बुस्टर खोप बोकेर दुर्गम गाउँमा नेपाली सेना

  ।   २३ फाल्गुन २०७८, सोमबार २१:११

नेपाली सेना बुस्टर खोप बोकेर जुम्लाको दुर्गम गाउँमा पुगेको छ। पहिले हतियार बोकेर गस्तीमा सेना निस्केको देखेका स्थानीय कोरोनाविरुद्धको बुस्टर खोप बोकेर गाउँमा पुग्दा चकित भएका छन्।

‘सेना गस्तीमा आउँदा निकै त्रास फैलिरहेको हुन्थ्यो’, स्थानीय ताराबहादुर बोहोराले भने,‘अहिले बुस्टर डोज ल्याएर आउँदा ढुक्क छौँ। अहिले सुखदु:खको सारथी भनेको नेपाली सेना हो जस्तो लाग्छ।’

उनले विपद प्रकोप र हरेक दु:खमा सेनाको साथ हुने गरेको बताए। उनले भने,‘पहिले सेना गाउँमा छिर्दा डर लाग्थ्यो। तर अहिले नेपाली सेना देख्दा भरोसा लाग्छ। कुनै पनि पीडामा मलहम लगाउन आएको अनुभूति हुन्छ।’

नेपाली सेनाले जिल्लाको पातारासी गाउँपालिकाको तल्फीगाउँ, तातापानीको जर्मिगाउँ, तिला गाउँपालिकाको कुडारी बजार र चन्दननाथ नगरपालिकाको जिल्ला प्रशासन कार्यालय अगाडि हेल्थ डेस्क खोलेर बुस्टर खोप लगाएको थियो।

सेनाले चलाएको बहृत बुस्टर खोप अभियानमा उत्साहपूर्वक सर्वसाधारणले सहभागिता जनाएका थिए। पहिले गाउँदेखि खोप लगाउन सहर र पायक पर्ने स्थानमा आउन नसकेका सर्वसाधारणका लागि सेनाले चलाएको बुस्टर खोप अभियानले निकै राहत दियो।

पहिलो दिन जिल्ला प्रशासन कार्यालय अगाडि गरिएको बृहत बुस्टर खोप अभियानमा २ सय ५८ जनाले खोप सेवा लिएका थिए। दोस्रो दिन तातापानी गाउँपालिकाको जर्मि गाउँमा १८८ जना सर्वसाधारणले बुस्टर डोज खोप लगाए। तेस्रो दिन तिला गाउँपालिकाको कुडारीमा  ७ सय १७ जनाले खोप लगाएका थिए।

पातारासीको तल्फीमा ८ सय ४० जनाले खोप सेवा लिएको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए। उनले भने,‘सडकसंग जोडिएका र सुगम क्षेत्रका नागरिकले सहजै खोप सेवा लिएका थिए। यो पटक नेपाली सेनाले दुर्गम लक्षित बुस्टर खोप अभियान चलायो। जसले खोपको पहुँचमा पुग्न नसकेका अधिकांश नागरिकलाई राहत मिल्यो। यसले नेपाली सेना प्रतिको नागरिकको सोच सकरात्मक बनायो।’

यो अभियान निकै उपलब्धिमुलक बनेको नेपाली सेनाले जनाएको छ। नेपाली सेना, आश्रित परिवार, भुपु नेपाली सेना र आश्रित परिवार, भुपु भारतीय सेना र आश्रित परिवार, अन्य सुरक्षा निकाय र सर्वसाधारणलाई केन्द्रीत गरेर बुस्टर खोप अभियान चलाएको थियो।

