कर्णाली सरकारमा कांग्रेसद्वारा दुईजनाको नाम सिफारिस

  ।   २१ जेष्ठ २०७८, शुक्रबार १५:४७

सुर्खेत — नेपाली कांग्र्रेसले कर्णाली सरकारमा आफ्नो तर्फबाट सहभागी हुने दुई मन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीको संसदीय दलले बिहीबार साँझ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नाम सिफारिस गरेको हो ।

संसदीय दलका नेता जीवनबहादुर शाहीका अनुसार सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठको नाम सिफारिस गरिएको छ । मुख्यमन्त्री निकट स्रोतले भने सिफारिस ढिलो आएकोले शुक्रबारमात्र नियुक्ति र सिफारिस गर्ने जनाएको छ ।

वैशाख ३ गते कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर उनको सत्ता जोगाएको थियो । लगत्तै सरकारमा जाने सहमति भएको भए पनि मन्त्रालयको संख्या ७ पुर्‍याएर कांग्रेसलाई एउटामात्र दिन खोज्दा कांग्रेस सत्तामा गएको थिएन । त्यसपछि माओवादी केन्द्रले मन्त्रीमा सिफारिस भइसकेका बिन्दमान बिष्टलाई ‘ब्याक’ गर्दै कांग्रेसको लागि दुइटा मन्त्रालय दिने निर्णय गरेको थियो । दुई मन्त्रालय पाए पनि कांग्र्रेसले सामाजिक विकास मन्त्रालयबाट अलग्याएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभिएको युवा तथा खेलकुद कार्यक्षेत्रलाई सामाजिकमै ल्याउनुपर्ने सर्त राखेको थियो । बिहीबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको कार्यक्षेत्र हेरफेरको निर्णय गरेपछि कांग्रेसले सरकारमा जाने औपचारिक निर्णय गरेको हो ।

२०७४ को निर्वाचनपछि कांग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गर्न लागेको हो । कांग्रेस संसदीय दलका नेता शाहीले केन्द्रीय राजनीतिले पनि केही समयसम्म कर्णालीको सत्ता साझेदारीलाई प्रभावित बनाएको बताए । ‘हामीले केन्द्रीय राजनीतिक समीकरणअनुसार सरकारमा जाने निर्णय गरेका हौं,’ उनले भने ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता कांग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएको थियो । उतिबेला माओवादी केन्द्र, कांग्रेस र एमालेको माधव नेपाल समूहबीच संसदमा विश्वास प्रस्ताव पारित गर्ने सहमति भएको थियो । स्रोतका अनुसार विश्वासको मत प्राप्त गर्ने बित्तिकै कांग्रेस शाही नेतृत्वको सरकारमा सहभागी हुने र ६ महिनापछि कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र सरकारमा जाने सहमति भएको थियो । यही सहमतिको कार्यान्वयन सुनिश्चितताको लागि पनि कांग्रेस सरकारमा जान ढिलाइ भएको स्रोतले बतायो ।

‘काठमाडौंमा माओवादी केन्द्र र कांग्रेस नेतृत्वबीच कर्णालीमा भएको सहमतिलाई कार्यान्वयन गर्नेबारे छलफल भएपछि सत्ता साझेदारीले ठोस आकार लिएको हो,’ स्रोतले भन्यो, ‘यसले राष्ट्रिय राजनीतिक समीकरणलाई पनि मार्गनिर्देश गर्न सघाउला ।’

कर्णाली सरकारमा अहिले माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ३ जना र एमालेबाट ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका ३ जना छन् । कांग्रेस सत्तामा जान ढिलो हुँदा सरकारले प्रदेश सभाको बजेट अधिवेशन आहृवानको सिफारिस गर्नसमेत ढिलाइ गरेको थियो । हाल ३५ सदस्य रहेको प्रदेश सभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । कांग्रेस सत्ताधारी भएसँगै सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित हुने करिब निश्चित भएको छ ।

Next Post

कोरोना संक्रमणबाट जोगिन नगर स्काउटको स्वास्थ्य सुरक्षा सामग्री

२१ जेष्ठ २०७८, शुक्रबार १५:४७
गोल्डेन बुढा, नेपाल स्काउट चन्दननाथ नगर कमिटीले निशुल्क मास्क वितरण गरेको छ । नेपाल स्काउट कर्णाली प्रदेश किमटीको आर्थिक सहयोग तथा युनिसेफ नेपालको साझेदारीमा सदरमुकामको पुरानो बसपार्कमा माक्स वितरण गरेको छ । मास्क संगै सेनिटाइजर,कोरोना सचेनतनाका प्रदान गर्न पर्चा, पम्प्लेट, भित्ता चप्काउने पम्प्लेट र ग्याल सिट वितरण नगर कमिटीका संयोजक […]