सामाजिक संस्थाको संरक्षणमा रहेकी हिंसापीडित महिला मृत फेला

  ।   ७ आश्विन २०८०, आईतवार २१:२४

(कालीकोट) — कालीकोटस्थित सामाजिक संस्था सोसेकको संरक्षणमा रहेकी एक २५ वर्षीया घरेलु हिंसापीडित महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटले भदौ २४ मा पत्र लेखेर सान्नीत्रिवेणी–१, लुसा माइतीघर भएकी गीताकुमारी जैसीलाई सोसेकको सेल्टरमा पठाएको थियो ।

जैसीलाई आइतबार बिहान ९ बजे सेल्टरको शौचालयमा झुण्डिएको अवस्थामा फेला पारिएको कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए । डीएसपी केसीका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जैसीमाथि उनका श्रीमान दानबहादुर शाही लगायत पहिलो श्रीमती रञ्जनासहित घरपरिवारका सदस्यले शारीरिक तथा मानसिक हिंसा गर्ने गरेको बताउँदै उनले अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।

यसबीचमा मान्मा बजारमा एक्लै डेरा गरी बसेकी जैसी भदौ २२ गते एकाएक हराएपछि श्रीमान पक्षले गायब बनाएको आरोपसमेत लागेको थियो । त्यसको भोलिपल्ट उनी नेपालगञ्जमा भेटिएकी थिइन् । नेपालगञ्जमा फेला परेसँगै उनले श्रीमान पक्षले उल्टै आफूविरुद्ध जाहेरी दिएपछि हताष भएर कोठा छाडेर हिँडेको बताएकी थिइन् । आफूले न्यायका लागि गरेको पहलमा कसैको साथ नपाएपछि बेपत्ता हुन खोजेको उनको भनाइ थियो ।

जैसी बेपत्ता भएपछि उनको खोजीका लागि पहलको माग गर्दै प्रहरी कार्यालय घेर्न पुगेका उनका १० जना आफन्तलाई प्रहरीले अराजकता मचाएको भन्दै नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकामध्ये उनको मुद्दाका साक्षीसमेत रहेका तीन जना अझै प्रहरीको हिरासतमा छन् । पक्राउ परेकामध्ये नमराज सुवेदी, गंगाराम जैसी र अमृता न्यौपानेलाई उपद्रवमा मुद्दा चलाएर प्रहरीले थुनामा राखेको छ ।

यस्तै, एक महिनाअघि गीता र उनका छोरालाई मारिदिने धम्की दिएका श्रीमान दानबहादुरलाई प्रहरीले असोज ३ गते हिरासतमुक्त गरेको थियो । गत वर्ष गीताको बुवाको लुसा भीरमा लडेर मृत्यु भए पनि उक्त घटना आफूले मान्छे लगाएर गराएको दानबहादुरले बताएसँगै उनी पक्राउ परेका थिए ।

Next Post

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

७ आश्विन २०८०, आईतवार २१:२४
प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन्। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तासमक्ष आग्रह गरे। चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी […]