खडेरीले हियाखोलाका खेतहरु चिराचिरा

  ।   ३२ जेष्ठ २०८०, बिहीबार १९:५०

जुम्ला । तातोपानी गाउँपालिका ६ का हियाखोला गाउँका हर्क कामीले गत हप्ता हियाखोला जिउलोमा रहेको एक भारी खेतमा कालीमार्सी धान रापे । मानो रोपेर मुरी फलाउने कल्पना सहित खेतमा मार्सी धान रोपेका हर्क सुख्खा खडेरीले खेत नै सुकेर चिराचिरा परेपरि निकै चिन्तत छन् । उनको खेतमा रोपिएका धानका बोटहरु सुकेका छन् । जमिन चिरिएको छ । उनले भने,‘सिचाइ नहुंदा जमिन चिरिएसंगै मन पनि चिरा परे जस्तो लाग्छ । ’ खेतमा धान फलेको बर्षमा उनको घरमा मार्सीचामलले मात्र ६ महिना धान्दै आएको छ ।


अब उनको खेतमा सिचाइ‘ समयमै हुन नसकेको खण्डमा खेत बॉझै रहने निश्चित छ । हियाखोला गाउँकै खड्क बिष्टले जेठ २१ गते धान रोपे । सिचाइ गर्न नपाउँदा खेत सुकिसकेको छ । खेत संगै रोपिएका धानका बोटहरु सोत्तर हुन थालिसकेका छन । उनले भने,‘पानी प्रयाप्त नहुंदा किसानले सुख्खा खडेरीको सामाना गरिरहनु परिरहेको छ । ’हर्क र खड्क प्रतिनिधि पात्र मात्र हुन । उनीहरु जस्ता हियाखोला गाउ‘का झण्डै ७० घरधुरीका किसानहरु सुख्खा खडेरीका कारण खेतमै धानका बोटहरु सुकेको टुलुटुलु हेरिरहेका छन ।


सिचाइ‘ गर्न पालो कुर्नुपर्ने अवस्था छ । सबैको पालो आउन्जेल सम्म अधिकांस किसानका खेतहरु सुकेर धानका बोटहरु सोत्तर भइसक्ने देखिन्छन् । स्थानीय किसान असोजे कामीले भने,‘रोपाइ चल्दै खेतमा संकलन भएको पानी सुकेर लेदो जस्तो भइसक्छ । एक दुइ दिन त टिक्ने अवस्था नै रहदैन् । ’ असोजेको २ भारी खेत छन् । संधै जसो खेतहरुमा धान रोपेर ६ महिना गुजारा चलाउने उनी अहिले भोकमरी हुने भन्दै दु:खित देखिन्छन् । प्रयाप्त पानी हुंदा धान उत्पादन राम्रै हुन्थ्यो । ६ महिना गुजारा चल्थ्यो, उनले भने,‘जिउलोमा धान रोपि नसक्दै खेतहरु सुक्न थालेपछि बालबच्चा के गरेर पाल्ने भन्ने पिरलो सुरु भइसकेको छ । ’ खेतमा धान सुक्न थालेपछि उनको ४ जनाको परिवार ज्यालामजदुरीको काममा सक्रिय हुन थालेको छ । झण्डै दुई दशक पहिले सम्म हियाखोला जिउलोमा मार्सीधान लहलहाउँदो फलिरहेको हुन्थ्यो । किसानहरु खेतहरुमा जॉदा उत्साहित भएर घर फर्किरहेका हुन्थे तर अहिले धान रोपेर नसकिदै जागर मरिसक्छ । उनले भने,‘अबको दुई तीन बर्ष पछि खेतहरुमा धान रोपेको देख्दा समेत अचम्म मान्नुपर्ने अवस्था आउन सक्छ । ’


