नाग्म बजारको स्वरुप बदलिँदै

  ।   २२ फाल्गुन २०७८, आईतवार २०:१७

निकै साँघुरो सडकका कारण व्यवस्थित हुन नसकेको जुम्ला कालिकोट सिमानामा रहेको नाग्म बजारको स्वरुप बदलिएको छ। अहिले निकै फराकिलो सडक भएकोले व्यवस्थित बजारका रुपमा परिचित हुन पुगेको छ। बजार भित्र पन्ध्र मिटर चौडाइ सडक छ। जसमध्ये १० मिटर सडक कालेपत्रे हुँदैछ। पाँच मिटरमा फुटपाथ बनाउने तयारी भइरहेकोछ ।

बजार अहिले निकै सुन्दर छ। निकै फराकिलो भएकोले बजारको शोभा पनि बढेको छ। स्थानीय बालमिकीप्रसाद पाण्डेयले भने,‘अहिले बजारभित्र पक्की संरचना निर्माण हुन थालेका छन्। सडक छेउमा व्यवस्थित ढलनिकास नाला बन्न थालेका छन्। बजार निकै सरसफाइयुक्त छ।’

‘पहिले निकै साँघुरो थियो नाग्म बजार। लस्करै घरटहरा जोडिएका थिए।  भिडभाड पनि निकै हुन्थ्यो। जोडिएका घरटहराबाट उत्पादन हुने फोहोर जहाँतहीदेखिन्थ्यो। नाग्म बजार अव्यवस्थित बजारका रुपमा चिनिएको थियो’,पाण्डेयले भने,‘अहिले न बजार फोहोर छ। नत भिड नै लाग्छ। सडक छेउमा पक्की घर बन्न थालेका छन्। यहाँको व्यापार व्यवसाय व्यवस्थित हुँदै जान थालेको छ।’

सडक नै फराकिलो भएपनि दुर्घटना हुने जोखिम निकै घटेको छ। जुम्ला कालिकोटको सिमानामा पर्ने बजार भएकोले सवारीसाधनको निकै चाप हुने गरेको स्थानीय बताउँछन्। यहाँ बसेर यात्रुवहाक सवारीसाधन नाग्म हुँदै मुगुको गमगडीसम्म जाने गर्छन्। बर्षा हुँदा निकै हिलोले सताउँथ्यो। हिउँदमा धुलोले हैरानी बनाउँथ्यो। सडक क्रम गर्न पनि निकै सकस हुने गरेको स्थानीयले अनुभव सुनाउँछन्।

यो बजार कालिकोट मान्म पछिको ठूलो बजार हो। यहाँ किनमेल गर्न आउनेको निकै भिड लाग्ने गरेको छ। यहाँबाट नै होलसेलको सामान गाउँसम्म पुग्छ। साँघुरो बजारका कारण सास्ती हुन थालेपछि स्थानीयले आफै घरटहरा भत्काएर सडक डिभिजन कार्यालय जुम्लालाई सडक चौडा गर्न साथ दिएका थिए। पाण्डेयले भने,‘सडक कार्यालयले सडक फराकिलो गर्ने प्रस्ताव ल्याएर सहयोग गर्न अपिल गरेको थियो। स्थानीयले धमाधम घरटहरा आफै भत्काए। ’

व्यवस्थित बजार निर्माणको लागि झण्डै ६० वटा घरटहरा भत्काइएका थिए। नाग्म बजारमा ८२ घर छन्। यो बजार जुम्ला कालिकोटको व्यापारीक केन्द्र समेत हो। ब्यापारी आफैले पक्की भवन बनाउन थालेका छन्। आफ्नो अनुकुलतामा घर बनाएर व्यापार गर्न थालेकोले नाग्म बजारको सुन्दरता झनै थपिएको छ।

तिला ७ का रत्नलाल रोकाया नाग्मबजारको शोभा बढ्नुमा नाग्मबासीको हात रहेको बताउँछन्। उनले भने, ‘स्थानीयले साथ दिए। सडक कार्यालयले सडक चौडा गरिदियो। यो पाठ सडक छेउमा जोडिएका अन्य बजारले सिक्न जरुरी छ। ’

पहिले नाग्म बजारमा पार्किङको समस्या थियो। जीर्ण घरटहराका कारण पहिरोको उच्च जोखिममा थियो। रोकायाले भने,‘अहिले नजिकैको गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु फुटपाठमा राखेर सहजै रुपमा बेच्न पाएका छन्। ’यो बजार कालिकोट जिल्लामा पर्ने भएपनि जुम्लाबासीले सबैभन्दा बढि किनबेच गर्छन्।

सडक नपुग्दा यहाँ सानातिना छाप्रो थिए। बाटो हिड्ने बटुवा र खच्चडवाला मात्रै बसाल्नको लागि बनाइएको हुन्थ्यो। कर्णाली राजमार्गको ट्रयाक खुल्ने वित्तिकै या नाग्म गाउँबाट नाग्मबजारका रुपमा स्थापित भयो। गाउँ जोड्ने सबैभन्दा ठूलो बजार बन्यो।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले नाग्म बजार सडक चौडा गर्न स्थानीयले खेलेको भूमिका निकै प्रशंसनीय रहेको बताए। उनले भने, ‘नाग्म बजारको सडक पीच गर्नेदेखि नाला बनाएर व्यवस्थित बनाउने काम चलिरहेको छ। दुई लेनको सडक बनाएर व्यस्थित बजार बनाउने कार्य भइरहेको छ। ’ उनले नाग्म बजार लगायतका कर्णाली राजमार्गका विभिन्न खण्डमा सडक चौडा गर्ने कार्य चलिरहेको बताए।

Next Post

जुम्लामा दुग्ध ट्याङ्कर पुग्दा किसान उत्साहित

२२ फाल्गुन २०७८, आईतवार २०:१७
जुम्लाका पशुपालन किसानले घरबाटै दुध बोकेर बजारसम्म ल्याउनुपर्ने बाध्यता हटेको छ। जिल्लामै पाँच सयदेखि एक हजार लिटरसम्म दुध बोक्ने ट्यांङकर उपलब्ध भएपछि किसानले दुध बोकेर बजारसम्म ल्याउनु पर्ने बाध्यता हट्ने भएको हो। पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको ट्यांङकर हिमाली डेरी उद्योगका सञ्चालक मनकोइला […]