दक्ष जनशक्ति नहुँदा कृषि अनुसन्धानका काम प्रभावित

  ।   २ फाल्गुन २०७८, सोमबार १६:४८

जुम्ला,फागुन २।
वागवानी जन्य बालीहरुमा अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना, तरकारीहरुको बीउ उत्पादन गरेर किसानलाई सिफारीस गर्ने उद्धेश्यले २०२४ सालमा बागवानी अनुसन्धान केन्द्र जुम्लाको राजीकोटमा स्थापना भयो । यहाँ स्थापना कालदेखि नै प्रभावकारी अनुसन्धान हुन सकेको छैन । दक्षजनशक्तिको अभावले नयाँ जातको बीउ अनुसन्धान गरेर किसान संग पुर्याउन नसकिएको वागवानी अनुसन्धान केन्द्र राजिकोटका प्रमुख राजकुमारी गिरी बताउँछन । वागवानी अनुसन्धान केन्द्रमा तीन जना वैज्ञानिकको दरबन्दी छ । तर एक जना मात्रै छन । प्राविधिक अधिकृतको दरबन्दी ३ जनाको छ । तीनै जना प्राविधिक अधिकृत छैनन । यो अनुसन्धान केन्द्रले कर्णालीको उच्च पहाडमा हुने वागवानी कृषि बस्तुको अध्ययन अनुसन्धान गर्छ ।
वागवानी अनुसन्धान केन्द्रमा १९ जनाको दरबन्दी हुन्छ । १३ जना मात्र कार्यरत छन । तर अनुसन्धानको लागि आवश्यक जनशक्ति नहुँदा अनुसन्धानका सबै काम रोकिएका छन । सोचे अनुसारको अनुसन्धानको काम हुन नसकेको प्रमुख गिरी बताउँछन । उनले भने,‘सरकार अनुसन्धानका लागि केन्द्र खोल्छ तर प्रयाप्त दक्ष जनशक्ति पठाउन नसक्दा अनुसन्धान प्रभावकारी हुन सक्दैन । यो बिडम्वना हो । ’अनुसन्धानको काम ठप्प भएको छ । तर जनशक्ति अभावले जुन तरिकाले अनुसन्धान हुनुपर्ने हो त्यो हिसाबले हुन सकेको छैन ।
किसानहरुलाई नयाँ जातको बालीको अनुसन्धान गरेर बीउ उपलब्ध गराउने भन्दै २०२७ सालमा कृषि अनुसन्धान केन्द्र बिजयनगरको स्थापना भयो । नयाँ जातको बीउ उत्पादन गरेर किसानलाई उपलब्ध गराएर उत्पादन बृद्धि गर्ने लक्ष्य थियो । जग्गा,जनशक्ति र सिचाइँको अभावले गर्दा अनुसन्धानमा प्रभाव परेको कृषि अनुसन्धान केन्द्र प्रमुख नारायण मण्डल बताउँछन । प्राविधिक अधिकृतमा मण्डल एक्लो हुन । उनले कार्यालय प्रमुखको पनि जिम्मेवारी सम्हालेका छन । एक जना रेशमबाबु अमगाइ नाम गरेका वैज्ञानिक सरुवा भएर आउँदैछन । मण्डलका अनुुसार चार जना प्राविधिक अधिकृतमा एक जना आफु मात्रै र पाँच जना वैज्ञानिकको दरबन्दी रिक्त छ । प्रमुख मण्डलले भने,‘दक्ष जनशक्ति वैज्ञानिक नहुँदा नयाँ जातको बालीमा अनुसन्धान हुन सकेको छैन । किसानलाई सिफारीस गर्न सकिएको छैन । अनुसन्धानको लागि प्रायप्त जमिन नहुँदा दक्ष कर्मचारी आउन समेत मान्दैनन । ’
जुम्लामा रहेका अनुसन्धान केन्द्रमा आउने कर्मचारी पेलिएर आएको अनुभुति गर्छन । उनले भने,‘जमिन हुनुपर्छ । वैज्ञानिक मात्र आएर पनि काम छैन । ’ १८ जना दरबन्दी रहेको कृषि अनुसन्धान केन्द्रमा ११ जना मात्र कार्यरत छन । जसमध्ये ५ जना कार्यालय सहयोगी छन । पटक पटक दक्षजनशक्तिको परिपुर्तिको लागि कृषि अनुसन्धान परिषदमा माग गरेको भएपनि सुनुवाई भएको छ । देशभर दक्षजनशक्ति अभाव भएको भन्दै पठाउन नमानेको कर्मचारीहरु बताउँछन ।
