खलंगामा प्रदर्शनकारी र प्रहरीबीच झडप

प्रहरीको कुटाइबाट बालकको मृत्यु भएको आफन्तको दाबी

  ।   ६ फाल्गुन २०७७, बिहीबार २२:०३

जुम्ला — प्रहरीको कुटाइबाट स्थानीय बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय जुम्ला घेराउ गर्दा खलंगामा तनावग्रस्त भएको छ ।

गुठिचौर गाउँपालिका–३ का १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । बुढासहित उनका सात जना साथीहरु माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।

उनलाई मोबाइल चोरीको आरोपमा प्रहरीले सामान्य सोधपुछ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । ‘जिल्ला प्रहरी कार्यालयमा ल्याएर छलफल र सोधपुछ पछि उनलाई छोडिएको हो’, उनले भने, ‘मृतकका आफन्तले भने प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै प्रहरी कार्यालय घेराउ गर्न आएपछि स्थिति तनावग्रस्त भएको हो । भीडलाई तितरबितर गर्न लाठीचार्ज र अश्रुग्यास प्रहार गरिएको हो ।’

१४ वर्षीय पदम बुढा उपचारका लागि माघ ३० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगेका थिए । उनको खुट्टामा चोट लागेर सुन्निएको अवस्थामा उपचारका लागि अभिभावकसँग अस्पताल पुगेका थिए ।

ओपीडीमा उपचार गराउन आएका बुढाको अवस्था नाजुक भएपछि फागुन ४ गते आईसीयूमा राखेर उपचार थालिएको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक अनुपमंगल समालले बताए । अस्पतालमा हाडजोर्नी, सर्जरी लगायतका धेरै विभाग र विशेषज्ञ चिकित्सकहरुले उपचार गरेका थिए । ‘उनको श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई आईसियुमा राखेर उपचार थालिएको थियो’, उनले भने, ‘जमेको रगतका टुक्राहरु फोक्सामा पुगेका कारण बिरामीलाई बचाउन सकिएन । अस्पतालले बिरामीलाई बचाउन अथक प्रयास गरेको हो ।’

मोबाइल चोरी गरेको आरोपमा प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर निर्मम तरिकाले कुटपिट गरेका कारण बुढाको मृत्यु भएको आफन्तले बताइरहेका छन् । गुठिचौर गाउँपालिका–३ गज्याङकोटका स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाहीको माग गर्दै सदरमुकाम खलंगामामा आन्दोलन गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप भएको हो । झडपमा मृतकका आधा दर्जन भन्दा बढी आफन्त घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

Next Post

राष्ट्रिय प्रजातन्त्र दिवसः राष्ट्रपतिबाट कैदीबन्दीको कैद सजाय मिनाहा

६ फाल्गुन २०७७, बिहीबार २२:०३
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छन्। मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार र्खिहाङ लिम्बूसमेतका ४०१  कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ। लिम्बूलगायतलाई […]

सम्बन्धित