फेरिए सपना, फेरिएन अवस्था

  ।   २२ फाल्गुन २०७७, शनिबार ११:२९

जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारतारे रुमाल बाँधेका लस्करै लागेर लाल सेना आउँथे । काँधमा बन्दुक,झोलामा बम र ग्रिनेट बोकेका उनीहरु सुन्दर सपनाको गफ गर्थे । समृद्ध नेपालको सपना बोकेको हुँकार दिन्थे । मरे मृत्यु र बाँचे मुक्तिका कुरा गर्थे । लाग्थ्यो,“अब नेपाल बन्न समय लाग्दैन । सबैले साथ दिनुपर्छ ।

नेपालको विकास लालसेना बनाएको नेकपा माओवादीले मात्र गर्न सक्छ । ”नेकपा माओवादीका कार्यकर्ताले दुर्गम क्षेत्रको विकास गर्ने, शिक्षामा विभेद नहुने, जातीय विभेद अन्त्य हुने,धनि गरिब समान हैसियतको हुने र उतिबेलाका लालकिल्ला जिल्ला सदरमुकाम बनाउने देखि कम्युन स्थापना गरेर साझा सम्पतिका रुपमा स्थापित गर्ने सपना बोकेका थिए ।

तर जब माओवादी शान्ति प्रक्रियामा आएर सरकारमा पुग्यो, त बति सपना साकार हुन सकेनन । बेकार बने । स्थानीय धनबहादुर रोकाया माओवादी कालमा बोकिएका कुनै पनि सपना साकार हुन नसकेको बताउँछन ।उनले भने,“तत्कालिन लालसेना भनिएका जनमुक्ति सेना नेपाली सेनामा समायोजन भए । कोही घर फर्किएर कृषि क्षेत्र, व्यापार व्यवसायमा लागेका छन । सर्वहारा वर्गको हितको लागि भुमिगत जीवन विताइरहेका अहिले व्यक्तिगत स्वार्थमा लागेका छन । ”
अहिले तिला गाउँपालिका ७ मा पर्ने पोखरी गाउँ नेकपा माओवादीको जिल्ला हेडक्वाटर थियो । तत्कालिन जिल्लाका इन्चार्ज,सह इन्चार्र्ज, सेक्रेटरी बस्थे । हप्तै पिच्छे भेला प्रशिक्षण, साँस्कृतिक कार्यक्रम भइरहन्थे । प्रशिक्षण दिन देव गुरुङ, खड्कबहादुर विश्वकर्मा, जनार्दन शर्मा,बर्षमान पुन पुग्थे ।
उनी भन्छन,“त्यतिबेलाका क्रियाकलाप हेर्दा त जनसत्ता स्थापित भएर सबै सपना पुरा हुन्छन भन्ने लाग्थ्यो । तर अहिले न नेता भेटिन्छन । नत कार्यकर्ता नै । सेना त भेटिने कुरै छैन । ” गाउँमा जनसरकार थियो । हरेक व्यक्त एक गाउँ देखि अर्को गाउँ जान जनसत्ताको सिफारिस अनिवार्य थियो ।
गाउँमा नयाँ मान्छे प्रवेश गर्दा उच्च निगरानी गरिन्थ्यो । मदिरा निषेध गरिएको थियो । छुईप्रथा, जारीप्रथा,वालविवाह, वहुविवाह हुदैनथ्यो । धुमधामले पाटीभोज गर्न पाइदैनथ्यो । समाजमा मान्दै आएका हरेक चाडपर्व लगायतका सामाजिक कार्य जनवादी तरिकाले हुन्थे ।
स्थानीय हर्कबहादुर बोहोराले भने,“पहिले मदिरा बन्द गर्ने माओबादी कार्यकर्ता जड्याह भएका छन ।