गाउँको बिचमा दिलौरी खोला बग्छ । तर अहिले खोला सुक्न थालेको धेरै भइसक्यो । आकाशे पानीको भरमा धानहरु रोप्ने गरिएको छ । जथाभावी बनजंगल नास गर्नु,खोरिया फडानी गर्ने जस्ता मानवीय कमजोरीले पानीका मुहानहरु सुक्दै गएका हुन । किसानहरु धानको विकल्पमा अन्य बालीनाली लगाउन सुरु गरेका छन् । हियाखोलाको आधा जिउलोमा त स्याउ खेति गर्न थालिएको छ । त्यसैमा कोदो,जौं,गहुं,मकै,सिमी लगाइदै आएको छ । सिंचाइं अभावले तरकारी खेतिगर्न समेत कठिन छ ।
दिउसो खेतमा धान रोपेर घर फर्किएका किसानहरु अर्को विहान खेतमा पुग्दा पानी सुकेर चिरा परेको देखिन्छ । न खेतमा धान रोप्ने काम छोड्न सकिन्छ, नत प्रयाप्त सिचाइ व्यवस्था गरेर रोप्न नै सकिन्छ,असोजेले भने,‘पहिचान बचाउने भनेर रोपिएको धानले कति दिनको छाक टार्ला र ?


’ तत्काल सिचाइ‘को प्रबन्ध मिलाएर किसानहरुको धान फलाउने चाहना पुरा गर्न किसानहरुले माग गरेका छन । उनीहरुले पटक पटक,स्थानीय सरकार,प्रदेश र संघीय सरकारका प्रतिनिधिहरुलाई सिचाइ‘ अभावको बिषयमा ध्यानाकर्षण गराउँदै आएका छन । हरेक निर्वाचनमा यहॉको सिचाइ दलका उम्मेदवारहरुको प्रमुख एजेण्डा बन्छ तर जितेर गइसकेपछि सिचाइ अभावले खेतहरु बाँझै देखिन्छन् । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार सिचाइं सुविधाको लागि लिफ्ट सिचाई परियोजना चलिरहेको बताउ‘छन । खोलमा पानी आउने त्यति नै हो । लिफ्ट परियोजना सुरु भएको छ । तिला नदिको पानी लिफट्बाट तानेर सिचाई गर्ने भनिएकोमा प्रभावकारी देखिएको छैन ।


उनका अनुसार गाउँ ठुलो पानी संकलन पोखरी बनाइरहेका छन । जसका लागि ७० लाख बजेट छुट्याइएको छ । पोखरी बनेर पानी संकलन भएपछि सिचाइंमा केही सुधार आउला भन्ने आशा पलाएको छ । उनले भने,‘बर्षेनी हियाखोला जिउलोमा सिचाइ गर्न कठिन हुन्छ । खेतहरु सुकेर जमिन चिराचिरा परिरहेको हुन्छ । पानीका मुहानहरु नभेटिने र खोला बर्षेनी घट्दो क्रममा रहेकोले विकल्प पनि छैन् । तर तिला नदिको पानी लिएर भएपनि किसानहरुको मार्सीधान रोप्ने चाहना पुरा गर्ने लक्ष्य राखिएको छ । ’
कर्णाली राजमार्ग संगै जोडिएको जिउलो भएकोले धान फल्ने समयमा जिउलो बाँझो देखिदा किसान त के ओहोरदोहोर गर्ने जो सुकैको मन भक्कानिन्छ ।

Next Post

लागुऔषध विरुद्धको अभियानमा चन्दननाथ ६ का जनप्रतिनिधि

३२ जेष्ठ २०८०, बिहीबार १९:५०
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका ६ का जनप्रतिनिधिहरु लागुऔषध विरुद्धको अभियानमा जुटेका छन् । उनीहरुले किशोरकिशोरीहरुलाई लागुऔषधका बारेमा सचेत गराउने,तालिम र प्रशिक्षण दिने,अभिभावकलाई लागुऔषधको कारोबार र सेवनले हुने धनजनको क्षतिको बारेमा चनाखो बनाउर्ने देखि प्रहरीको सहायतामा कानुनी प्राब्धानको बिषयमा जानकारी दिने कार्यको सुरुवात गरेका हुन । जुम्लामा एक नगरपालिका र […]

सम्बन्धित