जुटे जुम्ली किसान

  ।   ११ माघ २०७८, मंगलवार १९:४४

जुम्ला,माघ ११।
जुम्ला तिला गाउँपालिका ९ का जीवनबहादुर बुढा स्याउ व्यवस्थापनमा व्यस्त छन । उनी बगैँचाको काँटछाँट र सिचाइँ व्यवस्थापन गर्न तल्लिन छन । उनी एकाविहानै बगैँचामा पुग्छन । दिनभर स्याउ बगैँचा व्यवस्थापनमा जुट्छन ।
स्याउ बगैँचाको व्यवस्थापन नगरेको खण्डमा स्याउ फल्दैन । बगैँचामा विभिन्न रोगको संक्रमण हुन्छ । कमसल स्याउ उत्पादन भएर बजार सम्म लैजान समस्या हुन्छ । उनले भने,‘समयमै स्याउ बगैँचाको व्यवस्थापन गरियो भने गुणस्तरीय फल दिन्छ । ’
यहाँको प्रमुख आम्दानी आम्दानीको स्रोत भनेको स्याउखेती नै हो । यो बर्ष समयमै हिमपात भएकोले स्याउ उत्पादनमा बृद्धि हुने विश्वास गरिएको छ । जुम्लामा पुष महिना देखि माघ महिनाको अन्त्यसम्म स्याउका विरुवा लगाउने र स्याउको बगैँचा काँटछाट गर्ने समय हो । अधिकांस किसानलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन राम्रो हुन नसकेको कृषि प्राविधिक बताउँछन ।
जुम्लाको स्याउलाई गुणस्तरीय बनाउनका लागी कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैँचामै पुगेर स्याउ बगैँचा काटँछाट देखी स्याउ व्यवस्थापन गर्न शुरु भएको परियोजना कार्यन्वयन एकाई स्याउ सुपरजोन जुम्लाका निमित्त कायलय प्रमुख गंगा पोखरेलले बताइन् ।

जिल्लाभर नर्सरीमा सात लाख विरुवा उमारिएको छ । जसमध्ये झण्डै तीन लाख ५० हजार विरुवा गुणस्तरको रहेको छ । स्याउ प्रविधिकको सल्लाहअनुसार गुणस्तर विरुवा किनेर बगैंचा लगाउन किसानलाई आग्रह गरिएको छ । विरुवा लगाउन पहिले खाडल खन्दा देखी नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन । खाडल खन्दा एउटादेखि अर्काे स्याउको विरुवासम्म छ मिटरको दूरी आवश्यक हुन्छ ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले भने,‘जुम्ला स्याउको संभावना भएको जिल्ला हो । स्याउ नै यहाँको आम्दानीको स्रोत हो । तर गुणस्तरीय स्याउ उत्पादनमा अबको कार्यक्रम केन्द्रीत हुन जरुरी छ । ’
उनले किसानलाई एक मिटर लम्वाई, एक मिटर चौडाई र एक मिटर गहिराइको खाडल खनेर सबैभन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नुपर्ने सुझाव दिए । खाडल खन्दा माथिल्लो सतहको माटो एकातर्फ र तल्लो सतहको माटो अर्कोतर्फ राख्नुपर्ने हुन्छ । उनले भने,‘किसान यो बिषयमा सचेत छन । पछिल्लो समयमा स्याउ खेतिमा किसानको आकर्षण निकै बढेको छ । ’स्याउले जुम्लाको समृद्धि ल्याउने उनी बताउँछन ।
खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासयनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर विरुवा लगाउन उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कृषि प्राविधिकको सल्लाह अनुसार स्याउका विरुवा रोप्न र समयमै बगैँचा व्यस्थापनमा गरेर गुणस्तरीय फल उत्पादन गरेपछि मात्र बगैँचा राम्रो देखिने तिला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक सरीता महत बताउँछिन ।
फागुन महिनामा स्याउको पालुवा पलाउने भएकाले त्योभन्दा अगाडि नै स्याउका विरुवा रोपी सक्नुपर्छ । स्याउका विरुवा रोप्दा पाकेको गोठेमललाई माटोसँग मिसाएर हाल्दा राम्रो हुन्छ । स्याउ खेतीका लागि सकेसम्म दक्षिणी मोहडा भएको घाम लाग्ने जग्गा उपयुक्त हुन्छ ।
जिल्लामा चार हजार २०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमध्ये करिब १६ सय ५० हेक्टर क्षेत्रफलमा मात्र स्याउले फल दिने गरेको छ । जिल्लाको एक नगरपालिका सहित सबै स्थानीयतहमा स्याउ फल्छ । जुम्लामा गोल्डेन,रेड,रोयल र जोनाथन जातको स्याउ पाइन्छ ।

Next Post

कर्णाली प्रदेश प्रहरीको ६ महिने प्रगतिः लागुऔषधदेखि यार्सागुम्बासम्म

११ माघ २०७८, मंगलवार १९:४४
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले गरेको अर्ध वार्षिक (६ महिना) प्रगतिमा कर्णालीमा झेलिँदै गएको लागुऔषधदेखि चोरी निकासी हुँदै गरेको यार्सागुम्बा, कस्तुरीको विना, अवैध (कर छली) का सामान बरामद गरेको उल्लेख छ। कर्णाली प्रदेश प्रहरीले नदीजन्य उत्खननमा नियन्त्रण, अवैध वन्यजन्तु तथा वन पैदावार, जडीबुटी चोरी निकारी रोकथाम, अवैध भन्सार छलीका सामान […]