जुवातास, वेश्यावृत्ति देखि आर्थिक अनियमितता र बालविवाह, वहुविवाहमा सहभागि छन । देउताका थान भत्काउथे । अहिले आफै धामी बनेर नाच्दछन । ”माओवादी नेता सर्वहारा शैलीमा प्रस्तुत हुन्थे । नेपाललाई स्वीटजर ल्याण्ड बनाउने सपना सुनाउथेँ । जन एकताका भाषण सुनाउँथे । उनीहरुका सञ्चार पोष्ट,जनअदालत, वित्तिय बैंक,एफएम रेडियो, थिए । केन्द्र देखि गाउँ सम्म सबै संरचना निर्माण भइसकेका थिए । गाउँमा बंकर थिए । सेन्ट्रिपोष्ट थिए । ती सबै संरचना नामेट भइसकेका छन ।
जनयुद्धका कुनै पनि अवशेष गाउँमा भेटिदैन । देशलाई एक ढिक्का बनाएर सभ्य समाज निर्माण गर्ने परिकल्पना बोकेको तत्कालिन नेकपा माओवादी अहिले चिराचिरा भएको छ । न नेकपा माओवादी पार्टीको यथावत छ । नत माओबादी बिचार धारा । केबल स्वार्थ बोकेका नेता तथा कार्यकता मात्र बाँकी छन ।
माओबादी कार्यकर्ता बीचको माया स्नेह वर्णन जति वर्णन गरेपनि पुग्दैन । भेटिदा अंकमाल हुन्थ्यो । हर्षको आशु बगाइन्थ्यो । छुटिदा रोइकराई हुन्थ्यो । अहिले माओवादी कार्यकर्ता बीच चर्को विभेद छ । एक आपसमा कहिल्यै मिल्दैनन । जनयुद्धका घाइते पुस्कार भन्छन,“ सपना निकै ठुलो बोकेर लडियो । अहिले समाजमा अपमानित भएर बस्न बाध्य छौँ । पुरानै सामाजिक संस्कार संग जुधिरहनु परेको छ । ” उनी कैलालीको पाण्डौन भिडन्तमा घाइते भए । उनको शरीरमा गोली अझै छ ।
देश र जनताको मुक्तिको सपना देखेका माओवादी ठेकेदार बनेका छन । महंगो खाना खान्छन । विलासी जीवन विताउँछन । माओवादी जनयुद्धमा लागेर मृत्यवरण गरेका मृतकको सपना पुरा गर्न सकेका छैनन । वेपत्ताको खोजविन हुन सकेको छैन । घाइतेको उपचार हुन सकेको छैन ।
जनयुद्धकालमा वर्तमान शिक्षा प्रर्णालीलाई बुर्जुवा शिक्षा भनिन्थ्यो । जनवादी शिक्षा लागु गरेर शिक्षामा समानता कायम गर्ने गुलिया भाषण हुन्थे । अहिले त्यही बुर्जुवा शिक्षाको खोस्टो नभइँ काम चल्दैन । माओ विचारधारा र प्रचण्डपथ छैन । जनयुद्ध दिवस पनि कन्ज्युस्याइँ गरेर मनाउँछन । शिक्षा,स्वास्थ्य, रोजगार, गासबास र कपासको ग्यारेण्टी गर्ने भन्ने माओबादी नेता कैयन पटक सत्तामा पुगिसके । तर जनताका दुख व्यथा ज्युँकात्युँ छन ।
जनताका आधारभुत आवश्यकता पुरा गर्ने निकायमा अहिले पनि पावर पहुँचकै हालीमुहाली छ । गाउँमा पुल, पुलेसा र सडक पुगेको छैन । नेताले घरघडेरी जोडिसके ।
अहिले लाग्न थालेको छ,“गाउँमा जनयुद्ध चलेको थिएन । माओवादी कार्यकर्ता आएर जनताको घरदैलोमा बसेका थिएनन । त्यहि भएर अहिले माओवादी छिन्नभिन्न छन । स्वार्थी र लोभि पापी माओबादी नै बनेका छन ।
क्याप्सन ः तत्कालिन माओवादीको माइतीगाउँ पोखरी ः डिबी ÷नागरिक

Next Post

फोहोर लुकाई दे सरकार कन्ज्युस्याइँ नगरी कर दिन्छौँ

२२ फाल्गुन २०७७, शनिबार ११:२९
जुम्लाको चन्दननाथ नगरपालिकाले एक हप्ता सम्म सदरमुकाम खलंगाको फोहोर उठाउन नसकेपछि युवा सडकमा उत्रिएका छन । हातमा कुचो, बेल्चा लिएर युवा बजार सरसफाईमा जुटेका हुन । नगरपालिकाले लामो समय सम्म फोहोर उठाउन नआएपछि युवाले नेतृत्व गरेर खलंगाको सरसफाई गरेका हुन । सरसफाईमा सुरक्षाकर्मीको सहभागिता थियो । बरु कर लेउ सरकार […]

सम्बन्धित