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लासँग समन्वय गरेर २४ नम्बर बाहिनी अड्डा, नन्दाबक्स गण र २४ नम्बर फिए गुल्मका स्वास्थ्यकर्मी खटिएका थिए।  सेनाको पोशाकमा गाउँमा बुस्टर खोप लिएर सेना पुगेपछि स्थानीय उत्साहित थिए। सेना फौजी कार्यमा मात्र संलग्न हुन्छ। सैन्य तालिममा केन्द्रीत हुने भएकोले जनतासंगको सम्बन्ध कमजोर हुन्छ भन्ने भ्रम थियो। तर अहिले नेपाली सेना नै हरेक हिसाबमा सर्वसाधारणको लोकप्रिय बनेको छ।

कोरोना महामारीमा पनि माइक लिएर कोरोना सचेतना अभियानमा नेपाली सेना निस्केको थियो। सेनाले सडक सञ्जाल जोडिएको स्थान सम्म गाडीमा र गाउँ लैजाँदा बोकेर पनि स्थानीयको खोप लगाएका थिए। जुम्लाका अधिकांस गाउँमा विपन्न वर्गको बसोवास छ। उनीहरु खोप लगाउनकै लागि सदरमुकाम खलंगा पुग्न सक्ने अवस्था छैन।

गणपति थापाले भने,‘आर्थिक अवस्था नाजुक भएका, हिडडुल गर्न नसक्ने अति दुर्गम क्षेत्रका सर्वसाधरणलाई लक्षित गरेर बुस्टर खोप लगाउने कार्य प्रारम्भ भयो। यो अभियानबाट धेरै सर्वसाधारण लाभान्वित भएका छन्।’ सेनाको यो कार्यले नागरिक सैनिक सम्बन्ध निकै प्रगाढ बनेको छ।

सेना गाउँतिर गस्तीमा वा तालिम भएपछि मात्र आउजाउ गर्ने गरेको थियो। हतियार सहितको सेना देख्दा त्रास पनि हुन्थ्यो तर यो पटक गाउँमा बुस्टर खोप बोकेर सेना आइपुग्यो। गरिब विपन्न नागरिकलाई कोरोनाविरुद्धको खोप दिएर गयो।’

बुस्टर खोप लगाउनुको साथै मास्क वितरण समेत गरेको थियो। कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायका बारेमा सर्वसाधारणलाई सहजीकरण गरेको थियो। घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न, सावुनपानीले नियमित हातधुन, स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्न सुझाव दिएको थियो।

कोरोना महामारीका बेला क्वारेन्टिन र आइशोलेसन सेन्टरमा पुगेर हौसला दिने गरेको नेपाली सेना यो पटक बुस्टर खोप लगाउन दुर्गम गाउँमा पुगेको हो। खोप लगाउन सेना भित्रका स्वास्थ्यकर्मी तथा चिकित्सक खटिएका थिए। आठ सय डोज बुस्टर खोप सेनासँग थियो।

तर खोप अपुग भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लासँग माग गरेर गाउँमा लगिएको थियो। बाहिनी अप्रेशन अधिकृत अन्जन रुपाखेतीले बृहत् बुस्टर खोप अभियानको निरीक्षण गरेका थिए। पछिल्लो समयमा सेनाले स्थानीय संगै रहेर विपद प्रकोप नियन्त्रण अभ्यास गरिरहेको छ। Nagariknews.com

Next Post

जुम्लाकी क्रियाशील महिला पत्रकार शाही सम्मानित

२३ फाल्गुन २०७८, सोमबार २१:११
जुम्ला । जुम्लाकी क्रियाशिल पत्रकार दिलमाया शाही सम्मानित भएकि छन् ।११२ औँ अन्तराष्टि्य महिला दिवसको अवसरमा चन्दननाथ नगरपालिकाले पत्रकार शाही सम्मानित गरेकाे हाे दिवसको अवसरमा चन्दननाथ नगरपालिकाले महिला वालवालिका क्षेत्रमा अनवरत कलम चलाएकाे भन्दै सम्मानित गरेको हो । शाहीलाई जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, चन्दननाथ नगरपालिकामा मेयर कान्तिका सेजुवाल र […]