देवता मान्छौं, छाउपडी प्रथा मान्दैनौं

  ।   २६ पुष २०८०, बिहीबार १०:०३

जुम्लाको पातारासी गाउँपालिका ४ तिर्खु गाउँका ६७ वर्षका जगबहादुर बोहोरा महादेव धामी हुन्। उनले छाउपडी नमान्ने प्रतिबद्धता जनाए। छाउपडी प्रथाका मुख्य गढ मानिने देवताका धामीझाँक्री डाँगी (पुजारी) ले नै छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरे।

उनीहरूको एउटै स्वर थियो, ‘देवता मान्छौं, छाउपडी प्रथा मान्दैनौं। महिनावारी भएकी छोरी र बुहारीलाई घरमै राख्छौँ। पहिले विभेद गरियो। अब गर्दैनौं।’

यस्तै उक्त वडाकी महिला सुकु बोहोरा पनि धामी हुन्। उनले भनिन्, ‘छाउपडीविरुद्ध वकालत गर्ने बताउँछिन्। छाउपडी प्रथा मान्नु हुँदैन भनेर गाउँमा अठोटका साथ लाग्छौं। छाउ नबार्दैमा कसैलाई केही भए आफूले जिम्मा लिने दाबी गरिन्। उनले थपिन्, ‘म आफैं देवताको धामी छु, तर म घरमै बस्छु, तपाईंंहरू कसैलाई घरमै छाउपडी बसालेकै भरमा देवता लाग्यो भने त्यसको जिम्मेवारी स्वयं म लिन्छु।

बुधबार पातारासी गाउँपालिका ४ वडालाई छाउ गोठमुक्त वडा घोषणासँगै सामाजिक कुरीति र कुसंस्कार अन्त्यका लागि साझा प्रतिबद्वता पत्रमा हस्ताक्षर गरी यस्तो साझा प्रतिबद्वता जाहेर गरेका हुन्। पातारासी गाउँपालिकाअन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजनामा छाउ गोठमुक्त वडा घोषणा गरिएको हो।

महिला तथा बालबालिका शाखा प्रमुख भगवती  गिरीले भनिन्, ‘छाउपडी हुनु अभिशाप होइन। कुनै पापको प्रतिफल पनि होइन। यो त नियमित प्रक्रिया हो। फल लाग्नका लागि फुलेको एक प्रकारको फूल हो। महिलामा छाउपडी हुँदा न देउता रिसाउँछन्, न त उनीहरुलाइ देउताले नै छुट्टै राख भन्छन्। यो त समाजमा महिलालाई दबाइराख्न बनाइएको संस्कार मात्र हो।’

मानवअधिकारका दृष्टिले छाउपडी र नछुनेका नाममा महिलााथि हुने भेदभाव, वञ्चिती वा निषेध एक प्रकारको ज्यादती हो। शाखाले गाउँपालिकाभित्र रहेका महिला समुह, किशोरी समुह, बालसमुह, गाउँगाउँ र विद्यालयमा, प्रहरी, धामीझाँक्री र जनप्रतिधिनिको सहभागितामा पैरवी गर्दै आइरहेको उनको भनाइ छ।

यता डिल्लीचौर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदमराज जैसीले मुलुकी अपराध संहितामा कसैले पनि महिनावारी भएकी महिलालाई छुवाछुत गर्ने वा छाउगोठमा राख्ने गरेमा तीन महिनासम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको बताए।

‘सरकारले २०६४ सालमा छाउपडी प्रथा उन्मूलन निर्देशिका जारी गरेको छ। हामी पातारासी गाउँपालिका ४ का पाँच सय घरधुरीले आजदेखि कोही कसैले छुई भएको अवस्थामा गोठमा नभई घरमा बस्ने भनी साझा प्रतिबद्धताका साथ छाउ गोठमुक्त गाउँ घोषणा गर्दछौँ। कोहीकसैले छाउ भएको अवस्थामा पुनः छाउगोठ प्रयोग गरेको भेटिएमा कानूनबमोजिम सजायको भागीदार हुने छौँ’, प्रतिबद्धतामा भनिएको छ।

उक्त वडाभित्र डिल्ली चौर, लाम्री, तिर्खु, बैसेनी र डोलकाटी बस्ती पर्छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले महिनावारी हुने उमेरका सबै किशोरी तथा महिला महिनावारी हुँदा घरमै बस्दै आएपछि ४ नम्बर वडालाई छाउ गोठमुक्त घोषणा गरिएको बताए। समाजमा सकारात्मक परिवर्तन आएको बताउँदै छाउ गोठ अन्त्यसँगै समाजमा रहेका कुरीति र विभेद अन्त्य गर्न सक्रियताका साथ अगाडि बढ्न सबैमा अनुरोध गरे।

यस्तै ४ नम्बर वडाध्यक्ष कालीबहादुर ऐडीका अनुसार गाउँमा अहिले छाउ प्रथा मान्ने कुनै घर छैन। घोषणा कार्यान्वयनमा फितलो देखिए कारबाही गरिने छ। छाउ गोठमुक्त घोषण कार्यक्रममा देउडालगायत छाउपडी कुप्रथा मान्दैनौं, घरमै बस्छौं, पोसिला खानेकुरा दही, दूध जस्ता खानेकुरा खान्छु भन्ने सन्देशमूलक प्रस्तृति गरिएको थियो। वडालाई छाउ गोठमुक्त वडा घोषणा गर्न मूलधारमा रही काम गर्ने महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीलगायतका व्यक्ति र निकायलाई सम्मान गरिएको छ।

Next Post

हुम्लामा चामल ओसार्दै हेलिकप्टर

२६ पुष २०८०, बिहीबार १०:०३
जनतालाई चामल वितरण गर्न हेलिकोप्टर चार्टर गरिएको छ। हुम्लामा खाद्य संस्थानले हिउँ पर्नुअघि जनताका घरघरमा चामल झार्न हेली चार्टर गरी चामल उपलब्ध गराएको हो। चामल अभाव नहोस् भनेर सुर्खेतबाट गाडीमा हुम्लाको सार्केघाट गाउँपालिकाको सालतडीमा स्टोर गरेर त्यहाँबाट हेलिकोप्टरले ढुवानी गर्ने गरेको छ। हेली चार्टर गरेर चामल हुम्ला सदरमुकाम सिमकोट पुगेसँगै […]