चालु आवभित्रै सबै समूहलाई खोप लगाउने तयारी

  ।   १३ श्रावण २०७८, बुधबार ११:१२

गत माघ देखि शुरु भएको खोप अभियान खोपको अभावमा बिचमा रोकिए पनि अब नियमित हुने भएकोछ। विभिन्न देश तथा निकायबाट पछिल्ला दिनहरूमा अनुदान र खरिदमार्फत नेपालले अपेक्षित खोपको जोहो गर्न सकेकोले यो अभियानले पुनः गति लिएको हो।

स्वास्थ्य मन्त्रालयको खोप सल्लाहकार समितिको संयोजक डा. श्यामराज उप्रेतीका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ भित्रै खोप लगाउन योग्य सबै लक्षित जनसंख्याले खोप पाउने बताए। यसो भएमा १८ वर्षमाथिका २ करोड १७ लाख जनसंख्याले खोप पाउनेछन्।

उनले यो जनसंख्याको एकतिहाइले असोजसम्म र बाँकीले चालु आर्थिक वर्षको अन्त्यसम्म खोप पाउने गरी तयारी भइरहेको बताए। खोप सुरु भएको भण्डै साढे ६ महिनासम्म नेपालका झण्डै ५ प्रतिशत जनसंख्याले खोपको दुवै डोज लगाएका छन् भने एक डोज लगाउने जनसंख्या ११ प्रतिशत पुगेको छ। भारतको सेरम इन्स्टिच्युद्वारा उत्पादित कोभिसिल्ड खोपबाट नेपालको खोप अभियान सुरु भएको हो। नेपालले कुल २३ लाख ४८ हजार कोभिसिल्ड खोप अनुदान र खरिदमार्फत प्राप्त गरेको हो। सेरमसँग खरिद गरिएको २० लाखमध्ये १० लाख भदौसम्म प्राप्त हुने सरकारी अपेक्षा छ। भारतले कोरोना महामारीको दोस्रो लहरका कारण कोभिसिल्ड निर्यातलाई वैशाखदेखि बन्देज लगाएको हो।

चीनको सरकारी स्वामित्वमा रहेको सिनोफर्म कम्पनीद्वारा उत्पादित भेरोसेल खोपले नेपालको खोप अभियानका लागि जीवन दिएकोछ। सुरुमा ८ लाख डोज अनुदानमा उपलव्ध गराएको चीनले पछि १० लाख डोज अनुदानमै थपेको थियो। सरकारले सोही कम्पनीसँग खरिद गरेको ४० लाख खोपले हाल खोप अभियान अगाडि बढेको छ। यसबाहेक चीनले १६ लाख थप डोज अनुदान दिने घोषणा गरिसकेको छ। यसैगरी चीनसँग थप ६० लाख डोज खोप खरिदको तयारी भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएकोछ। यसैगरी हालै अमेरिकी सरकारवाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन कम्पनीद्वारा निर्मित जान्सेन खोपको १५ लाख डोजले नेपालको खोप अभियानलाई थप ऊर्जा दिएकोछ।

विश्व स्वास्थ्य संगठनको अगुवाइमा स्थापना भएको कोभ्याक्स सुविधाले सन २०२१ भित्र नेपालको कुल जनसख्याको २० प्रतिशतलाई पुग्नेगरी १ करोड १३ लाख डोज निशुल्क उपलब्ध गराउने तयारी छ। कोभ्याक्सको संयोजनमा थप १ करोड ५० लाख डोज खोप सहुलियत दरमा खरिद गर्ने तयारी सरकारको छ। हालसम्म कोभ्याक्सले ३ लाख ४८ हजार डोज खोप उपलव्ध गराएकोछ। जापान सरकारले भदौसम्म अष्ट्राजेनेकाको १६ लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने बताएकोछ। यो खोप महिनौंदेखि दोस्रो डोज खोप कुरेर बसेका साढे १३ लाख वृद्धवृद्धा र अन्यलाई लगाइनेछ।

यसैबीच १२ देखि १८ वर्ष उमेर समूहका जनसंख्यालाई खोप उपलब्ध गराउन अमेरिकाको फाइजर कम्पनीद्वारा निर्मित ६० लाख डोज खोपको खरिद प्रक्रिया अगाडि बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। किशोर किशोरीका उपयुक्त हुने भनेर अमेरिका औषधि नियमन गर्ने निकाय फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले यो खोपलाई अनुमोदन दिइसकेको छ। यो समूहअन्तर्गत झण्डै ५० लाख जनसंख्या छ र यो जनसख्यालाई १ करोड डोज खोप आवश्यक पर्नेछ। यसअघि खोपका लागि योग्य मानिएको कुल २ करोड १७ लाख जनसख्या र १२ देखि १८ वर्षको ५० लाख जनसंख्या समेत गरी कुल २ करोड ६७ लाख जनसंख्यालाई नेपालमा खोप लगाउन पर्नेछ।

‘समग्रमा अब खोपको उपलब्धतामा समस्या छैन। अब खोपको कार्यान्वयन र व्यवस्थापन महŒवपूर्ण विषय बनेको छ,’ डा. उप्रेतीले बताए। खोप लगाउन योग्य मानिएका लक्षित जनसंख्यामध्ये ७० देखि ८० प्रतिशतले खोप लगाउने आंकलन गर्दे डा. उप्रेती थप्छन्, ‘खोपका बारेमा सही सूचना प्रवाह गर्न आवश्यक छ। खोप केन्द्र थप्दा पनि अभियानलाई अगाडि बढ्न सहज हुन्छ। ’

Next Post

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

१३ श्रावण २०७८, बुधबार ११:१२
काठमाडौं । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा […]