विद्यालय खुले,संक्रमणको त्रास हटेन

  ।   ४ आश्विन २०७८, सोमबार १३:१८

पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम कम देखिन थालेपछि जुम्लामा विद्यालय खुलेका छन्। अहिले यहाँका सबै विद्यालय खुलेर पठनपाठन नियमित भइसकेको छ। झण्डै डेढ वर्षदेखि बन्द यहाँका विद्यालय खुलेपछि विद्यार्थी निकै खुसी भएका छन्।

कोरोना सन्त्रासका कारण विद्यालय देख्न नपाएका बालबालिकाले लामो समयदेखि विद्यालय जान पाउँदा उत्साहित बनेको अभिभावकहरु बताउँछन्। स्थानीय ओमबहादुर थापा विद्यालय खुलेपछि विद्यार्थीलाई निकै राहत भएको बताउँछन्। उनले भने, ‘विद्यालय बन्द हुँदा घरमा पठनपाठनको वातावरण थिएन। अनलाइन कक्षा सबैको पहुँचमा रहेन। किताब कापी झोलामा थन्काएर घरायसी काममा खटिएका थिए। अहिले विद्यालय खुल्दा विद्यार्थीको भविष्य उज्जवल हुने संभावना बढ्यो। ’

कोरोनाको पहिलो लहरमा त्रासकाबीच विद्यालय खुल्न सकेनन्। दोस्रो लहरमा संक्रमितको मृत्यु हुन थाल्यो। संक्रमतिको संख्या ह्वात्तै बढ्यो। एकले अर्कोसंग टाँसीएर हिड्न सक्ने अवस्था रहेन। विद्यालय ठप्प भए। बालबालिका सबैभन्दा जोखिम देखिन थालेपछि शैक्षिक क्षेत्र निकै प्रभावित हुन पुग्याे। उनले भने, ‘अब संक्रमण कम हुदै गएको छ। विद्यालय पनि खुल्दै गएका छन्। खुसीका साथ विद्यालयमा विद्यार्थी गइरहेका छन्। यो अवस्था आउनु निकै सुखद हो। अब यस्तो दिन कहिल्यै फर्केन आउन नपरोस।’

जुम्लाका केही स्थानीय तहले एक साता अघि देखि विद्यालय सञ्चालनमा ल्याइसकेका छन्। केहीले सोमवार देखि सञ्चालनमा ल्याएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाँई विद्यालय खुलाउनको लागि स्थानीयतहलाई जिम्मेवारी सुम्पेको बताउँछन्। कोभिड १९ संकट व्यवस्थापन समितिले विद्यालय खुलाउने विषयमा कुनै निर्णय गरेको छैन। सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईले भने, ‘मापदण्ड बनाएर विद्यालय खुलाउनको लागि स्थानीयतहलाई भनिएको छ। स्थानीयतहले आफ्नो अनुकुलता अनुसार विद्यालय खुलाउदै गएका छन्। ’ डिसीसीएमसीको बैठक भदौ ३० गते बसेको थियो। बैठकले स्मार्ट लकडाउन निर्देशिकका २०७८ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुलाउन सकिने गरि स्थानीयतहलाई जिम्मेवारी दिइएको थियो।

कोरोनाको त्रास कायमै छ। केही विद्यालय मापदण्ड पुरा नगरेर खुलेका छन्। सरकारले पनि लुज गरिरहेको छ। खेलकुदका कार्यक्रम भइरहेका छन्। विद्यालय धमाधम खुलेका छन्, सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइले भने,‘विद्यालयको हकमा सबै होसियार हुनैपर्छ। ’शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर भण्डारी जुम्लाका सबै विद्यालय खुलेर नियमित पठनपाठन भइरहेको बताउँछन्। उनले भने,‘विद्यालय खुलाउन डिसीसीएमसीले पालिकालाई अधिकार दियो। स्वास्थ्य मापदण्ड अपनाएर खुलिरहेका छन्। ’

