कर्णाली सरकारद्वारा चीनसँगको विवादित भूमिको स्थलतगत निरीक्षण

  ।   २६ असार २०७८, शनिबार २०:३०

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चीनले अतिक्रमण गरेको भनिएको हुम्लाको उत्तरी क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। सत्ता साझेदार दल नेपाली कांग्रेस कर्णाली प्रदेशसभाका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई लिएर मुख्यमन्त्री शाहीले नाम्खा गाउँपालिका–६ स्थित ललुङजोङ, लाप्चा, हिल्सा र कीट क्षेत्रको स्थलगत अनुगमन गरेका हुन्। कांग्रेस केन्द्रीय सदस्य शाही नेतृत्वको टोलीले गत असोजमा ललुङजोङ क्षेत्रको स्थलगत अनुगमन गरेको थियो।

‘चीनद्वारा अतिक्रमित भूमिको विषयमा छानविन गर्न गत असोजमै कांग्रेसकातर्फबाट प्रदेश र संघीय सरकारलाई ज्ञापनपत्र बुझाएका थियौं,’ संसदीय दलका नेता शाहीले भने, ‘प्रदेश सरकारले ढिलै भएपनि औपचारिक रुपमा उत्तरी क्षेत्रको वस्तुस्थितिबारे स्थलगत निरीक्षण गरेर प्रदेशभित्रको भूमिको रक्षार्थ पहल सुरु गरेको छ।’

चीनद्वारा अतिक्रमण गरिएको भनिएको क्षेत्रको अनुगमनपछि मुख्यमन्त्री शाहीले संघीय सरकारसँग आफुले यो विषयमा कुरा गर्ने बताएका थिए। ‘ललुङजोङ क्षेत्रको भूमिका विषयमा छलफल चलाइनु आवश्यक छ,’ मुख्यमन्त्री शाहीले स्थलगत अनुगमनपछि भने, ‘संघसँगको समन्वय बैठकका बेला यो विषयमा कुरा हुन्छ।’ उनले दुई देशबीचको सीमा विवादको कुरो भएकाले संघीय सरकारमार्फत छलफलको विषय बनाइनु आवश्यक रहेको बताए।

वर्षौदेखि नेपालीले भोगचलन गर्दै आइरहेको ललुङजोङ क्षेत्रमा चीनले ११ घर निर्माण गरेपछि सीमा विवादको विषय बाहिर आएको थियो। अघिल्लो वर्ष तत्कालीन प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली पनि अतिक्रमण भएको भनिएको क्षेत्रमा पुगेको थियो।

नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले नेपालले १२ वर्षअघि खनेको सडकभन्दा दुई किलोमिटरभित्र नेपाली भूमिका चीनले घर निर्माण गरेको बताए। ‘यो क्षेत्र मानसरोवर नजिकै पर्छ,’ उनले भने, ‘ढिलै भएपनि अतिक्रमण भूमिको अनुगमन सुरु भएको छ, यतार्थ बाहिर आउने अपेक्षा लिएका छौं।’

मुख्यमन्त्री शाही नेतृत्वको टोलीले चीनले अतिक्रमण गरेको भनिएका ललुङजोङ, लाप्चा, हिल्सा र कीट क्षेत्रको अनुगमन गरेको थियो। यी क्षेत्रमा १२, १०(२), ९(२), ८(१), ७(१), ६(१), ६(२), ५(१) र ५(२) सीमास्तम्भ छन्। प्रदेशसभामा सो क्षेत्रबाट निर्वाचित सांसदसमेत रहेका कांग्रेस नेता शाहीले सीमा अतिक्रमणको मुद्दा अव जिल्लाबासी, र पार्टी विशेषको नरहेको बताए। ‘अव प्रदेश सरकारको पनि चासोको विषय बनेको छ,’ उनले भने, ‘विस्तारै संघीय सरकार, सिंगो नेपाल र आम नेपाली नागरिकको चासोको विषय बन्नेछ।’ Nagariknews.com

Next Post

कहिले बन्छ एम्बुलेन्स,कहिले आउँछन डक्टर ?

२६ असार २०७८, शनिबार २०:३०
गोल्डेन बुढा, जुम्लाको हिमा गाउँपालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र ४ बर्ष देखि डक्टर विहिन छ । डक्टर नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ । डा. नहुँदा बिरामीले चिकित्सकीय सेवा पाउन सकेका छैनन । चार बर्ष देखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज […]

सम्बन्धित