बलात्कार मुद्दामा पैसाको बार्गेनिङ

  ।   २ माघ २०७७, शुक्रबार ०७:५८

 

सुर्खेत र सल्यान — एक साताअघि दैलेखको नारायण नगरपालिका–८ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही वडाका ३५ वर्षीय रामबहादुर विक पक्राउ परे । वैशाख १० गते दुल्लु नगरपालिका–८ की १७ वर्षीया बालिकालाई झारफुक गर्ने बहानामा ६१ वर्षीय नन्दराम भण्डारीले जबर्जस्ती करणी गरे । उनी अदालतको आदेशपछि कारागार चलान भएका छन् भने विकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी दुई उदाहरण मात्र हुन् । कर्णालीमा पछिल्लो समय बलात्कारका घटना बढेका छन् । ३ वर्षको अवधिमा प्रदेशभरि ३ सय ४७ बलात्कारका मुद्दा दर्ता भएका छन् भने १ सय २६ जनामाथि बलात्कारको प्रयास भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार ५ वर्षीया बालिकादेखि ६० वर्ष उमेरका महिला बलात्कारका घटनामा परेका हुन् । जबर्जस्ती करणी र करणी उद्योगमा ३ वर्षको अवधिमा ४ सय ७३ घटना भएको कार्यालयले जनाएको छ । त्यसमध्ये ७० प्रतिशत दलित समुदायका महिला र किशोरी रहेका छन् । कानुनी ज्ञानको अभाव, गरिबी, देखासिकी, अत्यधिक मादक पदार्थ सेवनलगायत कारण बलात्कारका घटना बढिरहेका हुन् । अधिकांश बलात्कारका घटना छिमेकी र आफन्तबाटै भएको इन्सेकका दैलेख प्रतिनिधि अमर सुनारले बताए । उनका अनुसार २०२० मा दैलेखमा १३ वटा बलात्कारका घटना भएका छन् । ‘मुद्दा परेपछि पैसाको बार्गेनिङ चल्छ,’ उनले भने, ‘जसका कारण धेरै पीडितले न्याय पाउन सकेका छैनन् ।’ लेनदेनको कुरा मिलेपछि अदालतमा परेको मुद्दा ‘होस्टायल’ हुने गरेको उनले बताए ।

कर्णालीमा सबैभन्दा बढी सुर्खेतमा ३ वर्षको अवधिमा १ सय ७५ जना महिला र बालिका बलात्कारमा परेका छन् । ‘कतिपय घटना गाउँमै मिल्छन्,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले भने, ‘तर हामीकहाँ आएका मुद्दामा पीडकले कारबाही भोगेकै छन् ।’ उनका अनुसार विपन्न, दलित र अपांग महिला र बालिका बढी बलात्कारको सिकार भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा सल्यानमा ८६, रुकुम पश्चिममा ५४, जाजरकोटमा ४०, जुम्लामा २२, डोल्पामा ९, मुगुमा १३, कालीकोटमा २३ र सबैभन्दा कम हुम्लामा ४ बलात्कारका मुद्दा परेका छन् । बाबुआमासँग नभएका बालबालिका बढी बलात्कारमा पर्ने गरेको सल्यान प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । ‘आर्थिक अवस्था कमजोर भएका महिला र संरक्षणविहीन बालिका बलात्कृत हुने क्रम बढेको छ,’ उनले भने, ‘घरायसी समस्या, चेतना र आर्थिक अभाव तथा अभिभावकको लापरबाहीले जघन्य अपराधका घटनामा कमी आएको छैन ।’

उमेरगत हिसाबमा १६ वर्षमुनिका ९५ जना बालिकामाथि बलात्कार र २६ किशोरीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । त्यस्तै १६ वर्षदेखि २५ वर्ष उमेर समूहका १ सय ३९, २६ देखि ३५ वर्षका ७२ र ३६ देखि ६० वर्ष उमेरका ४१ जना बलात्कृत भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

५ वर्षमा ९९ बलात्कार

आमाबाबु घरमा नहुँदा छिमेकीको घरमा बस्दै आएकी सल्यानको शारदा नगरपालिकाकी एक १५ वर्षीया बालिका पुस ८ गते सामूहिक बलात्कृत भइन् । आफन्तले उजुरी गरेपछि बलात्कार गरेको आरोपमा शारदा नगरपालिका–४ का २२ वर्षीय मनोज गिरी र सुरेश बस्नेतलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । त्यसको दुई साताअघि मामाघरमा बस्दै आएकी कुमाख गाउँपालिकाकी १४ वर्षीया बालिकालाई कुमाख–४ का १८ वर्षीय राजु केसीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सल्यानमा चालु आर्थिक वर्षको ५ महिनामा मात्रै १९ वटा बलात्कारका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा बलात्कारका २६ घटना भएका थिए भने अघिल्लो वर्ष १७ जना महिला र बालिका बलात्कृत हुन बाध्य भए । आर्थिक वर्ष २०७३/०७४ मा १६ र २०७४/०७५ मा २१ बलात्कारका घटना दर्ता भएको कार्यालयले जनाएको छ । बलात्कार गर्नेविरुद्ध कानुनी कारबाही गर्दै आए पनि विभिन्न कारणले घट्न नसकेको डीएसपी थापाले बताए । उनका अनुसार चालु आवमा भएका १९ घटनामध्ये १५ जना बलात्कृत भएका हुन् भने ४ जनामाथि बलात्कारको प्रयास भएको थियो । बलात्कार आरोपित १७ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही थालिएको बताए । २ जना अझै फरार छन् ।

पहिले सहमतिमै यौनजन्य क्रियाकलाप भए पनि पछि कुरा नमिलेपछि वा आफन्तले थाहा पाएपछि बलात्कारको उजुरी दर्ता हुने गरेको पनि प्रहरीले जनाएको छ । मोबाइल र विभिन्न सामाजिक सञ्जालले पनि बलात्कारका घटना बढाएको महिला अधिकारकर्मी सोभिता बस्नेतले बताइन् । ‘कतिपय घटनाहरू अहिले पनि बाहिर आउन सकेका छैनन्,’ उनले भनिन्, ‘बलात्कारजस्तो जघन्य अपराध पनि मेलमिलापमै मिलेको छ ।’

बलत्कारका घटना बढ्दा बालिकाहरू बढी असुरक्षित भएको इन्सेक जिल्ला प्रतिनिधि मीना बुढाथोकीले बताइन् । उनका अनुसार प्रहरी र विभिन्न संघसंस्थाले जिल्लाभरि सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि पुरुष र महिलाको आचरणमा परिवर्तन नआउँदा बलात्कार नरोकिएको हो । ‘अहिले महिला र बालबालिका कसैले पनि म सुरक्षित छु भन्ने अवस्था छैन,’ उनले भनिन्, ‘उनीहरू आफैं सजग रहन जरुरी छ ।’ कान्तिपुरबाट साभार

Next Post

कोरोना रहस्य पत्ता लगाउन डब्लुएचओ टोली चीनमा

२ माघ २०७७, शुक्रबार ०७:५८
कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको एक टोली बिहीबार चीनको वुहान आएको छ। तर अध्ययन नतिजा असहज आए सार्वजनिक गर्न चीन सरकारले आनाकानी गर्न सक्ने सम्भावना देखिएको छ। महिनौंसम्मको कूटनीतिक प्रयासपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसन्धान टोलीलाई चीन सरकारले यहाँ आउन अनुमति दिएको हो। सन् २०१९ को अन्त्यदेखि […]

सम्बन्धित