जुम्लामा १ सय ७० विद्यालय छन्। कोभिड संक्रमणका कारण निरन्तर डेढ वर्ष विद्यालय बन्द रहे। विद्यालय स्वास्थ्य मापदण्ड पुरा गर्ने हो भने असुरक्षित छैनन्। इकाइ प्रमुख भण्डारीले भने,‘गाउँमा जात्रा चलिरहेका छन्। सदरमुकाम क्षेत्रमा राजनैतिक सभा समारोह भइरहेका छन्।  गाउँका मन्दिरमा भिडभाड गरेर पुजा आजा भइरहेको छ। यो अवस्थामा विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्यौलमा पार्ने अवस्था रहेन। ’उनले विद्यालयमा जोखिम देखिने वित्तिकै पालिकाको सिफारीसमा बन्द गराउन सकिने अवस्था रहने बताए। जुन विद्यालयमा संक्रमण देखियो त्यो विद्यालय बन्द गराउन सकिन्छ। तर अन्य विद्यालय बन्द गराउनु पर्ने आवश्यक छैन। स्मार्ट लकडाउने स्थानीयतहलाई बढि जिम्मेवार बनाएको छ।

प्रमुख भण्डारीले भने,‘ विद्यालय किताब पुगिसकेका छन्। असारमै पाठ्यपुस्तकको रकम हालिसकेको छ। पालिकाले निकासा दिइसकेका छन्। विद्यालय नियमित खुल्न सकेको खण्डमा पठपाठन सहज हुने देखिन्छ। ’जुम्लाको चन्ददनाथ माध्यमिक विद्यालयले दुई सिफ्टमा पठनपाठन शुरु गरेको छ। सबै विद्यार्थीलाई एकै पटक विद्यालय ल्याउँदा जोखिम हुने भएकोले दुइ सिफ्टमा बाँडिएको हो। पहिलो सिफ्ट अंग्रेजी माध्यम सबै र नेपाली माध्यमको कक्ष ९ र १० का विद्यार्थीको पठनपाठन हुनेछ। यो सिफ्ट विहान ६ बजेदेखि ११ बजे सम्म चल्नेछ।

दोश्रो सिफ्ट साढे ११ देखि ४ बजे सम्म चल्नेछ। यो सिफ्टमा नेपाली माध्यम र टेक्निकलका कक्षहरु सञ्चालनमा हुनेछन्। प्रधानाध्यापक टंकबहादुर महत सरकारले लागु गरेको स्मार्ट लकडाउन अनुसार विद्यालय व्यवस्थापन समिति,शिक्षक,अभिभावक संघ बीच पुर्व तयारी र सतकर्ताका विषयामा बृहत छलफल गरेर विद्यालय खुलेको बताउँछन्।

कोरोना संक्रमणको जोखिम कायमै रहेकोले उच्च सतकर्ता अपनाएर मात्र विद्यालय चलाउन चिकित्सहरुले सुझाव दिएका छन्। तेस्रो भेरियन्ट बालबालिका लक्षित भएकोल बालबालिकालाई सुरक्षित राख्नु अहिलेको चुनौति भएको उनीहरुले बताएका हुन्। कोरोनाका कारण विद्यालय बन्द हुदा पठनपाठन निकै प्रभावित बन्यो। सानो कक्षका बालबालिकालाई सुरु देखि कखरा सिकाउनु पर्ने अवस्था आएको शिक्षकहरु बताउँछन्। बालबालिकाको भौतिक उपस्थितीमै पठनपाठन सुरु भएकोले अत्याधिक रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गर्न आग्रह गरिएको छ।

विद्यालय खुलाउनको लागि विद्यार्थी बोलाउन घरदैलोमा पुग्ने गरेको सीता मावि रारालिहीका प्रधानाध्यापक शिवप्रसाद पाण्डे बताउँछन्। उनले भने,‘लामो समय विद्यालय बन्द हुदा विद्यार्थीको पढ्ने बानी बिग्रीसकेको छ। पहिलो चरणमा विद्यार्थीको बानी परिवर्तनमै जोड दिने सोच बनाएका छौँ। ’

Next Post

खेलकुद हब बन्दै जुम्ला

४ आश्विन २०७८, सोमबार १३:१८
नेपाली सेनाका क्याप्टन गगन महतारा नेतृत्वको अल्ट्रा खेलाडीको टोली खेलकुद अभ्यासका लागि जुम्ला आइपुगेको छ। अल्ट्रा दौड अभ्यासका लागि जुम्ला उपयुक्त हावापानी भएको जिल्ला भएकोले आर्मीक्ल्वको टोली जुम्ला आइपुगेको हो। खेलकुद अधिकृतसमेत रहेका महताराले १० जना खेलाडी जुम्ला ल्याएका हुन्। उनीहरुको व्यवस्थापन नन्दाबक्स गणले गरिरहेको छ। अहिले उनीहरु दिनहुँ खेलकुद […]