डा.रमेश शाह भेडाबाख्रा अनुसन्धान कार्यक्रम गुठिचौर र उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानको प्रमुख हुन । जनशक्ति अभावमा दुई कार्यालयमा उनले नै प्रमुखका रुपमा काम गरिरहेका छन । भोडाबाख्रा अनुसन्धान कार्यक्रममा तीन जना वैज्ञानिकको दरबन्दी छ । एक जना मात्र कार्यरत छन । प्राविधिक अधिकृतमा ३ जना दरबन्दी भएकोमा तीनै जना प्राविधिक अधिकृत छैनन । भेडाबाख्रा अनुसन्धान कार्यक्रममा २२ जनाको कर्मचारी दरबन्दी भएकोमा ८ जना कार्यरत छन । उच्च प्रवतीय कृषि अनुसन्धान प्रतिष्ठानमा १८ जनाको दरबन्दी भएकोमा ३ जना मात्र कार्यरत छन ।
डा. शाहले भने,‘यहाँका अनुसन्धान केन्द्र नाम मात्रका छन । दरबन्दी अनुसारको दक्ष जनशक्ति नहुँदा अनुसन्धानको काम अघि बढ्न सकेको छैन । विभिन्न कृषि तथा पशुवस्तुको अनुसन्धानका लागि चार वटा अनुसन्धान केन्द्र छन । तर कुनै पनि अनुसन्धान केन्द्र प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन ।
जनशक्ति नहुँदा अनुसन्धानमा नराम्ररी असर परेकोछ,डा. शाहले भने,‘भने जस्तो अनुसन्धान हुन सकेको छैन । कर्मचारी माग गरिएको भएपनि नयाँ नियुक्ती लिन नसकेकोले समस्या छ । यो समस्या देशभरका अनुसन्धान केन्द्रमा छ । ’
भेडा बाख्रा अनुुसन्धान कार्यक्रम २०२७ सालमा स्थापना भएको हो । भेडा र बाख्रा सम्बन्धि अध्ययन अनुसन्धान गरेर स्थानीयलाई सेवा दिने लक्ष्य राखिएको थियो । यहाँ अहिले चार वटा जातको भेडा छ । स्वदेशी बर्नवाल,भ्याङलुङ,उन्नतमा रोम्ली मार्क र कुपोर्थ जातको छ । जनशक्ति नहुँदा बजेट कटौती भएको छ ।
उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान उच्च पर्वतमा हुने कृषि र पशुमा भइरहेको अनुसन्धालाई पुर्णता दिने काम हो । २०७१ सालमा स्थापना भएको यो प्रतिष्ठानमा अहिले जनशक्तिको अभाव छ । मर्म अनुसारको काम हुन सकेको छैन ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा जुम्लामा स्थापना भएका अनुसन्धान केन्द्रको प्रभावकारीता कम हुदै गएको बताउँछन । जुम्लामा भइरहेको अनुसन्धान कार्य हाल आएर वैज्ञानिकहरु तथा कृषि अधिकृतहरुको दरबन्दी रिक्त देखिन्छ,उपप्रमुख बुढाले भने,‘अनुसन्धान प्रभावित छ । राज्यले गर्दै आएको लगानीको दुरुपयोग भएको छ । यो राम्रो भएन । ’
कृषि अनुसन्धान परिषद खुमलटारलाई उपप्रमुख बुढाले तत्काल दक्षजनशक्तिहरुको व्यवस्थापन मिलाई अनुसन्धान कार्यमा तीब्रता दिन आग्रह गरेका छन । जिल्ला समन्वय समितिको तर्फबाट उपप्रमुख बुढाले कृषि अनुसन्धान परिषद खुमलटारमा ध्यानाकर्षण पत्र समेत पठाएका छन । उनले जनशिक्तको अभावमा अनुसन्धान कार्य प्रभावित नहुने गरि व्यवस्थापन मिलाउनको लागि माग समेत गरेका छन ।

Next Post

कर्णालीका मन्त्री लामाविरुद्ध उच्च अदालतमा रिट दायर

२ फाल्गुन २०७८, सोमबार १६:४८
सुर्खेत — कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । वीरेन्द्रनगर ३ निवासी विनिता बोगटीले फौजदारी कसुरमा सजाय भोकेका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै सोमबार रिट दायर गरेकी हुन् । रिटमा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाई त्यस्तो […]

सम्बन्धित