कर्णालीमा मदिरा पिएर गाडी हाँक्छन चालक

दुर्घटनाको उच्च जोखिममा जुम्ला

  ।   १८ माघ २०७७, आईतवार १९:३७

कर्णाली राजमार्गमा सञ्चालित सवारीसाधनका चालकले मदिरा सेवन गरेर गाडी चलाउने गरेको भेटिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेतृत्वको सुरक्षाकर्मीको टोली सडकमै बसेर चेकजाँच गर्दा मदिरा सेवन गरेर सवारी चलाउने गरेको भेटिएको हो ।
पहिलो चेकिङमा मादकपदार्थ सेवन गरेर सवारी चलाइरहेको अवस्थामा एक मोटरसाइकल भेटियो । आधा घण्टा सम्म चेकजाँच गर्दा सबै सवारीसाधनका चालकले मादकपदार्थ सेवन गरेर गाडी चलाइरहेका थिए । चालक मदिरामा मस्त थिए । यात्रु त्रासपुर्ण अवस्थामा थिए । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘अब ट्राफिक चेकजाँच कडा गर्न जरुरी छ । कडा रुपमा सवारी चेक गर्न निर्देशन पनि गरिएको छ ।’
कर्णाली राजमार्गको जुम्ला खण्डमा सञ्चालन हुने ठुला तथा साना सवारीका अधिकांश चालकले रातीको समयमा मादकपदार्थ सेवन गरेर गाडी हाँक्ने गरेको भेटिएको हो । अनुगमनका क्रममा मापसे गरी सवारी चलाएका पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक नविन थापा मगरले बताए । मापसे गरी जिप,अटो तथा मोटरसाईल चलाएका ४ जना र एक जना मापसे गरेका यात्रुलाई नियन्त्रणमा लिएको उनी बताउँछन् ।
प्रशासनमा प्रतिव्यक्ति एक हजार रुपैयाँ र ट्राफिकमा मापसे गरी सवारी चलाए बापतको जरिवाना बुझाएर उनीहरुलाई छोडिएको छ । मापसे गरी बालुवा बोकेर ल्याएको एकजना ट्याक्टर चालक भागेको प्रहरी कार्यालयले जनाएको छ । साईट नछोड्ने, ट्राफिक नियमित विपरित ओभरटेक गर्ने, कागजात बिनै मापसेको तालमा दु्रत गतीमा सवारी चलाउने चालककै कारण कर्णालीमा दुर्घटना बढेको ट्राफिक प्रहरी बताउँछ ।
मदिरा सेवन र सडकमै मनपरी रुपमा निर्माण सामग्री राख्दा सडक साँघुरिएर जोखिम बढेको जुम्लाका प्रमुख डिएसपी माधवप्रसाद काफ्ले बताउँछन् ।
रातीको समयमा ट्राफिक जाँच नहुने र चालकले लापरबाही गरेकै कारण दुर्घटनाको जोखिम बढेको प्रमुख जिल्ला अधिकारी थापा बताउँछन् । उनले भने,‘मापसे गरी सवारी चलाउने चालककै कारण धेरै ठुला दुर्घटना भएका छन् । अव नियमित चेकजाँचलाई कडा गर्नुको विकल्प छैन ।
कर्णाली राजमार्गमा चालकको लापरवाही र निर्माण सामाग्री मनपरी रुपमा राख्दा दुर्घटना बढेको छ । चेकजाँचमा कडाई र सडक अतिक्रमण गर्नेहरुलाई पनि नियमन गर्ने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी थापा बताउँछन् ।
आघा घण्टामा पाँचवटा सवारीसाधन चेकजाँच गर्दा सबै सवारी चालकले मदिरा सेवन गरी चलाएको भेटिएको थियो । उनले भने ‘आधा घण्टाको अन्तरालमा चेकजाँच गर्दा पाँचै जना मादकपदार्थ सेवन गरिएको भेटिए । यो कार्यले राति चल्ने सवारीसाधन मदिरा सेवन गरेर मात्र चलाउने गरेकोमा शंका उत्पन्न भयो । ’
मादकपदार्थ सेवन गरेर ओभर स्पिडमा गाडी कुदाउँछन । तर जुम्लामा मापसे जाँच गर्ने उपकरण छैन । ट्राफिक कार्यालयका हवल्दार कुशराज शाही मापसे गर्ने (बे्रथ लाईजर) उपकरण नभएको बताउँछन् । चालकको लापरवाही बढेपछि अहिले तीन वटा उपकरण माग गरिएको छ, हवलदार शाही भन्छन्,‘अहिलेका लागि उपकरण नहुँदा चेकजाँच प्रभावित भएको छ । उपकरण बिना हचुवाको भरमा जाँच हुदैन् । ’
जिल्ला ट्राफिक कार्यालय जुम्लाको तथ्यांक अनुसार चालु आर्थिक बर्षको हाल सम्म १४ वटा सवारी दुर्घटना भएका छन् । चालककै लापरवाहीका कारण बढी सवारी दुर्घटना भएको हवल्दार शाही बताउँछन । १४ वटा दुर्घटनामा परी २७ जना घाईते भएका छन । २ जनाको मृत्यु भएको छ । यी सबै दुर्घटनाका कारण चालक नै हुन् ।
मापसे गर्ने, ओभर स्पिड चलाउने, क्षमता भन्दा बढी यात्रु हाल्ने चालकलाई नियन्त्रण लिएर नियमित चेकजाँचमा कडाई गरिएको छ । चालु आर्थिक बर्षको माघ दोस्रो सातासम्म कारवाही गरिएका ८ सय ३१ वटा सवारीबाट ८ लाख ३५ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।

Next Post

देशैभर कांग्रेसको विरोधसभा

१८ माघ २०७७, आईतवार १९:३७
संसद विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत कास्की कांग्रेसले पोखरामा पनि प्रदर्शन गरेको हो । सोमबार कांग्रेसका सबै भ्रातृ संगठनले सबै जिल्लामा प्रदर्शन गर्ने तालिका अनुसार कास्कीमा पनि विरोध प्रदर्शन गरेको कांग्रेसका कास्की प्रवक्ता नवीन सिग्देलले बताए । ‘पोखरामा सोमबार कांग्रेसका […]