सांसद रोकायाको राजनीतिक यात्रा : विद्यार्थी राजनीति देखि भौतिकमन्त्री सम्म

  ।   २३ माघ २०७८, आईतवार २३:४३

जुम्ला सिँजा क्षेत्रका पदमबहादुर रोकाया कर्णाली प्रदेश प्रदेश क्षेत्र (ख) जुम्लाका निर्वाचित सांसद हुन । संघीय व्यवस्था कार्यन्वयन संगै प्रदेश सांसदको रुपमा निर्वाचित रोकाया जुम्लाको प्रतिनिधित्व गर्दै कर्णाली प्रदेशको भौतिक पुर्वाधार तथा शहरी विकासमन्त्री बनेका छन । यसअघि रोकायालाई पटक पटक मन्त्री हुने अवसर नमिलेको होइन् । कहिले पार्टी भित्रको गुटगत समस्या त कहिले नेताको मनभित्र बस्न नसक्दा मन्त्री हुन सकेनन । मन्त्री हुने रोकायाको धोको पुरा हुन सकेको थिएन ।
जेष्ठताका हैसियतमा कर्णाली प्रदेशसभाको पहिलो बैठकमा अध्यक्षता गरेका सांसद रोकाया लामो समय विधायन समितिमा रहेर काम गरे । उनी संधै जनताको हितको लागि अग्रसर भए । सांसद विकास कोष देखि विकास योजना बाँडफाँडमा समानुपातिक हिसावले प्रस्तुत भए । विकासमा कसैलाई काखा र कसैलाई पाखा गरेनन । मागको आधारमा भन्दा पनि आवश्यकताको आधारमा विकास बजेट विनियोजन गर्नुपर्छ भन्ने ध्याय राखे । फलस्वरुप उनले कर्णालीको भौतिक योजना तथा शहरी विकासमन्त्री बन्ने अवसर पाए ।
तत्कालिन नेकपा एमालेबाट सांसदमा निर्वाचित रोकाया एमाले भित्रको फुट संगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादीमा समाहित भए । अहिले एकीकृत समाजबादीको केन्द्रीय सदस्य हुन । जुम्ला जिल्लाको पार्टीको सह– इन्चार्ज पनि । मन्त्रालयको कार्यभार संम्हाल्दै रोकायाले समग्र कर्णालीको विकासका लागि एकाकार भएर लाग्ने प्रण गरे । उनले भने,‘कर्णालीको भौतिक पुर्वाधारमा जोड दिनेछु । आफुले सकेजतिको काम गर्न तयार रहनेछु । जनता प्रति उत्तरदायी र कर्तव्य निर्वाह गर्दा इमान्दार भएर प्रस्तुत हुनेछु । जनताको हीतलाई सर्वोपरी ठान्नेछु ।’ सांसद रोकाया कनकासुन्दरी गाउँपालिका ५ रोकायाबाडामा आमा नानी रोकाया र बुबा दत्तबहादुर रोकायाको कोखबाट बिक्रम संवत २०१० असार १० गते जन्मिएका थिए ।
उनले २०१० साल देखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा प्रारम्भ गरे । २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा उभिए । २०३९ सालमा पञ्चायत विरुद्धको अभियानमा जुटे । गाउँ पञ्चायतमा जनपक्षीय उम्मेदवारी प्रस्तुत गरे । युवा संगठनको सभापतिमा निर्वाचित भए । २०४४ सालमा उपप्रधानपञ्च निर्वाचित भए । पञ्चायत विरुद्धको अभियानलाई छोडेनन् । धेरै पटक राजनीतिक रुपमा जनसेवा गर्ने मौका पाइसकेका सांसद रोकायाले कहिले पनि व्यक्तिगत स्वार्थलाई सर्वोपरी ठानेन । बरु सामुहिक स्वार्थ प्राप्तिका लागि व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिए ।
