बजेटको खोलो बग्दा पनि नसुध्रिएको गोठीजीउला कालाकाँध सडक

  ।   ६ फाल्गुन २०७८, शुक्रबार १०:४७

उमेश बुढा,कनकासुन्दरी,
जुम्लाको कनकासुन्दरी गाउँपालिकाको गोठीजीउला बजार हुदै मुगु जिल्लाको खत्याड जोड्ने कालाकाँध सडकमा बजेटको खोलो बगेपनि सुधार हुन सकेको छैन । अहिले सम्म झण्डै १० पटक बजेट विनियोजन भइसकेको छ । न सडकको स्तरउन्नती भएको छ,नत बजेटको कुनै हिसाव किताव नै । बरु उपभोक्ता समिति र ठेकेदार कम्पनीको कमाइ खाने धन्दा भइरहेको छ ।
गोठिजीउला हुदैँ कालाकाँध सडकमा साविकको विराट गाविसबाट १९ लाख रुपैयाँ छुटयाइएको थियो । यो पहिलो शुरुवाती चरणको बजेट हो । जिल्ला विकास समिति जुम्लाबाट १७ लाख रुपैयाँ,जिल्ला विकास समिति मुगुबाट २२ लाख रुपैयाँ,खत्याड गाउँपालिका मुगुबाट ७ लाख रुपैयाँ,कनकासुन्दरी गाउँपालिकाबाट पहिलोपटक १५ लाख रुपैयाँ,दोस्रोपटक १० लाख रुपैयाँ,तेस्रोपटक७ लाख रुपैयाँ,चौथोपटक१० लाख रुपैयाँ र पुर्वाधार विकास कार्यालय जुम्लाबाट १ करोड रुपैयाँ विनियोजन गरेको थियो । खत्याड गाउँपालिकाले सात सय मिटर सडक ग्राभेल गरेको छ । अहिले सम्म करोडौँ रकम सडक स्तरउन्नतीको लागि आइसकेको छ । तर सडकको अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन ।
कनकासुन्दरी गाउँपालिका ३ का एक स्थानीयले भने,‘सडक स्तरउन्नतीको लागि आएको बजेटले सडक बनेन । ठेकेदार र उपभोक्ता समिति बने । यसको हिसावकिताव कसले गरिदिने ?’गोठीजीउला देखि कालाकाँध सडक जुम्लाको कनकासुन्दरी गाउँपालिका र मुगुको खत्याड जोड्ने सडक हो ।
यो सडक खण्डको झण्डै सात किलोमिटर स्तरउन्नतीको लागि गाउँपालिकाले पटक पटक गरेर ४२ लाख रुपैयाँ खर्च गरिसकेको उपाध्यक्ष उर्मिला भण्डारीले बताइन् । सडकको नाला खन्ने,ग्राभेल गर्ने,होमपाईप हाल्ने र साँघुरो भएको सडक फराकिलो बनाउने,पहिरो जाने संभावित ठाउँमा ग्यामिन हाल्ने र खाल्डाखुल्डी भरेर सहजै रुपमा सवारीसाधन चल्न सक्ने बनाउने गरि बजेट हालिएको थियो,उपाध्यक्ष भण्डारीले भनिन्,‘अहिले सहजै रुपमा मालवहाक तथा यात्रुबहाक सवारी चल्न सक्ने अवस्था छैन । न खाल्डा पुरिएका छन,न ग्याबिन हालिएको छ, नत सडक फराकिलो नै भएको छ । यो बिडम्वना हो । ’
मुगुको खत्याड गाउँपालिकाको लागि व्यापार र विकास मार्गको रुपमा गोठीजीउला कालाकाँध सडकलाई लिइएको छ । मुगुको खत्याड गाउँपालिका अध्यक्ष उब्जन शाही बजेट अनुसारको सडक बन्न नसकेको बताउँछन । उनले भने,‘ यो सडक स्तरउन्नतीका लागि गाउँपालिकाले ७ लाख रुपैयाँ हालेको छ । अहिले व्यापारीक तथा विकास निर्माणको सामाग्री सबै गोठीजीउलामै रोकिएका छन ।’ यो सडक बन्द भएको झण्डै पाँच महिना बित्न लागिसकेको छ । खुलाउने पहल हुन सकेको छैन ।
गोठीजीउला देखि कालाकाँध सडकमा पटक पटक बजेट हालियो । तर नियमित सवारी चल्ने सडक बन्न सकेको छैन । उपभोक्ता समिति र ठेकेदारहरुले सडकमा डोजर देखाउने, सडक खने जस्तो गर्ने, सामान्य माटो पन्छाउने गर्छन । यसले डोजर मालिक र ठेकेदार कम्पनी मोटाउने र जनस्तरमा कुनै फेरबदल नआउने देखिएको बुढुगाउँबासी बताउँछन ।
उनीहरुले यो सडकमा आएको विकास बजेटको हिसावकिताव देखाउन माग समेत गरेका छन । १० पटक सम्म सडक खोस्रने काम भयो । तर सडक बनेन । जग्गा बिग्रियो । एक स्थानीयले भने,‘तत्काल सडक स्तरउन्नती गरेर जनजीवन सहज बनाउन पहल गर्नुपर्छ । करोडौँ सरकारी बजेट खर्च भएको छ । सडकमा गाडी गुड्दैन । सडक गुणस्तरको बनेको छैन । मापदण्ड अनुसारको सडक नखन्दा पनि ठेकेदार कम्पनी र उपभोक्ता समितिलाई कार्वाही हुन सकेको छैन । यो जतिको लाजमर्दो बिषय के हुन सक्छ ?
अहिले नै कालोपत्रे हुनु पर्छ भन्ने माग स्थानीयको छैन । गोठीजीउला कालाकाँध सडक लेकाली क्षेत्रमा भएकोले चिसोेमा हिउँ जम्छ । बर्षायाममा हिलोले चल्न सक्ने अवस्था हुदैन ।

Next Post

सुल्झिएन कनकासुन्दरीको केन्द्र विवाद,आठौँ गाउँसभा अनिश्चित

६ फाल्गुन २०७८, शुक्रबार १०:४७
उमेश बुढा,कनकासुन्दरी  जुम्लाको कनकासुन्दरी गाउँपालिकाको केन्द्र तोक्ने बिषयमा जनप्रतिनिधिबीचमा मतभेद देखिएको छ । आधा जनप्रतिनिधिले अहिलेको अस्थायी केन्द्र भएको आसपासको क्षेत्रमा केन्द्र तोकिनु पर्ने धारणा राखेका छन । केहीले साविकको बिराट गाविसमा भएको क्षेत्रमा गाउँपालिका केन्द्र तोकिनु पर्ने अडान राखेका छन । यी दुइ थरीको अडानका कारण गाउँपालिकाले केन्द्र विवाद […]