यस्तो छ दसैंमा दिइने आशीर्वाद र त्यसको अर्थ

  ।   १९ आश्विन २०७९, बुधबार १४:४०

काठमाडौँ — आज बडादसैंको प्रमुख दिन विजयादशमी । गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिकरूपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरस एवं डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ ।

विजयादशमीमा मान्यजनबाट टीका लगाउँदा विभिन्न आशीर्वचनहरू दिने गरिन्छ । त्यस्ता आशीर्वचनहरू धेरै भए पनि दसैंमा दिइने आशीर्वादमा चाहिँ विशेषगरी अधिकांश महाभारतकालीन पात्रहरू वर्णन गरिएको धर्मशास्त्रीहरू बताउँछन् ।

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ-

आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ॥
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ॥

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोराको जस्तो सत्यता होस्, विदुरको जस्तो ज्ञान/विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ॥

नारीलाई देवीको रुप मानिने भएकाले यहाँ देवीको स्तुति गरिएको छ । यो मन्त्रको अर्थ हो- जित्नेवाली मंगल गर्नेवाली देवी भद्रकाली (दक्षप्रजापतीको यज्ञ विनास गर्न सतीदेवीको क्रोधबाट प्रकट भएकी देवी), कपालिनी, दुर्गा (दुर्ग नाम गरेको राक्षसलाई मार्नेवाली देवी), पृथ्वी, स्वाहा (दक्षप्रजापतीकी छोरी), स्वधा (दक्षप्रजापतीकी छोरी/अग्निकी पत्नी) त्यस्ती देवीलाई नमस्कार छ ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्ने गर्छ ।

Next Post

चट्याङसहित वर्षाको सम्भावना

१९ आश्विन २०७९, बुधबार १४:४०
काठमाडौँ — देशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । सुदूरपश्चिम प्रदेश, […]