२०४६ सालमा सांसद रोकाया नेकपा मालेको संस्थापक सदस्यका रुपमा चुनिए । २०४७देखि २०४९ सम्म नेकपा एमालेको जिल्ला समिति सदस्यका रुपमा काम गरे । २०४९ देखि २०६६ सम्म जिल्ला सचिवालय सदस्य बने । २०६७ देखि २०७१ सम्म नेकपा एमाले जिल्ला समिति जुम्लाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भए । उनको जीवनकालमा राजनीतिमा निकै उत्तारचढाव आए । तर उनी कहिले थाकेनन । अहोरात्र खटिरहे । राजनीतिलाई जनताको सेवा गर्ने माध्यम बनाए । २०६० सालमा जिल्ला विकास समितिको बोर्ड सदस्यमा रहेर काम गरे । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा निर्वाचन आयोगको बन्द सुचीमा एमालेको समानुपातिक उम्मेदवारका रुपमा छनौट भए । तर संविधानसभा सदस्य बन्ने धोको पुरा हुन सकेन ।
२०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा उनी नेकपा एमालेबाट संविधानसभा सदस्यका लागि उम्मेदवार बने । नेपाली काँग्रेसका ललितजङग शाही देखि २५७ मतान्तरले पराजित भए । पार्टी भित्रको विश्वासघातले आफु पराजित भएको पटक पटक सुनाउँछन । नेकपा एमाले र नेकपा माओबादी केन्द्र मिलेर वामगठबन्धन बन्यो । २०७४ सालको निर्वाचनमा प्रदेश क्षेत्र (ख) जुम्लाको उम्मेदवार बनेर चुनाव लडे । उनी बिजय बने । नेपाली काँग्रेसका उम्मेदवार भिमनिधि हमाललाई झण्डै दोब्बर मतले पराजित गर्न सफल भए । बर्षौ देखिको सांसद बन्ने धोको पुरा भयो ।
साढे २ बर्ष कर्णाली प्रदेशसभा कानुन विधायन समितको सभापति भएर कार्य गरे । त्यसपछि कर्णाली प्रदेशसभा सार्वजनिक लेखा समितिको सभापति बने । प्रमाणपत्र तह अध्ययन गरेका सांसद रोकाया सबैको प्यारो बन्न चाहन्छन । उनी कोरा भाषण भन्दा पनि कामलाई प्राथमिकता दिन्छन । मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा रहेको मन्त्रीपरिषदमा भौतिक योजना तथा शहरी विकासमन्त्रीको जिम्मेवारी पाएका छन । कर्णाली प्रदेशसभामा कर्णालीको भोकमरी,अशिक्षा,बेरोजगारी,पछौटेपनको अन्त्यको लागि आवाज बुलन्द गर्दै आएका सांसद रोकाया गृहजिल्लामा आइपुगेपछि सबै क्षेत्रमा घुमफिर गरेर फर्कन्छन ।
कसैलाई सानो ठुलो नभनेर बराबर सम्बन्ध राख्ने सांसद रोकाया कर्णाली प्रदेश सभामा मन्त्री नियुक्त भएपनि जुम्लाबासीमा खुसीयाली छाएको छ । कर्णाली प्रदेश सभामा जुम्लाका तीन जनाले प्रतिनिधित्व गर्छन । प्रदेश क्षेत्र(क)बाट निर्वाचित नेकपा माओबादी केन्द्रका नरेश भण्डारी,नेपाली काँग्रेसका समानुपातिक सांसद दीनबन्धु श्रेष्ठ र एकीकृत समाजवादीका प्रदेश क्षेत्र (ख)का पदमबहादुर रोकाया । काँगेसका श्रेष्ठ र माओबादी केन्द्रका सांसद नरेश भण्डारी मन्त्री भइसकेका छन । भण्डारी पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री र श्रेष्ठ पुर्व जलस्रोत तथा उर्जा विकासमन्त्री भइसकेका छन । सांसद रोकाया यसपटक भौतिक योजना तथा शहरी विकासमन्त्री बनेका छन । जुम्लाबाट प्रतिनिधित्व गर्ने तीनै जना सांसद मन्त्री हुनु निकै सुखद भएको जुम्लाबासी बताउँछन ।

Next Post

कर्णालीकाे मन्त्रिमण्डलमा महिलाको प्रतिनिधित्व शून्य

२३ माघ २०७८, आईतवार २३:४३
सुर्खेत – कर्णाली मन्त्रिपरिषद् गठनकाे चर्चा चलिरहेको बेला एकीकृत समाजवादीकी सांसद देवी वली मन्त्रीको दाबेदार थिइन् । तर, भागबण्डा मिलाउँदै जाँदा उनी पछि हट्नुपर्‍यो । अहिलेको कर्णाली प्रदेश सरकारमा महिलाको प्रतिनिधित्व शुन्य छ ।  सत्ता साझेदार कुनै पनि दलले महिलाको नाम अगाडि ल्याएका छैनन् । यद्यपि समाजवादी पार्टीले भने सांसद देवी वलीलाई मन्त्री […]