मेयर-उपमेयरले बजेट कब्जा गरेको वडाध्यक्षहरुको आरोप

  ।   ११ आश्विन २०८०, बिहीबार २०:२३

जुम्ला — जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाका मेयर-उपमेयरले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट कब्जा गरेको वडाध्यक्षहरुले आरोप लगाएका छन् ।

चन्दननाथ-५ बिर्खबहादुर कार्की, ७ का गणेशबहादुर महत, ९ का भिमबहादुर रावत र १० नम्बर वडाका वडाध्यक्ष नवराज शाहीले संयुक्त अपिल निकालेर अहिलेसम्म बजेट बाँडफाँट नगरी मेयर-उपमेयरले मनपरीरुपमा वडामा बजेट पठाउन थालेको प्रति विरोध जनाएका हुन् । ‘कम स्रोत साधनका बाबजुद पनि अधिकतम जनताले लाभ लिने पाउने संयन्त्रको विकास गर्नु जनप्रतिनिधिको धर्म हो,’ उनीहरुले अपिलमा भनेका छन्, ‘जनताले दिएको मत फगत भोट मात्र होइन । इमान्दारीपूर्वक काम गर्नुपर्ने आदेश पनि हो । तर मेयर-उपमेयरका कारण जनताको मतको कदर गरेर अन्यायविरुद्ध उत्रर्नु पर्ने भयो । ’

चन्दननाथ नगरपालिकाका ४ वडाध्यक्षहरुले वडाको आवश्यकताको आधारमा नभई मेयर उपमेयरले मनपरीरुपमा बजेट दिएको उनीहरुले दुखेसो गरेका छन् । ‘मेयर-उपमेयरले बजेटमा पार्टी राजनीति मिसाउन खोज्नु भएको छ,’ चन्दननाथ-६ का वडाध्यक्ष महतले भने, ‘जसले उनीहरुको पार्टीइतरका जनप्रतिनिधिको हकअधिकार कुण्ठित भइराखेको छ । प्रजातन्त्रमा अल्पमतको कदर हुन्छ । तर अल्पमतको अस्तित्वलाई नकार्दै जबर्जस्ती आफूहरुको निर्णयमात्रै लाद्न खोज्नु निरंकुशता भएको हाम्रो ठहर छ । ’

उनीहरुले वडाको विकासमा मेयर-उपमेयर बाधक बनेको र जग्गा खरिददेखि अनेक बाहना बनाएर बजेट नै कब्जा गरेर वडाको विकास र वडावासीको समृद्धिको चाहना माथि कुठराघात गरिएको भन्दै आक्रोश पोखेका छन् । नगरको सबै बजेट पालिकामा राखेर वडामा जम्मा १६ लाखमात्र पठाउने निर्णय गरेको उनीहरुको आरोप छ । ‘यो विषय स्थानीय सरकार सञ्चालन ऐन २०७४ विरुद्ध छ । यो कनिका छरेको जस्तो बजेटबाट वडाको विकास नभई वडावासीहरुबीच मनमुटाव हुने र जनप्रतितिको समेत गरिमा घट्ने निश्चित छ,’ चन्दननाथ-१० का वडाध्यक्ष नवराज शाहीले भने,‘यो अपजसको भागिदार मेयर, उपमेयर नै हुनुपर्छ । स्थानीयस्तरमा विकासको मूल फुटाउनुपर्ने जनप्रतिनिधिले कलहको बीउ रोप्नु अत्यन्तै दुःखद् हो । मेयर-उपमेयरलाई आफ्नो स्वेच्छाचारी प्रवृत्ति त्यागेर वडाको विकासमा जुट्न अपिल गर्दछौं ।’ नगरपालिकाले गरेको अन्यायविरुद्ध चुप लागेर नबस्ने समेत उनीहरुले चेतावनी दिएका छन् ।

चन्दननाथ-५ का वडाध्यक्ष बिर्खबहादुर कार्कीले बजेट निर्माण गर्दा मेयर-उपमेयरले कानुन नदेखेको र नियमसँग जान इच्छा नगरेको आरोप लगाए । उनले भने, ‘मेयर-उपमेयरले दम्भ देखाएर बजेटमा एकलौटी गरे । जसले जनताको विकासको चाहना निराशामा बदलियो ।’

उनले बजेट पास गर्न आयोजित गाउँसभाबाटै बदमासी सुरु भएको बताए । ‘बन्दसत्रमा मेयर-उपमेयरले असार २४ गते सिस्टम बन्द हुने र अन्य रकमको हिसाबकिताब हुने भएकोले पछि डल्लो बजेट फुटाल्ने भनेका थिए,’ उनले भने, ‘यहाँ त भत्ताको प्रलोभन देखाएर धमाधम सदस्यहरुलाई हस्ताक्षर गर्न लगाएर एकलौटी कब्जामा लिइसकेका रहेछन् । २ करोड ४५ लाख बजेट डल्लो अवस्थामै थियो  ’ मेयर उपमेयरले वडाको विकास माथ धावा बोलेको समेत आरोप लगाएका छन् ।

Next Post

एमाले कर्णाली अधिवेशन: बन्द सत्रका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन

११ आश्विन २०८०, बिहीबार २०:२३
बुधबार देखि सुरु भएको नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनको बन्द सत्र सुरु भएको छ। बन्द सत्र सुरु भएसँगै ११ सदस्यीय अध्यक्ष मण्डल घोषणा भएको छ। एमाले सचिव लेखराज भट्टको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरिएको एमाले प्रदेश अध्यक्ष विनोद शाहले जानकारी दिए। अध्यक्ष मण्डलको सदस्यमा स्थायी कमिटी सदस्य द्वय यामलाल कडेल, […]