सीमा विवादको विषय उठ्यो, औपचारिक एजेण्डा बनेन

  ।   २ माघ २०७७, शुक्रबार २०:२३

काठमाडौं । सीमा विवाद, प्रवूद्ध समूहको प्रतिवेदनलगायतका नेपालको उच्च प्राथमिकतमा रहेका विषयले औपचारिक प्रवेश नपाई नेपाल–भारत संयुक्त आयोगको बैठक शुक्रबार सम्पन्न भएको छ ।

वैठकलगत्तै सार्वजनिक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादबारे कुराकानी भएको र दुवै पक्ष वार्ता प्रक्रिया सुरु गर्न इच्छुक रहेको दावी गरेपनि वैठकपछि जारी विज्ञप्तिमा स्पष्ट रुपमा उल्लेख छैन ।

समाचार स्रोतका अनुसार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको भेटमा ज्ञवालीले यो विषय उठाएका छन् र भारतले छलफल गर्ने आश्वासन दिएको छ । तर नेपाल भारत–संयुक्त आयोगको वैठकपछि आयोजक मुलुक भारतले जारी गरेको विज्ञप्तिमा सीमा विवादको विषयमा छलफल भएको कतै उल्लेख गरिएको छैन ।

विज्ञप्तिमा अन्य विषयझैं सीमा व्यवस्थापनको विषयमा कुरा भएको मात्र उल्लेख छ । यसको अर्थ कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय उठ्यो भन्ने लाग्दैन, किनकी योबाहेक प्राविधिक रुपमा सीमा व्यवस्थापनका धेरै विषय छन् ।

सीमा विवादको हिसाबले शुक्रबार सम्पन्न आयोगको वैठक यसअगाडि भन्दा पछाडि फर्किएको छ ।

सन् २०१४ मा काठमाडौंमा भएको आयोगको वैठकमा किटेर नै सुस्ता र कालापानीको किटेरै छलफल भएको थियो र विज्ञप्तिमा पनि उल्लेख गरिएको थियो । त्यसको समाधानको लागि परराष्ट्र सचिवस्तरीय संयन्त्र बनाउने र आवश्यक परेमा उसले प्राविधिक सहयोग लिनेसमेत उल्लेख भएको थियो । त्यसपछि यो विषय प्रवुद्ध समूहमा छलफल भएकाले वैठकमा आएन ।

यस पटकको वार्तामा पनि भारत यसअघिझैं प्रवुद्ध समूहको प्रतिवेदन ग्रहण गर्न तयार भएन । सन् २०१९ मा काठमाडौंमा भएको आयोगको वैठकमा प्रवुद्ध समूहको प्रतिवेदन बुझ्ने विषयमा कुराकानी भएको थियो । तर यसपटक केही पनि उल्लेख छैन ।

परराष्ट्रमन्त्रीको भ्रमणको समयमा कोभिड–१९ खोप ल्याउने विषयमा कुराकानी भएको छ । वार्तामा नेपालले भारतलाई सकेसम्म छिटो खोप प्रदान गर्नका लागि आग्रह गरेको छ । तर भारतले यसमा पनि आश्वासन मात्र दिएको छ ।

भ्याक्सिनमा किन सहमति भएन भन्ने प्रश्नमा एक भारतीय अधिकारीले भने, ‘भारतले केही खोप छिमेकी देशलाई दिने तयारी गरिरहेको छ तर जीटूजी (सरकार–सरकार) तहमा सहमति हुने तहमा पुगेको छैन ।’

Next Post

अक्सफोर्डको कोरोना खोपलाई नेपालमा अनुमति

२ माघ २०७७, शुक्रबार २०:२३
अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनाकासँगको सहकार्यमा भारतको सेरम इन्सिच्युटले उत्पादन गरेको कोरोना खोपलाई नेपालले प्रयोग अनुमति दिएको छ। सो इन्सिच्युटले विकास गरेको ‘कोभासिल्ड’ खोपलाई नेपालमा आपत्कालीन प्रयोग गर्न औषधि व्यवस्था विभागले शुक्रबार अनुमति दिएको हो। ‘कोभासिल्ड’ खोप कोभिड–१९ विरुद्ध नेपालमा प्रयोग अनुमति प्राप्त गर्ने पहिलो खोप बनेको छ। […]